काठमाडौं।
कोरोना भाइरसले पारेको असहज परिस्थितिको कारण स्वदेश फर्किन नपाएका तथा कतारस्थित नेपाली दूतावासमा घर फर्किन पाऊ भन्दै फारम भरेका नेपालीहरूलाई प्राथमिकताको आधारमा नेपाल ल्याइएको छ। १५८ जना नेपाली लिएर हिमालय एयरलाइन्स हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार अपराहन्न काठमाडौँ आइपुगेका हुन्।
तेश्रो चरणमा हिमालय एयरलाइन्सको उडान ९५६३२ बाट १४६ जना पुरुष, १० जना महिला २ जना बच्चा सहित १ सय ५८ जना नेपालीहरू स्वदेश फर्किएका छन्। स्वदेश फर्कन लागेका नेपालीहरूलाई बिदाई गर्न एन आर एन ए प्रतिनिधिहरू हमाद अन्तर्राष्ट्रिय विमानस्थल आएका थिए।
अब अर्को उडान २७ जुन अर्थात् असार १३ गते नेपाल एयरलाइन्स मार्फत हुने छ भने उक्त उडानबाट समस्यामा परेका १७४ जना नेपालीको सूची दूतावासले सार्वजनिक गरिसकेको कतारबाट हाम्रा प्रतिनिधि योगी योगेनले जनाएका छन्।
उक्त उडान अनुमति र यो सूचीमा परेका व्यक्तिहरू कतारको सम्बन्धित निकायबाट क्लियरेन्स प्राप्त गर्नका लागि आवश्यक पत्राचार भैसकेको र सो अनुमित प्राप्त भएपछि मात्र उडान गर्न सकिने दूतावासले जनाएको छ।
यस अघि आममाफी पाएका ४३ जना, २० वटा शव, नेपाल एयरलाइन्स मार्फत एक सय ४९ जना र हिमालय एयरलाइन्स मार्फत १४५ जना स्वदेश फर्किसकेका छन्। दूतावासले अर्को उडानको सूची सार्वजनिक गरे पनि मिति भने तोकेको छैन।