बूढा नेताहरुलाई गाली मात्रै गरिरहने कि बिकल्प खोज्ने?

Prabhu Bank

“कोही तबेलामा जन्मदैमा घोडा हुन सक्दैन।” आइरिस राजनीतिज्ञ अर्थर वेल्स्ले वेलिंगटनलको यो भनाई अचेल हाम्रै देशका नेताहरूका लागि बडो सुहाउँदो लाग्न थालेको छ। नेपालको इतिहासमै सबैभन्दा शक्तिशाली कार्यकारी प्रधानमन्त्री ओली। कम्युनिस्ट पृष्ठभूमि, एकताको सन्देश र समृद्ध नेपालको दुहाइ दिएर दुईतिहाइ नजिक पुगेका भाग्यमानी ओली जसले सिङ्गो नेपाल र नेपालीलाई भाग्यमानी बनाउन सक्थे उनैले फेरि अहिले आएर कागजमा नक्सा देखाएर त्यसैको बलमा कैयौँ हर्कत गरेर पनि आफूलाई राजनेता मान भनेर भनिरहेका छन्।

Saftey Pads

पछिल्लो पटक प्रधानमन्त्रीले आफ्नो पद र कदको मर्यादा बिर्सेर एउटा बाल सुलभत्ता प्रदर्शन गरेका छन्, त्यो पनि दिल्लीले मलाई हटाउँदैछ भनेर। सामान्य कूटनीति बुझ्नेले पनि एउटा सार्वभौमसत्ता सम्पन्न देशको प्रधानमन्त्रीको यो रोदनलाई बुद्धिमत्ता पूर्ण अभिव्यक्ति भन्दैन।

हो, इतिहासको यो घडीमा उनले हराएको या हडपिएको जमिनको नक्सा जारी गर्नमा नेतृत्वदायी भूमिका खेलेकै हुन्, उनी नभएको भए यो विषय सायदै उठ्थ्यो भन्ने कुरा पनि मानौँ । तर नाकाबन्दी राष्ट्रवादको भर्याङ चढेर सत्तामा पदार्पण गरेका ओलीको बोलीमा अचेल फ्रान्सेली राजा लुइ चौधौँले भनेजस्तै ‘म नै राज्य हुँ’ भन्ने घमण्ड देखिएको छ। सङ्कटको घडीमा एक ढिक्का भएका आफ्नै दलका र प्रतिपक्षी दलहरूको भूमिकालाई दुई हप्तामै भुलेर ओलीले फेरि देशको अभिभावकीय भूमिकाबाट अभिजातीय भूमिकामा पदार्पण गरेका छन्।

पारवहन सन्धि, संसदबाट नयाँ नक्सा पास लगायत नागरिकता विधेयक जस्ता कुरामा महत्वपूर्ण भूमिका निभाएका प्रधानमन्त्री ओलीले यस्ता दर्जनौँ काम गर्न सक्थे तर चारैतिरबाट स्वार्थ समूहहरूको घेराबन्दीमा परेर उल्लेख्य काम गर्न सकेका छैनन्।

पछिल्लो अभिव्यक्तिले प्राप्त हुनै लागेको उपलब्धि पनि गुम्ने खतरा बढेको मात्र हैन, कुटनैतिक अदूरदर्शिता छर्लङ्ग भएको छ। अब त यस्तो लाग्न थालेको छ कि उनले देखाउने राष्ट्रवाद केवल छद्म राष्ट्रवाद मात्र हो।

नक्सा राष्ट्रवादले फेरि एकपटक प्रधानमन्त्री ओलीलाई लोकप्रिय बनाएजस्तो देखिए पनि एक पछि अर्को अक्षमताले गर्दा पार्टीभित्र र बाहिर उनको आलोचना बढेको छ। उनको अहंकारले नेकपाभित्रै अर्को पराकम्पन गएको छ। आफू नै पार्टी र आफू नै सबथोक हूँ भन्ने घमण्ड उनकै लागि प्रत्युत्पादक हुँदै गएको छ।

अमुक पार्टी फुटाउन अध्यादेश ल्याउने, सांसद किन्न खोज्ने?

जता गयो त्यतै आफ्नो प्रशंशा मात्रै गर्ने र गर्न लगाउने र अरूलाई अज्ञानी साबित गर्ने स्वभावले उनलाई उल्टो बाटो हिडाएको उनलाई हेक्का छैन। यही घडीमा उनलाई राजनेता बनाउनेहरुले हो मा हो मिलाई भक्तिगान गरिरहे पनि उनी अहिले क्रमश: एक्लिरहेको आभास हुन्छ।

प्रधानमन्त्री ओलीमा आलोचनामा अनुदार र प्रशंशामा लठ्ठ पर्ने स्वभाव बढ्दै गएको छ। आफ्नै सहयात्री माओवादी केन्द्रसंगको एकतामा उनी ख़ुशी छैनन् तर यही एकता नै उनको सत्तारोहणको कसी हो भन्ने कुरा उनी अस्वीकार गर्छन्। अहिले पार्टी फोडेर पुरानै एमाले ब्युताउने प्रपञ्च पनि चलिरहेको हो कि जस्तो देखिन्छ।

अन्य सम्बन्धित समाचार:  नेपालमा घना बस्तीमा कोरोना तिव्र रुपमा फैलिँदै

त्यसो त ओली बेठिक र नेकपाका अरु सबै ठिक भन्ने पनि होईन। एकले अर्कोलाई भित्तोमा पुर्याउने र आफू हावी हुने चरित्रमा केपी ओली र पुष्पकमल दाहाल उस्तै हुन्। आफ्नो पार्टीबाट मोहन वैद्य, बाबुराम भट्टराई र नेत्रविक्रम चन्दलाई सेबोटेज गरेर ३२ बर्षदेखि एकछत्र अध्यक्ष पड्काईरहने प्रचण्डको चलखेल पनि देश र जनताको हितमा हैन आफ्नै स्वार्थको लागि छ भन्न कठीन छैन।”

देउवाको त झन् आशा नै गर्न ब्यर्थ छ। सिंगों कांग्रेस उनकै खल्तीमा बन्दी छ। पार्टीका देशदेखि बिदेशका संगठनहरु मृत छन्, आन्तरिक लोकतन्त्र कोमामा पुगेको छ, बहुदलको धेरै बर्ष देश चलाएको कांग्रेस पनि बूढा नेताहरुको हर्कतले लोप हुने क्रममा छ।

अब फेरि सत्ताका कार्यकारी ओलीतिरै फर्कौँ। ओलीलाई ठिक मात्र लाग्नुपर्छ, उनले कसैका कुरा सुन्दैनन्। आफू नै अध्ययनशील, आफू नै बिद्वान र सर्वज्ञानी भन्ने उनलाई भ्रम छ। सार्वजनिक खरिद ऐन नै सच्याएर आफू खुशी सोझै खरिद गर्न पाउने संशोधन संसदमा ल्याउन कँस्सिनेदेखि ओम्नी, यतीजस्ता समूहहरुसंग साँठगाँठ गरी उनीहरुका संचालकहरुलाई मालदार निगम या बिभागमा नियुक्ति गर्न ओलीले छोडेका छैनन्। वाईड बडी काण्डमा विवादित दिवंगत मन्त्री रवीन्द्र अधिकारी, सेक्यिरिटी प्रेस ख़रीद प्रकरणमा आरोपित गोकुल बाँस्कोटादेखि स्वास्थ्य सामग्री खरीदमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालको ढाल बन्न उनले खेलेको भूमिका पनि स्मरणयोग्य छ।

त्यसैगरी वालुवाटार जग्गा प्रकरणमा बिष्णु पौडेललाई अंगालो हाल्ने, वाइडबड़ीबारे संसदीय समितिले गरेको ठहरको अस्वीकार गर्ने, आफूखुशी आयोग बनाउने र त्यही आयोग पनि निकम्मा भएको कुरालाई उनले कहिल्यै आत्मालोचना गर्दैनन्। यो स्तम्भ लेख्ने बेलासम्म लगातार यति समूहको पक्ष पोषणमा उनी खुलेरै लागेका छन्। नेपाल वायु सेवा निगमको संचालक समितिमा यति समूहका फुर्वा ग्याल्जेन शेर्पालाई नियुक्त गरेर ऋणमा डुबेको निगमलाई रसातलमा पुर्याउने तर भ्रष्टाचारीको नाक मुख नदेख्ने भाषण दिईरहन्छन् ओलीले।

माधव नेपाल, झलनाथ, प्रचण्ड, भीम रावल लगायतका पार्टीका हस्तीहरुका असन्तुष्टिलाई दिल्लीका दलाल करार गरेर आफूलाई शुद्ध राष्ट्रवादी भनिदेओस् भन्ने स्वैर कल्पनामा छन् प्रम ओली। झट्ट हेर्दा राम्रो गरेको देखिएको नक्सा महात्म्यको आडमा पार्टी र सरकारको नाकै मुन्तिर बिसंगतिका भेलहरु बगाईरहेका छन् ओली।

पार्टीमा थिति, पद्धति सबै निमिट्यान्न पारेर नक्साको पर्दाले नेकपाको नांगिएको अनुहार अब छोपिन सक्दैन। आफ्नै कार्यकर्ताको आलोचनालाई दिल्लीबाट चलेको भन्नु भनेको ओलीको दिवालियापन हो। कुर्सीका लागि पार्टी फोड्न समेत तयार रहनेहरुबाट के आशा गरिरहनु?

त्यसो त यी सबै बिसंगतिको धेरथेर दोषी हामी पनि छौँ। राशिफल हेरेर भविष्यबारे निर्णय गर्छौ, भाषण सुनेर नेताबारे निर्णय गर्छौ, अनुहार हेरेर ज़िन्दगीबारे निर्णय गर्छौँ अनि पछुताउने बाहेक अरु के नै हुन्छ र?

अन्य सम्बन्धित समाचार:  आठ दिनसम्म मौन रहेका ओली र प्रचण्डबीच छलफल

भनिन्छ मान्छेले कमजोरीबाट जति सिक्न सक्छ त्यति कोही कसैबाट सिक्न सक्दैन। तर हाम्रा प्रधानमन्त्रीले आफ्ना कमजोरीबाट कहिल्यै सिक्न सकेको देखिदैन। आफ्ना कमजोरी लुकाउन अर्काका कमजोरीहरु कोट्याउन खोज्ने केटाकेटी पारा देखिएको छ प्रधानमन्त्री ओलीमा। अरु दलका बूढा नेताहरुको ताल पनि सत्ता पाउँदा सबै आफू ठिक र नपाउँदा सबै बेठिक भन्ने छ।

कोरोना महामारीलाई एकैछिन बिर्सने हो भने वास्तवमा देशमा अहिलेजस्तो उचित वातावरण कहिल्यै थिएन। तर यति राम्रो अवसरलाई ओलीले उपयोग गर्नुको सट्टा पार्टीलाई उल्टो दिशातर्फ हिडाउन मरिमेटेका छन्। आफू र आफ्नो पद जोगाउन जे जस्तो प्रलय आए पनि थाम्न सक्छु भन्ने भ्रम छ उनलाई।

पार्टी प्रमुख र सरकार प्रमुख दुबै आफ्नो हातमा लिएर उनमा बढेको शक्ति उन्मादले अहिले सबैलाई भुसुना देख्न थालेको छ। तर बिस्तारै नेकपामा भएको असन्तोषको बम पड्किनै आँटेको छ। यदि यो पड्कियो भने यसले ओलीलाई मात्र हैन देशलाई नै अपाङ्ग बनाउने निश्चित छ।

ओली या प्रचण्ड जो सुकै प्रधानमन्त्री भए पनि आम मान्छेहरुलाई फरक पर्दैन। मुख्य कुरा प्रवृति फेरिनुपर्ने छ। त्यो प्रवृति पार्टी फोडेर या ओलीलाई हटाएर सुध्रिन्छ भन्ने त छैन तर ओलीले अब अरुका लागि मार्ग प्रशस्त गर्नुपर्ने बेला आएको छ।

अहिले पनि ठूला पार्टीहरुमा भएका युवा नेताहरु काठको घोडा बन्ने बाहेक केही गर्न सकेका छैनन्। सत्तरीको शेरोफेरोमा भएका बृद्ध नेताहरुले पालै पालो तेरो मेरो भनिरहँदा तिनीहरुको साक्षी बन्ने बाहेक केही गर्न सकेका छैनन् युवाहरुले। फलाम तातेको बेला पिट्यो भने मात्र हतियार बनाउन सकिन्छ, सत्ताका लागि वयोबृद्धहरु लुछाचुँडी गरिरहँदा युवाहरुले आफ्नो स्पेश बनाउन सकेनन् भने देश अझै समस्यामा बाँचिरहने छ।

कुरा प्रष्ट छ, यी वयोबृद्ध नेताहरु आफ्नो न्वारान देखिको बल लगाएर सत्तामा टिक्छन्,पालैपालो प्रचण्ड,माधव, बामदेव,झलनाथहरु मिल्दै, लड्दै जनताको मतमा लात हानिरहन्छन्। हामीहरु यसैगरी प्रयोग भैरहन्छौँ। जनताहरु रोग र भोकले मर्दा मारिदा पनि यिनीहरुलाई सत्ता प्यारो छ।

यो सुन्दर लोकतन्त्र बिरुद्ध नै बिद्रोह हुनु पूर्व नै राजनीतिमा आफ्नो मात्रै रजगज गरेका वयोबृद्धहरुलाई मुक्ति दिने बेला आएको छ। एकपटक छातीमा हात राखेर नेपाल आमा सम्झौँ। सत्ताको स्वादमा रमाउनेहरुले जनताका संकट टार्छन भन्ने नसोँचौँ।

अहंकारी ओली मात्र हैन, अहिले सबै परीक्षित अनुहारहरुलाई बिदा गरेर एकपटक राजनीतिमा नयाँ पुस्तालाई मौका दिउँ। तयार छौँ त हामी? कि गाली मात्रै गरिरहने?

Maruti Cement