अब स्वदेशमै केही गर्छु!

  • भावना पौडेल, डडेल्धुरा

आफ्नै देशमा मेहनतको पसिना बगाउन कसलाई पो मन नलाग्ला र! खाडी मुलुकमा गएर दिनरात नभनी काम गर्नुको दुःख सायद पीडा भोगेकैलाई मात्र थाहा हुन्छ। स्वदेशमै केही गरौँ भन्ने चाहना पालेका थुप्रै युवाहरू अझै देश बाहिर छन्। कोही रहरले त धेरैजसो बाध्यताले भारत तथा खाडी मुलुकमा अलपत्र अवस्थामा छन यो महामारीमा।

यिनै मध्येका एक हुन डडेल्धुराको अमरगढी नगरपालिका–४ हरडीका २१ वर्षीय युवा लक्ष्मण शाह! उनलाई कलिलो उमेरमा जीविकोपार्जनका लागि भारत भासिन मन थिएन। तर के गर्नु समय परिस्थितिले छिमेकी देशमा पसिना चुहाउन बाध्य बनायो। घर परिवारको रोजिरोटी र भाइबहिनीको पठनपाठनका लागी उनी भारत छिरे। कक्षा १२ सम्म जसो तसो अध्ययन गरेका शाह आर्थिक अभावकै कारणले उच्च शिक्षाको चाहना पुरा गर्न पाएनन्।

बाल्यकाल देखी नै न्यनतम आर्थिक अभावको परिस्थितिबाट गुज्रिएका लक्ष्मणलाई सधैँ धन कमाउने रहर मनमा जागिरहन्थ्यो। तर के गर्नु ‘आकाशको फल आँखा तरी बस भनेझैँ भयो।’ उनलाई त्यतिखेर।

आफ्नै ठाउँमा केही गरौँ भन्ने मन हुँदाहुँदै पनि बेरोजगार बस्नुपर्दा अन्ततः कामको खोजीमा भारत पस्न बाध्य भए। उनका बुवा सामान्य कृषक भएकाले परिवारको खर्च टार्न अत्यन्तै मुस्किल परेकाले पनि नचाहँदा नचाहँदै भारत छिर्नु परेको पीडा उनी सुनाउँछन्।

‘आफ्नै ठाउँमा केही रोजगारी नपाउँदा र पारिवारिक स्थिति देख्न नसकेर भारतमा दुईचार पैसा भएपनि आम्दानी गरौँला भन्ने सोच बोकेर त्यहाँ पुगेका उनले करिब ६ वर्षसम्म निरन्तर परदेशी भूमिमा पसिना बगाए। रोजगारीकै क्रममा उनी भारतकै बिभिन्न स्थानमा अझै राम्रो कामको खोजीमा समेत भौतारिइरहे। सामान्य होटलमा वेटरबाट कामको  थालनी गरेका उनी त्यतिखेर मासिक सात हजार रुपैयाँ कमाउँथे। तर, परिवारको रोजीरोटी, भाइबहिनीको शिक्षादीक्षाका लागि त्यो कमाइ पर्याप्त थिएन। त्यसपछि यसो ठाउँ बुझेपछि उनी त्यो काम छाडेर अन्यत्र कामको खोजीमा हिडीरहे।’

अन्य सम्बन्धित समाचार:  अज्ञात रोगका कारण जयपृथ्वी नगरपालिकाका दुई वडा प्रभावित

बल्लतल्ल उनले भारत बैङ्गलोरकै एक होटलमा एकाउन्टमा काम पाए। उनलाई त्यहाँ काममा त्यति धेरै समस्या नभएपनि आफ्नै ठाउँमा केही गरौँ भन्ने इच्छाले भने निरन्तर सताइरहन्थ्यो। पहाडको चिसो हावापानीमा हुर्केका लक्ष्मणको दिनचर्या भारतमा मुस्किलले गुज्रिरहेको थियो।

जब कोरोनाको कहर विश्वभर छायो। तब भारतमा पनि दिनप्रतिदिन यसका सङ्क्रमित थपिदै गए। त्यसपछि भारतका होटेल मालिक लगायत अन्य कार्यालयका मालिकहरूले धमाधम काम गरिरहेका मजदुरहरूलाई कामबाट बिदा दिन थाले त्यसपछि उनीसँग पनि घर फर्किनुको विकल्प रहेन।

यतिखेर शाह कञ्चनपुरको गड्डाचौकि नाका हुँदै जन्मस्थान डडेल्धुरामा पुगेका छन्। पुगेकै दिनदेखी गाउँमै रहेको बैजनाथ निमाबिको क्वारेन्टिनमा बसे। उनलाई यो बसाई कारागारमा थुनिए झै हुदै गएको छ।

क्वारेन्टिनको मापदण्डमा खानेपानी, शौँचालय, स्वास्थ्यकर्मी लगायतका सेवासुबिधा भनिएको छ, तर यहाँ बनाइएका कुनै पनी क्वारेन्टिनमा त्यो देख्न सकिदैन।
उनले भने ‘बस्न त जसोतसो बसिएको छ। नेपाल आएर क्वारेन्टिनमा बसेका दिनदेखी राम्रोसंग एक छाक खाना खान पाइएको छैन। महिनौ सम्म थुनिएर बस्नु पर्दा सास पनि फेर्न गाह्रो भइसक्यो।’ उनले अझै थपे  ‘१९ दिन बितीसक्दा पनि अझै रिपोर्ट आएन। अब भागेर घर जान्छु। जे परे पर्ला!’

अन्य सम्बन्धित समाचार:  ग्रेडरको ठक्करबाट कैलालीमा १ जनाको मृत्यु

रोजगारीका लागि अन्य मुलुकमा पाइला नटेक्ने अठोट बोकेर स्वदेश फर्केका उनी मेहेनतको फल मिठो हुन्छ भन्ने कुरालाइ आत्मसात गर्दै देशमै नंग्रा खियाउने प्रतिबद्धता समेत ब्यक्त गर्छन। दुःख कष्ट सहेरै भएपनि  स्वदेशमै केही गरेर बस्ने उनको अठोट छ। घरमै रहेका बुढा बुवासंग बसेर कृषि पेशामा आवद्ध हुने अबको उनको प्रमूख प्राथमिकता समेत रहेको छ।

कोरोनाले गर्दा थुप्रैको ज्यान गएको भन्दै आगामी दिनमा आफ्नै घरवरिपरीका बाझो जमिनलाई हराभरा बनाउन लागिपर्ने छु, शाहले थपे।

खाडी लगाएतका मूलुकबाट फर्केका युवाहरुलाई उनको अनुरोध पनि छ, बिदेशबाट फर्किने जो कोहीले केही न केही सिप बोकेरै फर्केका छन्। कोरोना महामारीलाई अवसरको रुपमा सदुपयोग गर्दै बिदेशमा सिकेको सिपलाई स्वदेशमै स्थापित गरौं। यहाँको मुख्य पेशा नै कृषि रहेकाले सरकारले पनि कृषिमा बढी जोड दिनसके युवा पलायन रोकिने उनको जिकीर छ।

कोरोना कहरले गर्दा अहिले भारत लगाएत तेस्रो मुलुकबाट लाखौँको संख्यामा भित्रिएका युवाहरुलाइ आफ्नै गाउँ–ठाउँमा रोजगारीको सिर्जना गर्न उनको आग्रह छ। स्थानीय सरकारले ल्याएका युवालक्षित कार्यक्रमबाट  युवाहरू लक्षित कार्यक्रम ल्याउन नसकेको दुखेसो पोख्दै भनेः अबका दिनमा घर नजिकका सरकारले बिदेशबाट भित्रीएका युवाहरू सबैलाई रोजगार लक्षित कार्यक्रम ल्याओस्।