श्याम गुप्ता, बारा।
बाराको विश्रामपुर गाउपालिका वडा नं २ मा एक पाँच वर्षीया बालिका माथि जबरजस्ती करणी भएको सात दिन पछि खबर बाहिर आएको छ। असार ३ गते राती करिब ९ः३० बजेको समयमा उखुबारीमा भएको यो घटनामा प्रहरीले सुरु देखि नै सहयोग नगरेको पीडितको आरोप छ।
एक्कासि बालिका राती कोठाबाट हराएको र करिब ११ बजे सुनसान सडकमा रगताम्य अवस्थामा निर्वस्त्र अवस्थामा परिवार जनले फेला पारेको बताईएको छ। प्रहरीकोमा उजुरी दिंदा अपराधी उम्कने भन्दै आफूहरुको पीडा नसुनेको बालिकाको बाबुले बताएका छन्। “म एक गरिब मानिस हुँ दिन भरी रिक्सा चलाएर मात्र खान पुग्छ।” उनले सुनाए।प्रहरीले सहयोग गर्नुको साटो उल्टै हप्काउने गरेको समेत उनले बताए।
घटना स्थलबाट एक थान साइकल , पुरानो चप्पल र तेल राखिएको भाडो समेत बरामद भएको बताईएको छ। सामाजिक अभियन्ता बिजेश्वर चौधरीले घटना बाहिर नआएको र प्रहरीको भूमिका निकै कमजोर देखिएको बताए। आफूले असार ९ गते राती मात्र जानकारी पाएकोले पीडितलाई सहयोग गर्न चाहेको उनले बताए। वडा अध्यक्ष तथा गाउँपालिका प्रमुख समेत यो घटना बारेमा बेखबर रहेको सुनेर आश्चर्य लागेको समेत चौधरीले बताए।