भौतिक दूरी कायम गर्न गोलो घेरा अभियान भिडियोमा



शम्भु दाहाल, झापा। झापाका १५ वटै स्थानीय तहमा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि लक डाउनलाई अझै कडा पार्न थालिएको छ। बजारहरूमा लक डाउन उल्लङ्घन हुन थालेपछी सामाजिक दूरी कायम गर्न साङ्केतिक अभियान पुनः सञ्चालन गर्न थालिएको हो। कोराना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपनि सामाजिक दूरी कायम नगर्ने र मास्कको समेत प्रयोग नगर्नेको सङ्ख्या बढ्न थालेको छ।

जसका कारण जोखिम बढेको भन्दै सुरक्षित रुपमा दैनिक क्रियाकलाप सञ्चालन गर्न बिभिन्न संघ संस्थाले संयुक्त रुपमा साङ्केतिक अभियान सञ्चालन गरेका छन्। सर्वसाधारणले लकडाउनलाई सामान्य लिन थालेपछि हरेक पसल अघि भौतिक दूरी कायम गर्न गोलो घेरा अनिर्वाय बनाउन शुरु गरिएको इप्रका बिर्तामोड, झापाका प्रहरी नायब उपरीक्षक मुकुन्द्र प्रसाद रिजालले बताए।

अन्य सम्बन्धित समाचार:  थप २५५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १६,४२३

प्रहरीको आह्वानमा शुरु भएको अभियानमा बिर्तामोडका सङ्घ संस्थाको पनि साथ छ। बिर्तामोड नगरपालिका, बिर्तामोड उद्योग वाणिज्य सङ्घ, नेपाल चेम्बर्स अफ कमर्स झापा, रोटरी क्लब लगायतका दर्जन बढी संस्थाले संयुक्त रुपमा पसल अगाडि सामाजिक दूरी कायम गर्न गोलो घेरा बनाउने र अन्य स्वास्थ्य सुरक्षाका उपाय अपनाएर मात्रै व्यवसाय सञ्चालन गर्न अनुरोध गर्दै आएको बिर्तामोड –५, झापाका वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बताए।

झापाका १५ वटै स्थानीय तहमा कोरोना सङ्क्रमित भेटिएका छन्। तर लक डाउन खुकुलो भएसँगै झापाका बजारमा सर्वसाधारणको चहलपहल बढेपछि आफ्नै कमजोरीका कारण कोरोना भाइरस समुदायमा फैलने जोखिम बढेको छ। यस्तो अवस्थामा सर्व साधरण आफैँ पनि सचेत हुन हुन पर्ने देखिन्छ।