काठमाडौं।
कोभिड– १९ बाट निको भएर घर फर्कने सङ्ख्या आज अहिलेसम्मकै धेरै रहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न अस्पतालबाट आज एकैदिन ३७० जना घर फर्किएको बताए। तीमध्ये ३३८ पुरुष र ३२ महिला निको भएर घर फर्किएका छन्। आइतबार मात्र १९४ जना डिस्चार्ज भएका थिए।
“३३८ पुरुष र ३२ महिला निको भएर घर फर्किए”
आज डिस्चार्ज भएर घर फर्कनेमा दैलेखस्थित दैलेख अस्पतालबाट धेरै रहेका छन्। उनका अनुसार उक्त अस्पतालबाट निको भएर घर फर्कनेमा २६५ जना रहेका छन्। तीमध्ये १९ महिला र २४६ पुरुष रहेका छन्।
“अहिलेसम्म दुई हजार १४२ जना डिस्चार्ज”
कोरोना विशेष अस्पताल दाङबाट एक महिला र पाँच पुरुष, प्रादेशिक अस्पताल सुर्खेतबाट चार महिला र दुई पुरुष, कालिकोट अस्पताल कालिकोटबाट दुई महिला र २६ पुरुष, सल्यान अस्पताल सल्यानबाट एक महिला र ३६ पुरुष, नारायणी अस्पताल वीरगञ्जबाट दुई महिला र नौ पुरुष, धादिङ अस्पताल धादिङबाट चार महिला र १३ पुरुष रहेका छन्। अहिलेसम्म दुई हजार १४२ जना डिस्चार्ज भइसकेका छन्। तीमध्ये १६१ महिला र एक हजार ९६१ पुरुष छन्।