जनकपुर जानेले १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने



बटुकनाथ झा, जनकपुरधाम।

कोरोना भाइरसको संक्रमण निरन्तर फैलिरहेकोले यसबाट नागरिकलाई बच्न र बचाउन थप सर्तकता अपनाइएको छ।
जिल्ला प्रशासन कार्यालय धनुषाले बाहिरबाट आई जिल्ला प्रवेश गर्नेहरूलाई अनिवार्य रूपले १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने भएको छ। कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारलाई मुलुकभर प्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रवेश गर्ने व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए। कोरोना संक्रमितको सङ्ख्या बढिरहेका बेला यस जिल्लामा थप सङ्क्रमण भित्रिन नदिन यस्तो कडाइ गरिएको उनले बताए।

“जिल्लामा थप संक्रमण फैलिन नदिन यस्तो निर्णय”

कोरोनाको बढ्दो सङ्क्रमण भएको जनकपुर लगायतका काठमाण्डौ, पोखरा, विराटनगर, नेपालगञ्ज, बुटवल, भैरहवा, वीरगञ्ज, धनगढी जस्ता बढि जनघनत्व भएका शहर तथा जिल्ला सदरमुकामहरूमा आवतजावत गर्दा अनिवार्य रुपमा १४ दिन स्थानीय तहका क्वारेन्टाइन अथवा होम क्वारेन्टाइनमा बस्ने व्यवस्था भएपछि मात्र आवागमनको अनुमति दिनेगरी व्यवस्था मिलाउन गृह मन्त्रालयले निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय धनुषाका सूचना अधिकारी समेत रहेका प्रशासकीय अधिकृत गणेश मिश्रले बताए।

अन्य सम्बन्धित समाचार:  थप २५५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १६,४२३

“जिल्लामा २ हजार १ सय १५ बेड क्षमताको ५२ वटा क्वारेन्टाइन निर्माण”

कोरोना भाइरसको बिश्वभर महामारी फैलिएसँगै यस जिल्लामा २ हजार १ सय १५ बेड क्षमताको ५२ वटा क्वारेन्टाइन निर्माण गरिएको छ। यस जिल्लामा अहिले ६ सय ३८ जना क्वारेन्टाइनमा र ४ सय जना होम क्वारेन्टाइनमा छन् भने १ सय ४५ बेड क्षमताको आइसोलेसनमा ८१ जनालाई राखिएको छ।