पश्चिम बङ्गाल सरकारले रोक्यो नेपालको कृषिजन्य उत्पादन (भिडियोमा)

 

शम्भु दाहाल, झापा।

भारतको पश्चिम बङ्गाल सरकारले लकडाउनको कारण देखाउँदै सवारी प्रवेशमा रोक लगाएपछि ठूलो परिमाणमा निर्यात हुने कृषिजन्य वस्तु पूर्वी नाका काँकरभिट्टामा नै रोकिएको छ। नेपाल र भारतमा लकडाउन खुकुलो हुँदै गएपनि कृषिजन्य उत्पादन लामो समयदेखि निर्यात नहुँदा कृषक तथा व्यवसायी मर्कामा परेका छन्।

“चिया, अदुवा, अलैँची, अम्लिसो माथि सीमामा अवरोध”

कोरोना भाइरस नियन्त्रणका लागि दुवै देशमा लकडाउन भएका कारण झापा, इलाम, पाँचथर, ताप्लेजुङका कृषकका उत्पादन व्यवसायीले काँकडभिट्टा-पानीट्याङ्की नाकाबाट निर्यात गर्न पाएका छैनन्। ठूलो परिमाणमा निर्यात हुँदै आएको चिया, अदुवा, अलैँची, अम्लिसो जस्ता उत्पादन लकडाउनका कारण खेर जाने अवस्थामा रहेको छ।

“केन्द्र सरकारले नाकामा आयात निर्यात सहज गर्ने नीति पालना भएन”

झण्डै अढाई महिनापछि लकडाउन खुकुलो भएपनि कृषिजन्य उत्पादन पूर्वी नाका काँकडभिट्टाबाट निकासी हुन सकेको छैन। लकडाउन खुकुलो भएपछि भारतको केन्द्र सरकारले नाकामा आयात निर्यात सहज गर्ने नीति लिएपनि पश्चिम बंगाल सरकारले आफ्नो नाका हुँदै हुने सवारी प्रवेशमा रोक लगाएको मेची भन्सार कार्यालयका अधिकृत प्रकाश सुवेदीले बताए।

“पूर्वमा उत्पादन हुने कृषिजन्य वस्तुको मुख्य बजार भारत”

पूर्वमा उत्पादन हुने कृषिजन्य वस्तुको मुख्य बजार भारत हो। पठाउनुअघि चिया, अलैँची जस्ता नेपाली उत्पादन कलकत्तामा ल्याब परीक्षण हुन्छ। लकडाउनका कारण ती गोदामै थन्किएका र बर्खा सुरु भएकाले यस्ता वस्तु निर्यात गर्न अहिले व्यवसायी हतारिएका छन्। भारतबाट खाद्यान्न, निर्माण सामग्री, तरकारीलगायत वस्तु लिएर आएका ढुवानी साधनमा यताका उत्पादन लैजानुपर्ने चेम्बर अफ कर्मस झापाका अध्यक्ष ओम बिमलीको छ।

अन्य सम्बन्धित समाचार:  झापामा पहिलो रबर उद्योग सञ्चालनको तयारी

लकडाउनअघि नेपालबाट अन्तिम पटक गत चैत ९ गते कृषिजन्य उत्पादन निर्यात भएको थियो। लामो समयदेखिको लकडाउनले यो सिजनमा कृषकले उत्पादन गरेको वस्तु बिक्री गर्न पाएका छैनन्। निकासी नभएकै कारण नेपाली उत्पादन थन्क्याएर बैङ्कमा चर्को ब्याज तिर्नुपर्दा व्यवसाय डुब्ने खतरा बढेको भन्दै व्यवसायीले सरकारसँग सहयोगको माग गर्दै आएको छन्। यस्तो परिस्थितिमा आफ्ना उत्पादन निर्यात गर्न सरकारले समेत आवश्यक पहल गर्नुपर्ने जरुरी देखिन्छ।

https://www.facebook.com/nepalipatrikaofficial/videos/576387193309903/