वैकल्पिक राजनीति दम्भ हो?

Prabhu Bank

Sagoon

केही बर्ष अघिदेखि बहसको बिषय बनिरहेको थियो बैकल्पिक राजनीति। नेपालमा यसको सम्भावना र औचित्यबारे धेरै बहसहरु भईरहेका थिए। बाबुराम भट्टराईले नयाँ शक्तिको नाममा बैकल्पिक शक्ति भनेर बहस छेड़ेपनि त्यसलाई बैकल्पिक शक्ति मान्न धेरै स्वतन्त्र ब्यक्तिहरु तयार थिएनन्।

Saftey Pads

बैकल्पिक शक्तिमा हिजो कुनै दाग नलागेका तथा स्वच्छ छविका ब्यक्तिहरु लाग्नुपर्छ भन्ने मनसाय थियो त्यसबारे चासो राख्नेहरुको। चार बर्ष पहिले २०७३ साउन २ गते रवीन्द्र मिश्रले एउटा स्टाटस लेखे, “जिन्दगीमा निकै महत्वपूर्ण निर्णय लिदैछु, जसका लागि तपाईहरुको साथ सदैव रहने विश्वाश गर्दछु।”

यो पङ्तिकारले त्यो बेला रवीन्द्र मिश्र लगायतले गर्न लागेको काममा सधै मन, वचन र कर्मले साथ दिने प्रतिवद्धता देखाएको थियो। रवीन्द्रको परोपकारी पत्रकारिताको प्रशंशक यो पङ्तिकारलाई उनीहरुले साँच्चै के गर्न लागे भन्ने पनि थाहा थिएन, तर जे गरेँ पनि यिनीहरुले जानाजान गल्ती गर्दैनन् भन्ने लागेकोले साथ दिने प्रण गरेको थियो।यही स्टाटस लेखेको अर्को दिन २०७३ साउन ३ गते रवीन्द्रजीकै संयोजकत्वमा साझा पार्टीको गठन भयो।

समृद्धि हाम्रै जीवनकालमा भन्दै ’पद्धति, पारदर्शिता, ईमान्दारी र उत्कृष्टता’को जगमा ‘सु-संस्कृत राजनीति’ को प्रवर्धनको नारा मन नपर्ने कुरै भएन। परदेशबाट सकेको जोड बल गरियो पनि। अब रवीन्द्र हैन साझा पार्टीसंग सामिप्यता भयो।

पार्टी गठनसंगै बिदेशमा पहिलो साझा सद्भाव समूह बनायौँ हामीले। २५ जेठ २०७४ को स्थानीय चुनाव, २०७४ साउन ११ गते विवेकशील नेपाली दलसंगको एकीकरण, मंसिर ५ र १२ को आम चुनाव अनि २०७५ पुस २७ पार्टीमा आएको फुटजस्ता सबै घटना परिघटनाले पार्टी ठोक्किदै गईरहेको थियो, माझिदै गईरहेको थियो।

तत्कालीन एमाले, माओवादी र कांग्रेसको बिकल्पको रुपमा स्वच्छ छवि भएका ब्यक्तित्वहरुले साझा पार्टीलाई गरेको सद्भाव साँच्चै मनन गर्न लायक थियो। म पनि देश बनाउने यो संकल्पमा सधैभरि आजसम्म संगै नै छु।

तर,

पार्टी गठनको चार बर्षसम्म महाधिवेशन सम्म गरिएको थिएन त्यसैले गत फागुनमा लुम्बिनी भेला भयो, तर भेलामा रेला भयो, केटाकेटी खेला भयो।

भ्रष्टाचार बिरोधी दस्ता, जन परिचालन, संगठन निर्माण, युवा परिचालन, स्वरोज़गार र सुशासन सम्बन्धि के के न नयाँ कुरा आउलान् भनेर १०.५ लाख खर्च गरेर गरिएको बैठकमा सुन्दा पनि हाँस्यास्पद लाग्ने प्रस्ताव पारित भयो, “विवादको रुपमा रहेका धर्म निरपेक्षता र हिन्दु राष्ट्रको ब्यवस्थालाई जनमत संग्रहद्वारा टुंगो लगाउने।”

बेला न कुबेला एउटा सु-संस्कृत राजनीति गर्ने पार्टीले यस्ता हावादारी प्रस्ताव पारित गर्दा मान्छेहरु गललल हाँसे, पारित प्रस्तावको प्रतिरक्षा गर्न नसकेर पहिलोपल्ट प्रवक्ताको ओँठ तालु सुक्यो। नेतृत्वले काठमाण्डौमा सुकिला लुगा लगाएर मिडियाबाजी बाहेक खासै केही गरेन।

नयाँ पार्टी, थोरै सदस्यहरु त्यसमाथि फुच्चे पार्टीको केन्द्रीय कार्यालयको भाडा मात्र मासिक दुई लाख। नेताहरु प्लेनमा बाहेक यात्रा गर्न नखोज्ने। मिडियामा अन्तर्वार्ता दिन र फेसबुकमा लेख्न सधै तयार तर ग्राउण्डमा टेक्न बिरालोले पानी टेक्न गाह्रो मानेजस्तै गर्ने।

अन्य सम्बन्धित समाचार:  ईः ले तोडे आमरण अनसन, मन्त्रालयले सकारात्मक पहल गरेको निष्कर्ष

यसै बिच पार्टीका प्रभावशाली नेताद्वय डा. सूर्यराज आचार्य र मुमाराम खनालले पार्टी छोडेपछि अन्योलताको थप सिर्जना भएको छ। एउटा सु-संस्कृत राजनीतिको एजेण्डा बोकेको पार्टीमा रहेर बैकल्पिक राजनीतिको वकालत गर्ने हस्तीहरुले अन्तर पार्टी संघर्ष गर्न नसकेर हजारौँ शुभचिन्तकको बिश्वासमा लात हान्ने काम गरेको टुलुटुलु हेर्नु बाहेक केही हुन् सकिएको छैन।

त्यसो त पार्टी पार्टी जस्तो नभएको, आफ्नो कुरा नसुनिएको, पार्टीमा ब्यक्तिवाद हावी भएकोले पार्टी छोडेको कुरा तत्कालिन साझाका प्रवक्ता सूर्यराज आचार्यले बताएका छन। तर वहाँहरुलाई महाधिवेशन सम्म कुर्न धैर्यता किन आएन? राजनीति नै सु-संस्कृत गर्न सिकाउनेहरु बाटै कुन कु-संस्कृत कदम चालियो? किन पार्टी सदस्यहरुलाई यो कटुता बारे जानकारी भएन? नेतृत्त्वले जवाफ दिनै पर्छ भन्ने प्रश्नहरु उठिरहेका छन्। पार्टीमा को र के हावी भएको हो या होईन यसको जवाफ कार्यकर्ताले सुन्न पाउनुपर्छ।

पार्टीलाई शैशवकालमा छोडेर हुर्केपछि आउँछु भन्नु कस्तो माया हो? त्यसैगरी संस्थापन पक्षले पनि म त्याग गरेर आएको हूँ र मैले गल्ती गर्दिन साथै मैले गर्न सक्ने केही बाकी छैन भन्नु कस्तो दम्भ हो? जानकारीमा आएसम्म संयोजक रविन्द्र मिश्रले प्रवक्ताको राजीनामाको कुरा आफैले डिल गरेका हुन्।

प्रवक्ता सूर्यराज आचार्यले मलाइ अनुमति दिनु हुन्छ भने म केन्द्रिय समितिमा मेरा कुरा राख्छु भन्दा पनि रविन्द्र मिश्रले व्यक्तिगत तवरमै कुरा मिलाउने र केन्द्रिय समितिमा नजान प्रवक्तालाई आग्रह गरेका थिए। एउटा पार्टीको सचिवालय सदस्यहरुको समिती र केन्द्रिय समिति भन्दा शक्तिशाली रविन्द्र मिश्र कसरि भए?

त्यसो त पार्टीमा सबै नेताहरु टिका लगाएर आएका हुन, जवाफदेही को संग हुने भन्ने प्रष्ट नै भएन। कार्यकर्तालाई कामका विवरण, कारण र जबाफ दिन पनि नपरेपछि बहस र छलफल हुनै परेन। आफुले भने जस्तो नभए फुट्ने मात्र होइन अहिले सम्म पार्टीमा असहमती जनाउदै पार्टीका बिभिन्न समिति छोडेर जाने व्यक्तिहरु के कारणले छोडेर गए भन्ने आजसम्म किन बाहिर आएन? कार्यकर्तालाई समृद्ध नेपालको सपना देखाएर बिचैमा पार्टी छोडेर हिड्ने परिस्थिति सिर्जना हुन बाध्य पार्ने सबै नेतृत्व मण्डलीले खोई आत्मालोचना गरेको?

अब अर्को तर्फ फर्कौ: दुई तिहाई नजिकको शक्तिशाली सरकार, सपनाहरुको चाङ तर काम फुङफाङ, आफ्नै दलका नेताले सत्ताको बदख्वाईँ गरेको, सिंहदरबारमा भ्रष्टाचारीहरुको ठेलमेल अनि दुई अध्यक्षको बेमेल, महामारीमा कुर्चीको अलापले ईतिहाँसलाई धिक्कार्ने खतरा। गफमा हररर जनताको जीवनस्तर उस्तै।

प्रमुख प्रतिपक्षको के कुरा गर्नु, सभापतिको अधिपतिमा भए जतिको हस् हस्, पार्टी तहस नहस्। आन्तरिक लोकतन्त्र सधै बिदामा, अलाप, बिलाप र चित्कार, सत्ता नभएको पीडामा।

अन्य सम्बन्धित समाचार:  जवानी ज़िन्दाबाद (नारी संस्करण)

अनि यस्तो कठीन बेलामा आफ्नै बल बुता र योग्यता अनि ईमानमा भएका बैकल्पिक दलका नेताहरुको दम्भ, बिज्ञप्तिवाद र भर्चुवल भर्जिनिटीको फगत ब्याख्या, शुभचिन्तकहरु जिल्ल। भ्रष्टाचारीहरु टिल्ल भएको बेलामा पार्टी छोड्ने र छोड्ने वातावरण बनाउने नेतृत्वको हामीले जयजयकार गरिदिनु पर्ने?

सु-संस्कृत राजनीतिमा ब्यक्ति गौण र पार्टी महत्वपूर्ण हुन्छ। हामी सूर्यराज पथ या रवीन्द्रवाद स्थापना गर्नुछैन, देश कसरी संकटबाट समृद्धितर्फ जान सक्छ भन्ने चिन्तन हो हाम्रो। त्यसका लागि नेताहरुले गम्भीर भएर सोँच्नैपर्छ, सु-संस्कृत राजनीति दम्भ, आडम्बर या बिचारको बन्ध्याकरण होईन।

साझा पार्टी यसरी बन्न सक्दैन। पार्टी छोडेर जानेहरुको मूल्यांकन गर्दै गरौँला तर के अब पनि पार्टी काठको घोडा बन्ने? अब पार्टीको सिंग या जुरो आएपछि चेत्ने हो? त्यसो हो भने कहिल्यै बन्दैन यो पार्टी! पार्टी स्थापनाको चार बर्ष पुग्नै लाग्दा पार्टी लगभग शिशु नै छ। अझै कति कुर्ने? राजनीतिक परिपक्वता, आचरणमा शुद्धता र बिद्वता आदिको कुशल संयोजनमा तल उल्लेखित काम तत्काल नगरे देश कहिल्यै बन्ने छैन।

  • पार्टीको आन्तरिक लोकतन्त्र मजबुत गर्ने। सदस्यका कुरा सुन्न सक्ने नेतृत्वको विकास गर्ने।
  • ज़िम्मेवारी बाँडफाँड गर्ने, ज़िम्मेवारी ननिभाउनेलाई कार्यवाही गर्ने।
  • गाउँ तहमा संगठन बिस्तार गर्न राष्ट्रिय अभियान गर्ने।
  • बिचार मिल्ने सबै समूह र पार्टीहरुसंग एकता गर्ने तर बिगतमा भएका गल्ती कमजोरीहरु प्रति परस्पर क्षमायाचना गर्ने।
  • महंगो पार्टी अफिसको बिकल्प खोज्ने।
  • केन्द्रीय नेताहरु बर्षमा ३ महिना समुदायमा जानै पर्ने।
  • स्थानीय निकायदेखि केन्द्र सम्म भएका भ्रष्टाचारहरुको निगरानी गरेर संबन्धित निकायमा झकझकाउनका लागि ‘साझा निगरानी समूह’ बनाउने।
  • जनताका समस्या समाधान गर्न स्थानीय तहमा ‘साझा सहयोगी समूह’ गठन गर्ने।
  • लुम्बिनी भेलामा गरिएको अपरिपक्व ‘जनमत संग्रह’ निर्णयले पार्टीलाई पश्चगामी शक्ति त होईन भन्ने भ्रम परेन गएको छ, त्यसलाई खारेज गर्ने।
  • सु- संस्कृत राजनीतिको नाममा पार्टी भित्र अनुशासन र ज़िम्मेवारी दुबै ह्रास हुदै गएको छ, त्यसबारे संयम बन्ने।
  • नेताहरुले सार्वजनिक सवारीको प्रयोग, मितव्ययी र लोकसम्मत जीवन यापन गर्ने।

नेपालको सन्दर्भमा बैकल्पिक राजनीति निर्बिकल्प आवश्यकता हो, यो समयको माँग मात्र हैन तपाईँ हाम्रो विवेकको प्रयोग गर्ने अभियान हो, यस्तो कठीन बेला बिशेष गरी नेतृत्व संयम र खुला हुनुपर्छ, ब्यक्तिको जीवन जस्तै पार्टीको पनि जीवन हुन्छ, कमजोरीबाट सिकेर आएको ब्यक्ति या पार्टी दुबैको भविष्य उज्वल छ।

अब बैकल्पिक राजनीति गर्न प्रयास गरेका तर जहाँको तहीँ भएका नेताहरुले सोँच्न जरुरी छ। आगे तपाईहरुकै मर्जी !

Maruti Cement