भारतको धौलीगङ्गा बाँध खोलियो, सतर्क रहन आग्रह

डडेल्धुरा। भारतको धौलीगङ्गा जलविद्युत परियोजनाको बाँध खोलिएसँगै महाकाली नदीको जलस्तर बढेको छ। बाँध खोलेसँगै महाकाली नदीमा जलस्तर बढेपछि तटीय क्षेत्रमा जोखिम बढेकोले सतर्क रहन आग्रह गरिएको छ।

बाँध खोलेसँगै महाकालीको तटीय क्षेत्र पर्ने बैतडीको सेरादेखि कुस्मतघाट सम्मका नागरिकलाई नदी छेउछाउ आसपास नजान आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए।

यस्तै धौलीगङ्गा जलविद्युत परियोजनाको बाँध खोलिए सँगै दार्चुलाको व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्म तटीय क्षेत्रमा पनि खतरा बढेको छ। बाँध बन्द नगर्दासम्म सो क्षेत्रका नागरिकलाई सतर्क भएर रहन दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले आग्रह गरे।

बाँध खोलेसँगै नदीमा जलस्तर बढेको महाकाली नदी जलसतह मापन केन्द्र दत्तुले जनाएको छ। सोमबार राती १२ बजेदेखि खुल्ला गरिएको परियोजनाको बाँध मङ्गलबार बेलुका पौने ७ बजेसम्म रहने एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेसनले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  राष्ट्रपतिद्वारा फागुन २३ गते संसद् अधिवेशन आह्वान