नागरिकता विधेयकलाई लिएर प्रदेश २ मा विरोध प्रदर्शन

बटुकनाथ झा, जनकपुरधाम।

नागरिकता विधेयकका विभेदकारी प्रावधान हटाउन माग गर्दै जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश २ मा प्रदर्शन गरेको छ। विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अङ्गीकृत नागरिकता दिने प्रावधान विरुद्ध प्रदर्शन गरिएको जसपाले जनाएको छ। प्रदर्शनका क्रममा उनीहरूले जातीय विभेद अन्त्य गर्नुपर्ने, नागरिकता विधेयकका विभेदकारी प्रावधान खारेज गर्नुपर्ने भन्दै नारा लगाएका थिए।

विवाह गरेर आउने विदेशी महिलालाई नागरिकता लिन सात वर्ष कुर्नु पर्ने प्रावधान मधेश प्रतिको विभेद र नियन्त्रण गर्ने षडयन्त्र रहेको भन्दै जसपा नेपालले शक्ति प्रदर्शन गर्दै विरोध गरेको छ।  मङ्गलवारको विरोध जुलुसमा समाजवादी पार्टीका सचेतक उमा शंकर अडगरिया सहित प्रदेश २ सरकारका मन्त्रीहरू देखि केन्द्रिय देखि स्थानीय तह सम्मका नेता कार्यकर्ताहरुको बाक्लो सहभागिता थियो।

“नागरिकता विद्येयक खारेज गर, ओली तिम्रो पाराले दुःख पायो साराले, जसपा नेपाल जिन्दावाद” विरोध प्रदर्शनको मुख्य नारा देखियो। जनक चोकवाट सुरु भएको जुलुस जानकी मन्दिर, भानुचौक हुदै पुनः जनक चोकमा आएर कोणसभामा परिणत भएको थियो।

नागरिकता विद्येयकका कारण मधेश र भारतको मात्र नभई नेपाल भारतकै सम्बन्धमा पनि असर पर्ने र यसले देशको वातावरण नै खल्बलिने उनीहरूले बताए। कोणसभामा बोल्ने वक्ताहरूले मधेश र भारतको विस्तारित पारिवारिक, सांस्कृतिक सम्बन्ध देख्न नसकेर केपी शर्मा ओली आतीएकाले यस्ता अनावश्यक निर्णयहरू गर्न थालेको बताए।

अन्य सम्बन्धित समाचार:  सरकारको नेतृत्व परिवर्तन हुँदैन: मुख्यमन्त्री राई

प्रदेश २ केन्द्रित षडयन्त्रहरु असफल भएको कारण प्रधानमन्त्री ओलीले विरोधको वातावरण बनाई पहाडको सेन्टिमेन्ट लिन चाहेको उनीहरूको आरोप छ। जनकपुरधामको विरोध प्रदर्शनमा बोल्दै प्रतिनिधिसभा सांसद उमा शङ्कर अडगरियाले मधेशको महिला मात्र नभई युवाको भविष्य समेत समाप्त गर्न विद्येयक ल्याइएको बताए।

प्रदेश सांसदहरू परमेश्वर साह र रामअशिष यादवले पौराणिक काल देखिको मधेश र भारतको सुमधुर सम्बन्धलाई समाप्त गर्न रोटीबेटीको सम्बन्धमा दरार उत्पन्न गर्न खेल खेलिएको बताए। प्रदेश २ का मन्त्रीहरू जितेन्द्र सोनल, ज्ञानेन्द्र यादव शैलेन्द्र प्रसाद साह सहितकाले समेत जुलुसमा सहभागि भएर विरोध जनाएका छन्।

नागरिकता विद्येयकका कारण मधेश र भारतको मात्र नभई नेपाल भारतकै सम्बन्धमा पनि असर पर्ने र यसले देशको वातावरण नै खल्बलिने अन्य जसपा नेता कार्यक्रर्ताहरुको भनाइ छ। जसपा नेताहरु भन्छन्, ‘ओलीले आफ्नो सत्ता जोगाउन भारतको विरोध गर्ने एकमात्र अस्त्र बुझेकाले भारतको विरोध गर्छन र भारतसंगको सम्बन्ध प्रभाव पार्ने कामहरु गरेर पहाडमा सहानुभुति खाने काम मात्र गर्छन।’

उनीहरूले ओलीको षडयन्त्रमा पहाड र हिमालका जनता फँसेकाले देशमा भएको परिवर्तन सार्थक हुन नसकेको गुनासो गरेका छन्। जसपाले प्रदेश २ को जनकपुरधाम सहित सप्तरीको राजविराज, सिरहाको लहान र सिरहा, महोतरीको जलेश्वर, सर्लाहीको मंलगवा, रौतहटको गौर, बाराको कलैया र बिरगंजमा एकै साथ प्रदर्शन गरेको छ।

अन्य सम्बन्धित समाचार:  राजदूतद्वयद्वारा पद तथा गोपनीयताको शपथ

सप्तरीमा देखि पर्सा सम्म केन्द्रीय नेताहरुको नेतृत्वमा प्रदेश सरकारका मन्त्रीहरुको समेत सहभागितामा विरोध प्रदर्शन गरिएको छ। जनकपुरधाममा आयोजित विरोधसभालाई जसपाका सांसद उमा शंकर अडगरिया, प्रदेश सांसद परमेश्वर साह, रामअशिष यादव, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह, नेतृ ममता चौधरी, जितेन्द्र यादव सहितकाले सम्बोधन गरेका थिए।

 

सप्तरी सदरमुकाम राजविराजमा पनि विरोध जुलुस

सप्तरी सदरमुकाम राजविराजमा पनि जनता समाजवादी पार्टीले विरोध जुलुस निकाल्यो। राजविराज स्थित शिव मन्दिर परिसरबाट सयौंको सख्यामा निकालिएको विरोध जुलुस नगरको विभिन्न भागको परिक्रमा पश्चात् जनआन्दोलन चोकमा पुगेर विरोध सभामा परिणत भएको थियो।

सो कोण सभामा जनता समाजवादी पार्टीका नेताहरुले नागरिक संशोधन विधेयक फिर्ता नलिए आन्दोलन चर्काउने चेतावनी दिए। सभामा प्रदेश न २ का सामाजिक विकास मन्त्री नवल किशोर साह रामवावुले नेपाल र भारतको रोटीबेटीको सम्बन्ध टुटाउन नागरिकता विधेयकलाई संशोधन गर्न लागिएको आरोप लगाएका छन। मन्त्रीले नागरिकता संशोधन विधेयक विभेदकारी रहेकाले प्रदर्शनमा उत्रिनु परेको बताउदै नागरिकता संसोधन विधेयक ल्याएर सरकारले विभेद गर्न खोजेको आरोप लगाए।