टीका खतिवडा, इलाम।
सरकारले यतिबेला लक डाउन गरेको छ। लक डाउनको समयमा अत्यावश्यक काम बिना घरबाहिर ननिस्किन आग्रह गरिएको छ। तर इलामको भिडभाडका दृष्य देख्ने जो कोहीलाई लक डाउन सकिएको भान पर्छ।
इलाम बजारमा कोरोना भाइरसको संक्रमण नभएकै झै मानिसहरुको चहलपहल देखिन्छ। हाट भर्न आएका स्थानीयले गर्दा भीडभाड बढ्दै गएको छ। अन्य दिन पनि सार्वजनिक सवारी समेत प्रशस्तै गुड्न थालेका छन्। बजार भर्न आएकाहरू स्वयं आफैँ पनि लक डाउनको वेबास्ता गर्दै हिडिरहेको पाइन्छ। ‘लक डाउन सकिए जस्तो भएछ यसो हेर्दा त ’ तरकारी किन्न आएका स्थानीय सुमन राई भने। उनलाई इलाम बजारको दृष्य देख्दा लक डाउन खुले झै लागेको छ।
सरकारले अत्यावश्यक बस्तु किनमेल गर्न पनि अनिवार्य एक मिटरको दूरी कायम गर्न भनेको छ। तर पालना भएको देखिन्न। मानिसहरु हात समाएर नै हिडिरहेका दुश्य देखिन्छ।
तराकारी, फलफूल, किराना लगायत सबै पसलहरू खुलिसकेका छन्। सामाजिक दूरी कायम नभएको इलाम बजारका केशव खनालको भनाई छ। सामाजिक दूरी कायम गराउन उनले प्रशासन समक्ष माग गरे।
यता होटल एशोसिएसन इलामका अध्यक्ष देबी पौडेलले इलाममा लक डाउन नभएको बताए। उनले जिल्लामा भित्रिने तरकारी लगायतका बस्तुहरूले कोरोना भित्र्याउने भन्दै चिन्ता व्यक्त गरे। इलाम बजारमा बाहिरी जिल्लाहरुबाट तरकारी तथा फलफूल आयात भइरहेकाले छ।
इलाम उद्योग वाणिज्य संघले लक डाउन खुकुलो भएपनि अनिवार्य स्वास्थ्य सामाग्री प्रयोग गरेर मात्र बजार खुलाउन भनेको बताएको छ। वाणिज्य सङ्घ इलामका अध्यक्ष ईश्वर चिपालुले अनिवार्य सेनिटाइजर वा साबुन पानी सहित सामाजिक दूरी कायम गराएर पसल खोल्न भनेको बताए।
सरकारले आगामी साउन ७ गतेसम्म लक डाउन बढाएको छ।त्यसमा निजी सवारी र मोटरसाइकलमा एकजना मात्र बस्न पाउने नियम राखेको छ। सो नियमको उलङ्घन गर्दै मोटरसाइकलमा दुईजना मात्र हैन भाडामा गाडीहरू समेत प्रशस्तै चल्न थालेका छन्।
लक डाउनका कारण जनतालाई सास्ती भएपछि जनतालाई सहज हुने गरि बजार खुल्ला गरिएको जिल्ला प्रशासन कार्यालय इलामका सूचना अधिकारी सफल पोर्तेलले बताए। उनले जिल्ला स्थित स्थानीय सरकार, वाणिज्य सङ्घ लगायतसँग समव्नय गरेर अघि बढ्ने गरेको बताए।
अत्यावश्यक सामाग्री किनमेल गर्न जनतालाई सहज हुनै पर्छ। तर सरकारले तोकेको सामाजिक दूरी कायम गराउन प्रशासनले ध्यान पुर्याउनु पर्नेमा स्थानियले आवाज उठाउन थालेका छन्।