“खुसीमुसी खुसीमुसी खुस्से तुम्मो नाँउ, उखान टुक्काले भरिपूर्ण गाउँसभा

Latest Nepali News, Politics, Videos, Entertainment & Sports

देवी कृष्ण अधिकारी, जुम्ला।
शनिबार जुम्ला हिमा गाउँपालिकाको ७ औ गाउँ सभा हाँसोले गुन्जिरह्यो। कारण थियो गाउँ सभाका अधिकांस बक्ताहरुका उखान टुक्का। जब सभामा गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले गाउँपालिकाको आ.ब ०७७÷०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरे लगत्तै सुरु भयो उखान टुक्का र दोहोरी।

जसको शुरुवात वडा न ५ का अध्यक्ष तथा गाउँ कार्यपालिका प्रतिपक्ष दलका प्रमुख नन्द बहादुर रावतले गरे। उनले ७ औ गाउँ सभाको शुभकामना मन्तव्य राख्दै गाउँ सभामा प्रस्तुत बजेटमाथि टिप्पणी गर्दै उखान हाले “खुसीमुसी खुसीमुसी खुस्से तुम्मो नाँउ, यस्तै काम गरेउ भुने बिपक्छे लिन्छ ठाउँ”। गाउँपालिकामा नेकपाले बजेट निर्माणका सन्दर्भमा विभिन्न वडाहरुमा आफ्ना समर्थक तथा पार्टी प्रतिनिधिहरु संग छलफल गरेको प्रसङ्गको लक्षित थियो उनको उखान।

गाउँपालिका भित्र नेकपाबाट निर्वाचित जनप्रतिनिधि र पार्टीले गरेको छलफलप्रति उनले असन्तुष्टि पोखेका हुन्। हिमा गाउँपालिकामा उनी विपक्षी एकमात्र वडा अध्यक्ष हुन, अन्य सबै नेकपाकै जनप्रतिनिधि छन्। त्यसपछि शुभकामना मन्तव्यको पालो आयो नेकपा सचिवालय जिल्ला सदस्य तथा स्थानीय निर्वाचनमा तत्कालीन एमालेबाट गाउँपालिका अध्यक्ष उम्मेदवार बनेका भै बहादुर रोकायको। उनले पनि उखान बाटै प्रतिपक्षीको जवाफ फर्काए।

अन्य सम्बन्धित समाचार:  प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक सुरु

दुई श्रीमान श्रीमतीको झगडाको प्रसङ्ग उकास्दै भने, “काँ छै मेरा उनाजय काँ छै मेरा अन्न, रनबन रन्किने घाँडो क्या भैबद बुन्न”। (श्रीमान जङ्गलमा काम सक्काएर घर फर्केपछि सधैं बोल्ने र खाना खान आग्रह गर्ने भएपनि एकदिन घरमा रिसाएकी श्रीमतीले बोल्दै नबोलेपछि श्रीमानले श्रीमतीलाई भनेको)। लगत्तै उनले थपे, “कचौरा उदो तरकारी छ छाब्रिउदा छन रोटा, रिसले कुटिस् त पनि तेरा पिण्डा लोटा”। (श्रीमतीले रिसाएका श्रीमानले कुटपिट गरिसकेपछि खाना खानुस भनेर फर्काएको जवाफ)। रोकायाले थपे, ‘गाउँपालिका भित्र केही असहमति हुनसक्छ्न तर सबैजना मिलेर एक परिवार जस्तै सहमति गरेर अघि बढनु पर्छ, म पनि गाउँपालिका अध्यक्षको प्रत्यासी हु मैले पनि हारेको हु, तर अहिले हामी सबै मिलेर काम गरिरहिका छौ, एउटै पार्टीमा छौ सबै कुरा मिल्छ’। रोकायाले ३ मतले गाउँपालिका अध्यक्ष हारेका हुन।

गाउँसभाको अन्तमा सभा समापन गर्ने क्रममा बोल्दैगर्दा गाउपालिका अध्यक्ष रज बहादुर शाहीले पनि त्यही क्रमलाई निरन्तरता दिए। उनले पनि सभाको सम्बोधनलाई उखान बाटै सुरु गरे, “ भुनेपछी दुख मान्निछ नुभुनु नुहुने, ठूलो डाब बैतले लग्यो अरु जति थुने”। वडा न ५ का अध्यक्षलाई फर्काएको जवाफ थियो यो पनि। यो उखान को सार हुन्छ (सबै कुरा भनौ भने तपाइँलाई दुख लाग्छ तर भन्नै पर्ने हुन्छ तपाईंलाई पनि ठुलै हिस्सा दिएका छौ र बचेको हामिले राखेका छौं)।

अन्य सम्बन्धित समाचार:  प्रचण्ड–माधव पक्षको निर्णय: पूर्वएमाले र पूर्वमाओवादी अलगअलग भएर जाने

त्यस पछी सभालाई सम्बोधन अगाडि बढाए। सभा गाउपालिकाको आगामी बर्षको नीति तथा कार्यक्रममा आफ्नो धारणा राख्दै आगामी दिनमा गाउपालिकालाई समृद्ध बनाउनका लागि राम्रा र दुरगामी महत्वका कार्यक्रम लागू हुने बताए। पुनः अर्को प्रसङ्ग जोड्दै उखान थपे, “राउनिदाँउदाँउ राउनीदाँउदाउँ कान चक्री हालुला, नाख फुलि हालुला, हात बाला हालँुला, गला सिक्री हालुला, धुन भ्यापै हालुला नुतर पुडा फालुँला”।

यो उखान मार्फत उनले गाउपालिकाले राम्रो गर्न खोजेपनी बजेट अभावका कारण सबै कुरा समेट्न नसकेको सन्देश दिन खोजेका थिए। अहिलेको कोरोना माहामारिका कारण सबै अस्तब्यस्त भएकाले गाउपालिकाले बिकास निर्माणका काममा ध्यान दिन नसकेको उनको गुनासो थियो।