मानसिक रोगी जन्माउदै अव्यवस्थित क्वारेन्टाइन

  • ​​​​​​​भावना पौडेल, डडेल्धुरा

स्वाब सङ्कलन गरिएको १८ दिनसम्म पनि पिसीआर रिपोर्ट नआउँदा डडेल्धुराका क्वारेन्टाइनमा बसेकाहरू आक्रोशित भएका छन्। जिल्लाको अमरगढी–४ बैजनाथ निमाविको क्वारेन्टाइनमा बसिरहेकाको स्वाब सङ्कलन गरिएको दुई हप्ता बढी भइसक्दा पनि पिसीआर रिपोर्ट नआउँदा उनीहरु आक्रोशित बनेका क्वारेन्टाइनमै बसेका लक्ष्मण शाहले जानकारी दिए।

छिमेकी मुलुक भारतबाट एक महिना पहिला जिल्लामा पाइला टेकेका उनीहरूले क्वारेन्टाइनमा महिनादिनसम्म थुनिँदा असहज भएको बताइरहेका छन्। ‘स्वाब सङ्कलन गरेको १८ दिन भइसक्यो। वडाअध्यक्षलाई सोध्दा आजभोली रिपोर्ट आउँछ भनी टारिरहेका छन्,’ उनले आक्रोश पोखे।

रिपोर्ट नतिजाको पर्खाइमा बसिरहेका उनीहरूले क्वारेन्टाइन व्यवस्थापन नभएकाले दिन बिताउन असहज भएको बताएका छन्। बैजनाथ निमाविको क्वारेन्टाइनमा बसिरहेका अर्का सुरज रावतले भने, ‘रिपोर्टको पर्खाइले सिमा नाघिसक्यो। क्वारेन्टाइन व्यवस्थित छैन। त्यहीमाथि खानाको लागी त झन निकै सकस भइरहेको छ। यही अवस्थाले त अब कसरी बस्नु। दुईतीन दिनभित्र रिपोर्ट नआए घर जान्छौं।

अन्य सम्बन्धित समाचार:  खोप अभियान नयाँ चरणमा प्रवेश गर्दै छः स्वास्थ्यमन्त्री

उनले थपे, ‘घरमा असारे कामको चटारो छ। रिपोर्ट आए त ढुक्क हुन्थ्यौँ। अरु रोग त केही छैन जस्तो लाग्छ तर सोच्दा सोच्दै मानसिक बिरामी भइसक्यौँ।’

दुई हप्ता अगाडि नै क्वारेन्टाइनमा बसेका २२ जना मध्ये १२ जनाको स्वाब पठाएको भएपनि उनीहरूको रिपोर्ट नआएको वडाअध्यक्ष दिपेन्द्र थापाले बताए।

उनले भने, ‘नमुना स्वाब सङ्कलन गरेको दुई हप्ता बितिसक्यो रिपोर्ट नआउनुमा म के भन्न सक्छु।’ क्वारेन्टाइनमा बसेकाहरूको खानबस्नको व्यवस्था वडा सदस्यले लिएको हो। डडेल्धुरामा यो समयसम्म २ सय १ जना कोराना सङ्क्रमित देखिएका छन् भने एकजना कोरोना जितेर घर फर्किसकेका छन्।