काठमाडौं।
शुक्रबार एक हजार दुई सय नेपाली काठमाडौं आउँदैछन्। विदेशमा अलपत्र नेपाली नागरिकको उद्दार गर्ने क्रममा बहराइन, युएई, कुवेत र मलेसियामा समस्यामा परेका नेपाली आउन लागेका हुन्। कुवेतबाहेक सबै मुलुकबाट शुक्रबार दुई/दुई वटा उडान हुँदैछन्। बहराइनको दुवै र मलेसियाको एउटा उडान नेपाल एयरलाइन्सको जहाजमार्फत हुँदैछ।
युएईको हिमालयन र एयर अरेविया, कुवेतको जजिरा एयरलाइन्स र मलेसियाको एउटा उडान हिमालय एयरलाइन्सबाट हुँदैछ ।
उनीहरुलाई नेपाल ल्याएर काठमाडौं, भक्तपुर र ललितपुरमा राखिएका होल्डिङ सेन्टरमा लगिनेछ। त्यहाँ सेनाको व्यवस्थापनमा उनीहरुको सामान्य स्वाथ्य जाँच र विवरण लिने कार्य हुनेछ। त्यसपछि सम्बन्धित प्रदेशमा क्वारेन्टिनमा बस्ने गरी पठाइनेछ।
विदेशबाट आउने नागरिकले पीसीआर रिपोर्ट ल्याएको खण्डमा उनीहरुले होम क्वारेन्टिनमा बस्न पाउनेछन्। इच्छुकले होटल क्वारेन्टिनमा पनि बस्न पाउनेछन्।
कुवेतबाट अहिलेसम्म १२ उडानमार्फत १८ सय ६९ जना स्वदेश फिर्ता
कुवेतबाट अहिलेसम्म १२ उडानमार्फत १८ सय ६९ जना स्वदेश फर्किसकेको कुवेतस्थित नेपाली दूतावासले जानकारी दिएको छ। दूतावासका अनुसार अहिलेसम्म नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले एक/एक उडानमार्फत ३०४ जना र कुवेतको जजिरा एअरको १० उडान गरी जम्मा १८ सय ६९ जना स्वदेश फर्किसकेका छन्।
