दुई पाइलटले चलाएको जहाज अवतरण होला या दुर्घटना ?



काठमाडौं।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहानै मन्त्रिहरुको चहलपहल थियो। प्रधानमन्त्री केपी शर्मा ओली निकट मन्त्रीहरुको विषेश जमघटमा दर्जनौँको संख्यामा स्थायी समिति सदस्य पनि थिए। कोरोनाको कहरका बिच पनि मन्त्रीहरू बालुवाटारमै चिया खान पुगेका थिए। सबैलाई राखेर प्रधानमन्त्री ओलीले मनको वह पोखे। आफ्नै भनिएकाहरुले आफूलाई गरेको व्यवहारले चित्त दुखेको बताए। मन्त्रीहरूसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले  यसरी अपमान गर्ने कुराले गलत परम्पराको विकास हुने तर्क गरे।

कतिले हो, हजुर भन्दै सही थपे, कति मौन नै रहे। जे जस्तो भएपनि प्रधानमन्त्री ओलीको राजिनामा पाट्री भित्रकै अर्का अध्यक्षले राजीनामा नै मागी सकेपछि राजनीति नतात्ने कुरै भएन। छलफलमा प्रधानमन्त्री ओलीले पार्टीभित्र विश्वासको सङ्कट बढ्दै गएको तर्फ चिन्ता व्यक्त गरेको एक नेताले बताएका छन्। प्रधानमन्त्रीले पाटी सङ्कटको अवस्थामा रहेको भन्दै मिलेर जानु पर्ने समयमा कलह निम्ताउन खोजिएको बताएको बुझिएको छ।

अन्य सम्बन्धित समाचार:  मृत भनिएका बिरामी निको भएर फिर्ता

बैठकमा सहभागी रहेका नेताहरूसँग प्रधानमन्त्रीले पार्टीमा विश्वासको सङ्कट बढ्दै गएको भन्दै यस अवस्थामा तपाईंहरूको पनि भूमिका हुनुपर्यो, यसमा  तपाईंहरूको धारणा के छ भनेर सोधेको बुझिएको छ। उनको प्रश्नपछि बैठकमा सहभागी नेताहरुले प्रधानमन्त्रीलाई गम्भीर भएर सोच्न र अघि बढ्न सुझाव दिएको बुझिएको छ।

बैठकमा स्थायी समिति सदस्य घनश्याम भुसालले पार्टी कमिटीको निर्णय मान्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताएको बुझिएको छ। त्यसैगरी मृत्यु जितेर आएका नेताहरूले फराकिलो मन बनाउनु पर्ने सुझाव प्रधानमन्त्रीलाई स्थायी समिति सदस्य एवम् पर्यटनमन्त्री योगेश भट्टराईले दिएको बुझिएको छ।

अर्का स्थायी समिति सदस्य सत्यनारायण मण्डलले सबैका धारणा सुन्न प्रधानमन्त्रीलाई सुझाव दिएको बुझिएको छ।

मङ्गलबारको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहालले १७ जना स्थायी समिति सदस्यको उपस्थितिमा प्रधानमन्त्रीको राजीनामा मागेपछि नेकपा भित्र आन्तरिक किचलोको सुरुवात भएको छ। दुई पाइलटले चलाएको जहाज सफल अवतरण होला या बिचमै दुर्घटना  त्यो भने नेकपा भित्रको बाँकी छलफलले नै तय गर्ला।

अन्य सम्बन्धित समाचार:  बेलायतमा एक नेपाली महिलालाई नवजात शिशु हत्या अभियोग

“पार्टी एकताको मर्म र भावनालाई आत्मसात् गरौँ। सबैबाट भएका कमीकमजोरी सच्याउने प्रण गरौँ। पार्टी र सरकार दुवैलाई अझ बलियो बनाऔँ।” सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको जारी स्थायी कमिटी बैठकमा शीर्ष नेताबीच उत्पन्न किचलोप्रति चिन्ता व्यक्त गर्दै सो पार्टीका कार्यकर्ता र शुभेच्छुकले सामाजिक सञ्जालमा गुटफुट र पार्टीभित्रका अवसरवादको विरोध गर्दै आन्तरिक एकताका लागि आह्वान गर्दै भनेका छन्, “दुनियाँ हँसाउने गतिविधि तत्काल बन्द गरौँ।” त्यसो त प्रधानमन्त्रीको राजीनामा संगै कार्यकर्ताहरुबाट अनेक किसिमको सल्लाह सुझाव आइरहेको छ।