पेटमा छोरी भएपछि भ्रूण हत्या गर्नेले कन्या चाहिए गाउँ चाहार्ने? 

  • सरगम भट्टराई 


झण्डै पाँच बर्ष पहिले मेरी श्रीमती ज़ब पाँच महिनाकी गर्भवती थिईन् त्यसबेला एकजना नजिकैकी दिदीले खुसुक्क सोध्नु भएको थियो, “ए नानी, भन् न तेरो पेटमा बाबु छ कि नानी? चेक त गराईस् होला नि?”

“ह्या दिदी! छोरा छोरी जे भए पनि के भो र अहिलेको जमानामा? त्यसमाथि पनि पहिलो बच्चा।”

मेरी श्रीमतीले हल्का झर्केजस्तो गरी जवाफ दिएकी थिईन्। दिदीले हामीले छोरा छोरी पहिचान गरेनौँ भनेको कुरा सायद पत्याउनु भएन।

एकदिन टिचिंग अस्पत्तालमा नियमित चेकजाँच गर्न जाँदा बसमा एक जना अर्धबैँसे महिला भेटिईन्: गर्भावस्थाको ठूलो पेट लुकाएर लुक्ने कुरा भएन, गर्भवती भन्ने कुरा थाहा भईहाल्यो। उनले पनि बोल्ने निहूँमा सोधिहालिन्, “नानी! कति महिना भो नि?”

श्रीमतीले उत्तर दिईन्,’ छ महिना पूरा भो।

अनि के छ नि? छोरा कि छोरी? चेक त गराएको होला नि?

उनलाई पनि उही स्पष्टिकरण दियौँ हामी दुबैले, यस्ता स्पष्टिकरण धेरैलाई दिईयो, कसैले पत्याए, कसैले ओँठ लेप्र्याए। नाता,गोता, साथी, भाइ सबैले यही प्रश्न उत्सुकताका साथ सोधिरहे। हाम्रो उत्तर त उही एउटै हुने भयो।

बिडम्वना, ती मध्ये कसैले पनि मेरी श्रीमतीको स्वास्थ्य स्थितिको बारेमा एक औपचारिक,अनौपचारिक शब्द खर्चेर सोध्ने चेष्टा गरेनन्, जसको पहिलो गर्भ पाँच महिनामै मिसक्यारियज भएको थियो, त्यसैले पनि डाक्टरको नियमित परिक्षण गरिरहनु पर्थ्यो ।जति चोटी अस्पताल गयो बाटैभरि केरकार।

हुन त मलाई पनि बिहे पूर्व त छोरीभन्दा छोरा नै मन पर्थ्यो। तर छोरा र छोरीमा बिभेद गरेर होईन, छोरीलाई हेर्ने यो समाजको नज़रसंगै प्राकृतिक,सामाजिक र मनोवैज्ञानिक रुपमा छोरीलाई बढी कष्ट भएको देखेर।

रजस्वला हुनुपर्ने, बिहेपछि अर्कैको घरमा जानुपर्ने, आमा हुनुपर्ने, आमा हुन नसक्दा सौता बेहोर्नुपर्ने, बिधुवा हुनुपर्ने, घरेलु हिंसा, सामाजिक बन्धन आदि-आदिले गर्दा बरु मेरो पहिलो बच्चा छोरा नै होस् भन्ने लाग्थ्यो।

तर समयसंगै मलाई मेरै धारणा कमजोर लाग्यो, युरोप अमेरिकामा आफ्नै आँखाले छोराभन्दा छोरीले नै आफ्ना बाबुआमालाई हेरचाह गरेको देखियो। राम्रो शिक्षा दीक्षा र संस्कारको तारतम्य मिल्यो भने छोरी पनि छोराभन्दा कम हुन्नन् भन्ने कुरा देखियो, सुनियो।

गर्भावस्थाको नौ महिनाको कठिन क्षणमा मैले मेरी श्रीमतीलाई आफूले जाने बुझेको भावनात्मक र भौतिक सहयोग गरेँ, मुश्किलले अठ्तीस किलो तौलमा गर्भवती देख्दा धेरै मान्छेहरु बिचरा पनि भन्थे त्यसैले उनको तौल कसरी बढाउन सकिन्छ भनेर म सधै चिन्तित थिएँ। कसैले सोध्दा श्रीमती मात्र हैन हामी प्रेग्नेन्ट छौँ भन्थेँ म। खाना बनाउने, लुगा धुने, किनमेल गर्ने आदि काम सबै जसो मैँ गर्थेँ, हेर्नेहरु दंग पर्थे, मैले यसो गर्दा आरिसले जल्ने पनि थिए। मैले मनमनै सोच्थेँ, “यदि मेरो पेटमा उनको जस्तै बच्चा भएको भए मलाई कति गाह्रो हुन्थ्यो होला?”

मेरी गर्भवती श्रीमती उठ्दा, बस्दा, हिड्दा उनले असजिलो मानेर पीडाले अनुहार बिगारेको देख्दा मेरो आङ जिरिङ्ग हुन्थ्यो। मिल्नेभए यस्तो लाग्थ्यो: उनको त्यो गर्भ मै बोकूँ तर यो त कहाँ सम्भव थियो र?

नौ महिना पुगेपछि हाम्रो प्रतीक्षाको घड़ी समाप्त भो, ड्यु डेट आएपछि अलि बढी अप्ठेरो भएको बेला मैले महाराजगंजको टिचिंग अस्पताल दौड़ाई हालेँ, जुनवेला रातको दुई बजेको थियो। अस्पताल पुगेको एकैछिनमा उनलाई भर्ना गरिहाले। युरोप अमेरिकामा जस्तो छेवैमा बसेर प्रशव पीड़ा अनुभूति गर्न त्यहाँ नदिने हुनाले म बाहिर कुरेर बसिरहेको थिएँ।

केही डर र केही कौतुहलताका साथ एक्लै बाहिर कुर्दाको अनुभुति शब्दमा उल्लेख गर्न सक्दिन म।

क़रीब आधा घन्टामै लेबर रुमको ढोका खोलेर बाहिर निस्कदै एउटा नर्स बाहिर म कुरिरहेको ठाउँमा आईपुगिन् र चिच्याईन्,
“प्राप्तीको हस्बेण्ड को हुनुहुन्छ?”

मेरो होश हवाश गुम्यो, एकै छिनमा रातों पिरो भएँ अनि हड्बडाउँदै सोधेँ: बैनी ssss सब ठिक त छ नि? अपरेशन गर्न त पर्दैन नि? रगतको जोहो गर्नु पर्ने त होईन? एकैपटक तीन प्रश्न सोधेँ मैले।

म हड़बड़ाएको देखेर नर्सले हाँस्दै भनिन्: “दाई हजुरको बच्चा भयो बच्चाको लुगा र ब्ल्याङ्केट ल्याउनू है! अनि आमालाई सुप र
पनि!”

अब भने म ढुक्क भएँ यो खबर मेरो लागि थिएन, कोही अर्कैको नाम मेरो श्रीमतीसंग मिल्न गएको थियो। मैले अडान लिएर भनेँ: सिस्टर प्राप्तीको थर के हो? मेरो श्रीमती त पोख्रेल पो त!  भर्खर आधा घन्टा पहिले आएको।

हो, हो! तपाईकै बच्चा भो। छिटो जानुस, ढिलो भयो। नर्स अलि कड्किईन्। पहिले पहिले धेरै कड्किने नर्सहरु देखेको मैले यसपाली अपेक्षाकृत नरम नै अनुभव गरेँ।

अन्य सम्बन्धित समाचार:  प्लाज्मा थेरापी विधिबाट कोरोनाको उपचार गर्न १२ अस्पतालको नाम सिफारिस

मैले कपाल कन्याउदै सोधेँ: सिस्टर कस्तो रंगको ब्ल्याङ्केट ल्याऊँ निलो कि गुलाबी?

नर्सले मुसुमुसु हाँस्दै भनिन्, “आफूलाई मन पर्ने रंङको ल्याउनू न।”

मैले भने: मलाई जे भए पनि फ़रक पर्दैन तर जे हो त्यही भन्नु न प्लिज!

उनी अलि कड़ा बोलिन्: दाइ के ज़िद्दी गरिरा होला? अहिले एकै छिनमा थाहा भै हाल्छ नि ! खुरुक्क जानुस् न, अहिले भन्न मिल्दैन।

सिस्टर नानीलाई यो प्रश्न सोधिरहन मलाई मन लागेन। मैले अर्को प्रश्न पनि सोध्न लाग्दा उनी वार्डमा फर्कनै आँटेकी थिईन्। बैनी सुन्नुन प्लिज! एउटा मात्र प्रश्न है,”आमा र बच्चा त ठिक छन् नि?”

उनले हाँसेर भनिन्, “एकदम स्वस्थ्य बच्चा छ, आमालाई पनि ठिक छ अपरेशन पनि गर्नु परेन, नर्मल भो। ल अब त जानुस ! उनले मलाई हातले बाहिर जान इशारा गरिन्।

मेरी आधा अंग र भर्खरै धर्तीमा ओर्लिएको हाम्रो मायाको प्रतिबिम्ब, मुटुको टुक्रालाई प्रत्यक्ष देख्न नपाउँदै म बाहिर फार्मेसीमा औषधिहरु र ब्ल्याङ्केट किन्न गएँ। म भित्र एउटा ठूलो रहस्य मडारिरहेको थियो: मनले सोधिरहेको थियो: के जन्मिए होला?

मैले आफै जवाफ दिन्थेँ: जे भए पनि एकै छिनमा थाहा भै हाल्छ नि! तर त्यो एकछिन् एक युग भएको थियो मेरा लागि।

मैले मलाई मन पर्ने बैंजनी रङको ब्ल्याङ्केट सहित चाहिने सबै सामान किनेर ल्याएँ अनि नर्सलाई दिएँ। केही बेरपछि आएर बल्ल ती नर्स नानीले भनिन्: दाई हजुरको छोरी भएको छ है! बधाई छ।

त्यो समाचार मेरा लागि यति मिठो थियो कि म नर्सकै सामु खुशीले उफ्रन खोज्दै थिएँ।

त्यसपछि सुत्केरी र बच्चालाई प्रसूति कक्षबाट जनरल बेडमा सारियो, जहाँ धेरै नवजात बच्चा, आमा र कुरुवाहरु थिए। वार्डको बेडमा पुगेपछि मैले श्रीमतीको निधारमा चुमेर बधाई दिएँ र छोरीको अनुहार पहिलो पल्ट हेरेँ। छोरीलाई काखमा लिएर चुम्दै यताउता गरिरहेको थिएँ।

मेरी श्रीमती प्राप्तीले समेत मलिन भएर एकोहोरो मलाई हेरिरहेकी थिईन्: मलाई एक्कासी सोधिन् : “हजुर खुशी त हुनुहुन्छ नि?” मैले निर्धक्कले भनेँ,”मैले त छोरी नै जन्मोस् भनेको थिएँ नि हैन र?”

त्यति सानो बच्चा पहिले कहिल्यै नउचालेकोले असजिलो लागेर छोरीलाई बिस्तारै बेडमा राखेँ मैले। त्यति बेलै बाहिर निस्केर सबै आफन्तहरुलाई फोन गरेर सो सुखद समाचार सुनाउन मोबाईलको बटन थिचेँ।

हेलो… हजुर! ल बाबा भईयो आजदेखि। बुबा, आमा, सासु, ससुरादेखि मामा माईजु सबैलाई फोन गरेँ मैले। उताबाट जवाफ आउथ्यो: के भयो नि छोरा कि छोरी?

मैले खुशीका साथ जवाफ दिएँ: भर्खर छोरी भईन्, एकदम स्वस्थ्य र राम्री अनि आमालाई पनि ठिक छ यस्तै यस्तै। अरुले सोध्थे, सोध्थेनन्: मैले सबै कुरा बताई हालेँ।

म खुशीले गद्गद हुँदै फोन घुमाईरहँदा केही कुरुवा र सुत्केरीहरुले फेरि पनि छोरी जन्मी भनेर बर्र आँशु झारिरहेका भेटिए। मेरो छेवैमा कुरिरहेका एक अर्धबैँसे युवककी श्रीमतीले त चौथों पल्ट पनि छोरी जन्माएकी रहिछन्, परिवारको दवावमा छोरा पाउने आशामा। जे होस् म फुरुङ्ग थिएँ, धेरै बेर उनको कुरा सुन्ने फुर्सद थिएन मलाई।

मैले फोन गरेका मेरा आफन्तहरुको अनुहार त मैले देख्न सक्ने कुरा भएन तर उनीहरु मध्ये असी प्रतिशत आफन्तहरु मैले सुनाएको खुशीको खबरमा खुशी थिएनन्। उनीहरु मध्ये धेरैको प्रतिकृया थियो: “ए छोरी पो भयो है! अनुहार हेर्दा छोरा हुन्छ जस्तो लागेको थियो, पहिलो छोरा भएको भए ढुक्क हुन्थ्यो। ल ल जे भए पनि बधाई छ।”

मैले मेरो सबैभन्दा मिल्ने ठूली आमाको छोरा दाजु, मेरो सहपाठी, सहकर्मी दाइलाई यो खबर सुनाउन हतार हतार फोन लगाएँ। मलाई आशा थियो: “ऊ चाहिँ सबैभन्दा खुशी हुनेछ। मेरो प्रिय दाइले यो खुशीमा बुर्कुसी मार्ने छ।”

फोनको घन्टी गयो, मैले छोरी जन्मेको खबर सुनाएँ तर प्रतिकृया चाहिँ उही निराशाकै आयो! मानौँ हामीले छोरी जन्माएर ठूलै गल्ती गर्यौँ। दाइले मलाई सान्त्वना दिएजस्तै गरेर भन्यो: “छोरा भएको भए ढुक्क हुन्थ्यो है तर केही छैन।” अरु दाइ भाइले पनि खासै खुशी ब्यक्त गरेनन्। सबैले मलाई सान्त्वना दिनको लागि कन्जुसवाला बधाई दिए।

मैले कसैको प्रतिकार फोनमा गरिन, भेटमै बिस्तार गर्ने निधो गरेँ। धेरैले झारा टार्न कन्जुसपूर्वक बधाई दिए। मैले कल्पना गरेँ, सायद छोरा भएको भए धेरैको प्रतिकृया यस्तो हुन्थ्यो: “वाह! धेरै धेरै बधाई छ यार, बंश थामियो तेरो, अब ढुक्क भयो, बुढेसकालमा सहारा हुने भो, ल अब भब्य पार्टी मनाउनुपर्छ, छैँठीमा नाँच्नुपर्छ।” आदि आदि।

अन्य सम्बन्धित समाचार:  लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा भट्ट

मैले मेरा स्मृतिहरु ताजगी गरेँ । मलाई कता कता नरमाईलो लागिरहेको थियो। मेरै छिमेकी दिदीले दुई छोरीहरु पछि पनि छोरी नै गर्भ रहँदा चारपटक सम्म गर्भपतन त्यो पनि अत्यन्त असुरक्षित स्थान र समयमा गरेको कुरा आँखै अगाडि आएको थियो, त्यही कारणले गर्दा उनी कमजोर र रोगी भईसकेको मैले मेरै आँखा अगाडि देखेको थिएँ, गाउँका सीता, मीना, मनिता, लक्ष्मी, ज्ञानु, सरस्वती सबैको त्यही हाल थियो, छोराको आसमा कैयौ भ्रूणहरु समय अगावै फालिएका कुरा एक कान दुई कान मैदान भईहाल्थे।

नामै त के लिनु र? छोरी भन्ने चिनेर भ्रुण हत्या गरेपछि अर्को गर्भ छोरा होस् भनेर सन्तोषी माताको ब्रत लिनेले सांगेता गर्दा पन्चकन्या खोज्न गाउँतिर लाग्थे।

मेरा नजिकैका नातेदार दाजुकी श्रीमती गंगा भाउजुले लगातार चार वटी छोरी पाएपछि पनि हात हेर्नेले फेरि पनि छोरी जन्मने कुरा बताए। दाजुले भाउजुको आग्रहमै दोश्रो बिहे गर्नु भयो,  त्यसो त संयोग मात्र हुनुपर्छ: दोश्री पट्टि लगातार दुईवटा छोराहरु जन्मे। दुई चार बर्ष त ठिकै भो,त्यतिबेला हाँसी हाँसी सौता भित्र्याउने भाउजु अहिले सौतासंग मिल्न नसकेर अलग्गै बस्नुहुन्छ।

सबै घटना परिघटनाहरु हेर्दा हाम्रो समाजमा अझै पनि छोरा र छोरीको बिचमा गहिरो खाडल छ भन्ने कुरा छर्लंग थियो। मान्छेहरुलाई जस्तो भएपनि छोरै चाहिने रहेछ। पहिले पिण्ड दिने छोरा चाहिन्थ्यो तर अहिले नामकै लागि पनि छोरा चाहिन्छ भन्छन् मान्छेहरु। त्यही छोराकै प्रसंगमा सासु, बुहारी, श्रीमान्,श्रीमती आदि बिच सम्बन्धमा दरार आईरहेकै छ।

१५ बर्ष अघि चार छोरीपछि छोराको आशमा पाँचौ सन्तान जन्माएकी सुनिता दिदीले पनि तीन पटक गर्भपतन गराईन्, जुनवेला उनी पैंतालीस बर्षको आसपास पुगिसकेकी थिईन्। गर्भमा छोरा भएको पक्का भएपछि उनले पाँचौ सन्तान जन्म दिईन्।

अहिले उनको छोरा सानै छ, तर लाड़ प्यार पाएर हुर्केकोले १४ बर्षमै कुलतमा लागेर बिग्रिएको छ, छोरीहरु सबैको बिहे भैसकेको छ, तर बाबा आमालाई पर्ने सबै गाह्रो साह्रोमा छोरीहरुले सहयोग गरिरहेका छन्। अहिले सुनिता दिदीको घैँटोमा बल्ल घाम लाग्न थालेको छ: “मैले छोरा छोरा भनेर गल्ती गरेछुँ।” किनकी बूढेसकालमा जन्माएको त्यही छोरा अहिले उनीहरुको चिन्ताको कारण बनेको छ।

मैले मेरै घरमा फर्केर हेरेँ: २०३० को दशकमा पहाड़ देखि पढ्न भनेर मेरो दाजु तराई आउनु भयो तर तीनवटी मेरी दिदीहरुले त्यो बेला पढ्न पाउनु भएन, सायद दिदीको ठाउँमा दाजुहरु जन्मेको भए जसो तसो पढाउनु हुन्थ्यो होला। हुन त मेरो बुवा पुरानो पुस्ताको भएर होला: ठूली भाउजुले दुईटी छोरी पाउँदा सुत्केरीमा भेट्न नगए पनि तेश्रो पल्ट छोरा पाउँदा तुरुन्तै भेट्न जानु भएको थियो।

यी त बिगतका कुरा भए, वर्तमान पो कहाँ सच्चिएको छ र? संसारका अति बिकसित देशहरुमा पनि महिला र पुरुषलाई एउटै आँखाले हेरिदैन।

लगभग त्यही बेला अमेरिका जस्तो बिकसित देशमा राष्ट्रपतिको चुनाव अगावै चुनावको परिणाम के होला भनेर मैले सोध्दा धेरै पुरुष त के महिलाहरुले नै भन्थे: संसारको नेतृत्व गर्ने अमेरिकालाई महिला हैन हिम्मती पुरुष राष्ट्रपतिको खाँचों हुन्छ। परिणाम पनि त्यतै गयो चौवालिस पल्ट पुरुष राष्ट्रपतिलाई जिताएका अमेरिकनहरुले  कड़ा प्रतिस्पर्धा हुँदा पनि एउटी सशक्त महिला हिलारी क्लिन्टनलाई निर्वाचित गर्न सकेनन्।

हाम्रो देशमा त अहिले पनि राज्यका महत्वपूर्ण अङ्गमा महिलाहरुले नेतृत्व गरिरहेका छन्, तर बिडम्वना अझै पनि छोरा छोरी बिच भेदभाव, दाईजो प्रथा, बोक्सी प्रथा, छोरीलाई छोरा सरह नपढाउने आदि कायमै छ।

अहिले हाम्री छोरी कृष्मा झण्डै ५ बर्षकी पुगि सकिन्,पूर्णिमाको चन्द्रमा जस्तै उज्याली र स्वस्थ्य छिन्, हिजो हामीलाई खुलेर शुभकामना नदिनेहरुको अगाडि पनि उनी हाम्रो हिमाल जस्तै हाँस्छिन्, सबैकी यति प्यारी छिन् कि उनको तारिफ नगर्ने कोही छैन । यस्तो लाग्छ उनले सबैलाई कड़ा जवाफ दिईरहेकी छिन्: “म छोरी भएर जन्मदा खुशी नहुने तपाईहरु सबैको धारणा परिवर्तन गर्ने छु।”

उनको मुस्कानमा हो मा हो मिलाऊँदै हामी पनि भन्छौँ: हो छोरी, तिम्रो दृढ़ता पूरा गर्न हामी कुनै कसर बाँकी राख्ने छैनौँ। छोरी प्रतिको धारणा संबिधानत: फेरिएपनि ब्यवहारत: फेरिन धेरै समय लाग्नेछ। हामी र हाम्री छोरीले यो धारणा परिवर्तन गर्न अन्तिम सम्म लडिरहने छौँ। हैन भने हामीलाई जन्माउने आमा पनि छोरी, यो संसारकी सृष्टिकर्ता छोरी जन्मेकोमा के को रोईलो होला?