लगातार तेस्रो पटक सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित

डडेल्धुरा।  सुदूरपश्चिम प्रदेशसभाको बैठक तेस्रो पटक स्थगित भएको छ। आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक एक सूचना टाँस गरी स्थगित भएको हो। असार १ गते प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७७÷७८ को बजेट माथि छलफल गर्न बोलाइएको बैठक लगातार तेस्रो पटक स्थगित भएको प्रदेशसभाका सचिव राम धामीले जानकारी दिए।

यसअघि प्रदेश सरकारले ल्याएको बजेटमाथि छलफल गर्न असार १० गते बोलाइएको बैठक प्रतिपक्षी दलले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै अवरोध सिर्जना गरेपछि सभामुखले बैठक स्थगित गरेका थिए। 

त्यसपछि असार १२ गतेका लागि बोलाइएको बैठकमा समेत प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राजपाले अवरोध जनाएपछि आइतबारका लागि बैठक बोलाइएको थियो। आजको बैठक भने सभामुखको आदेश अनुसार सूचना टाँस गर्दै बैठक स्थगित गरिएको प्रदेशसभा सचिव धामीले बताए। लगातार प्रतिपक्षीका कारण स्थगित हुँदै आएको बैठक सुचारु गर्न आइतवारपनि प्रतिपक्षी र सरकारबीच कुरा नमिलेका कारण स्थगित गरिएको बुझिएको छ।

 

अन्य सम्बन्धित समाचार:  विद्यार्थीमा रुघाखोकी लाग्ने, ज्वरो आउने लक्षण देखिएपछि विद्यालय बन्द