सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा थप १९५ कोरोना संक्रमित

डडेल्धुरा। सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप १ सय ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा २ जना, त्रिभुवन शिक्षण अस्पतालमा ६३, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ३२ र धनगढी स्थित कोरोना परिक्षण प्रयोगशालामा गरिएका परीक्षणमा थप ९८  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा डडेल्धुरा र दार्चुलाका १।१ जना रहेका छन्।

त्रिभुवन शिक्षण अस्पतालमा गरिएको परीक्षणमा बाजुराका ६४ जनामा कोरोना सङ्क्रमण देखिएको छ। त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा बाजुराका ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

अन्य सम्बन्धित समाचार:  देशभर थप ६६ जनामा कोरोना संक्रमण पुष्टि

यसअघि आइतबार मात्रै धनगढी स्थित सेती कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ९८ कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा हेमराज पाण्डेद्धारा जारी गरिएको सूचना अनुसार थपिएका सङ्क्रमित मध्ये कैलालीको मोहन्यालका ७, धनगढीका १०, कैलारीका १० र भजनीका २ जना रहेका छन्।

त्यस्तै डोटीको आदर्श गाउँपालिकाका १९, पूर्वीचौकीका ४५, केआइसिंहका २, कुमारीकोटका २ र दिपायल सिलगढीका १ जना रहेका छन्। योसँगै सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार २ सय ७१ पुगेको छ। सङ्क्रमित मध्ये ६ जनाको मृत्यु भएको छ।