गण्डकी प्रदेशमा ३२ सङ्क्रमित थपिए, कुल संख्या ८३८

कास्की।  गण्डकी प्रदेशमा आज ३२ जना कोरोना सङ्क्रमित थपिएसँगै कूल सङ्क्रमितको सङ्ख्या ८३८ पुगेको छ। प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान विज्ञप्ति जारी गरी स्याङ्जामा २२, बागलुङमा आठ तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा दुई जनामा सङ्क्रणमण पुष्टि भएको जनाएको छ। सङ्क्रमितमध्ये छ जना महिला छन्।

बागलुङको काठेखोला गाउँपालिकामा सात र ढोरपाटन नगरपालिकामा एक जना छन्। स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा १३ पुरुष र छ महिला, पुतलीबजारमा एक तथा वालिङमा एक जनामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापन उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए।

त्यसैगरी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा दुई जना रहेका छन्। हुप्सेकोट र वालिङ नगरपालिकाका सङ्क्रमित व्यक्ति आइसोलेसन कक्षमा बसिसक्नुभएको तथा अन्य पालिकाका सबै व्यक्तिलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयाारी भइरहेको निर्देशक शर्माले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  देशभर थप ७८ जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश क्षयरोग केन्द्र पोखरा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ सङ्क्रमण पुष्टि भएको बताइन्छ। प्रदेशमा हालसम्म बागलुङमा १५१, स्याङ्जामा १५८, नवलपरासीमा २१२, पर्वतमा ७२, मुस्ताङमा एक, कास्कीमा ३६, मनाङमा एक, लमजुङमा २३, गोरखामा ८२ र तनहुँमा १०२ जनामा सङ्क्रमण पुष्टि भएको छ।

त्यसैगरी अहिलेसम्म विभिन्न अस्पतालमा उपचारपछि ११८ जना निको भएर घर फर्किएको निर्देशनालयले जनाएको छ। सङ्क्रमित दुई जनाको भने मृत्यु भएको छ। प्रदेशमा नौ हजार ४५८ जनाको पिअिआर विधिबाट कोरोना परीक्षणका लागि नमूना सङ्कलन गरिएकामा सात हजार ९५८ जनामा सङ्क्रमण नदेखिएको र ८०० जनाको नतिजा आउन बाँकी रहेको प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख नवराज शर्माले जानकारी दिए।