मध्यपहाडी लोकमार्ग अलपत्र पारेर ठेकेदार फरार

सुवास आचार्य, बागलुङ।

बन्दाबन्दीले काममा अवरोध भएको भन्ने गुनासो कै आधारमा सरकारले राष्ट्रिय गौरवको योजना अन्तर्गतको मध्यपहाडी लोकमार्गको लागि समय थपिदियो। तर पनि कामले गति लिन सकेन। लोकमार्ग अन्तर्गत बागलुङ सदरमुकाम खण्डको काम अलपत्र छ। जसको कारण स्थानीयले सास्ती भोग्न परेको छ। त्यसो त ठेकेदार कम्पनीको बेवास्ताको शिकारले विकासप्रतिको काममा हुने गरेको लापरबाही यस सडक खण्डले स्पष्ट पारेको छ।

बागलुङ सदरमुकाम देखि काठेखोला गाउँपालिका सम्मको १२ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मेवारी लिएको सिद्धि शाही कन्स्ट्रक्सनले बन्दाबन्दीको बहाना बनाएर काम गरेन। थपिएको समयमा त बेपत्ता नै भएको स्थानीयको आरोप छ। पटकपटक सरोकारवाला निकायलाई राखेर छलफल गरेपनि काम अगाडि बढ्न नसक्दा जनप्रतिनिधिको समेत बदनाम भएको गण्डकी प्रदेशका सांसद तथा नेकपा बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले बताए।

अन्य सम्बन्धित समाचार:  नेपाल विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिश

लोकमार्ग अनर्गत बागलुङ जिल्लामा पर्ने १ सय ४१ किलोमिटर मध्य बागलुङको काठेखोला गाउँपालिकाको अक्षेते देखी घोडाबाँधे सम्मको काम सन्तोषजनक भएपनि बागलुङ वजार देखी अक्षेते सडक खण्डको काम भने ठप्प छ।

सरकाले राष्ट्रिय गौरवका आयोजनाको काम नरोक्न निर्देशन दिएपनि बन्दाबन्दीको बहाना पारेर निर्माण व्यवसायी भागे पछि बर्सातको समयमा सडक अलपत्र परेको छ। पटकपटक म्याद ठप गर्दासमेत् काम नगरेपछि आफूले संसद्‌मा आवाज समेत उठाएको बागलुङका सङ्घीय सांसद डाक्टर सूर्य पाठकले बताए।

त्यसो त बागलुङको अक्षेते खण्डको सडक निर्माणको जिम्मेवारी लिएकै सिद्धि शाही कन्स्ट्रक्सनले रुकुम खण्डमा समेत ठेक्का लिएर अलपत्र पारेको स्थानीय रामप्रसाद घिमिरेले बताए।

मध्यपहाडी राजमार्गको बागलुङ खण्डको १ सय ४१ किलोमिटर सडक मध्य अव ४२ किलोमिटर सडक कालोपत्रे गर्न बाकी छ।

अन्य सम्बन्धित समाचार:  तारकेश्वरमा फेरि देखियाे बर्डफ्लु

पाँचथर जिल्लाको पूर्वी भेगमा पर्ने चियो भञ्ज्याङबाट सुरु भई बैतडी जिल्लाको झुलाघाटमा गएर टुङ्गिने यस मध्यपहाडी लोकमार्ग निर्माणमा ठेकेदार कम्पनीको ढिलासुस्ती, निर्माण सामाग्रीको अभाव, मुआब्जा विवाद लगायतका कारणले काम समयमा सकिन सकेको छैन।

चियाभन्ज्याङ देखि झुलाघाटसम्म पुग्दा यो राजमार्गले पहाडका ३९ जिल्लामध्ये २४ जिल्ला पार गर्छ। ती जिल्लामध्ये पनि १९ जिल्लाका सदरमुकाम छिचोलेर जाने भएपनि केही खण्डको काम सुस्त गतिमा भएको छ। कुल १ हजार ७ सय ७६ किलोमिटरको यस लोकमार्गको बागलुङ खण्डमा मात्रै १ सय ४१ किलोमिटर पर्छ।