रामायणको प्रमाण खोज्न श्रीङ्ग ऋषि आश्रम लामाटार जाऔं 



प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मको विषयमा गत सोमबार दिएको अभिव्यक्ति पछि धेरैले उहाँको आलोचना गरेका छन् भने आत्मालोचना गर्न सुझाव समेत दिएका छन्। यस्ता अभिव्यक्तिबाट धार्मिक सम्प्रदाय बिच र राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा विवाद सिर्जना गर्ने भएकाले प्रधानमन्त्रीले संयमता अपनाउनु पर्दथ्यो। प्रधानमन्त्रीले यसको अनुसन्धान गर्नको लागि धर्म संस्कृतिका ज्ञाता, भूगोलविद् र इतिहासविद्हरूको अध्ययन समिति बनाएर अनुसन्धान पश्चात यी कुरा भनेको भए धेरै राम्रो हुने थियो। रामको जन्म कहाँ भएको हो भन्नेमा भारतमै पनि सबैको एक मत छैन। अनुसन्धान र तथ्य सङ्कलन भारतमा पनि भैरहेको छ, नेपालमा पनि गर्नु आवश्यक छ।

रामायणको प्रमाण खोज्न र अनुसन्धान गर्न ललितपुरको महालक्ष्मी नगरपालिका ९ मा रहेको श्रीङ्ग ऋषि आश्रम पनि पुग्नु पर्दछ। त्यहाँ रामायणका धेरै तथ्यहरू फेला पार्न सकिन्छ। रामका पिता दशरथको पुत्रेष्टि यज्ञ सम्पन्न गराएर ४ वटा छोरा पाउन सफल बनाउने नेपालका श्रीङ्ग ऋषिलाई लिन अयोध्याबाट ललितपुरको सिस्नेरीमा अयोध्याका प्रतिनिधि ऋषि आएको कुरा रामायण र बिभिन्न ग्रन्थहरूमा उल्लेख छ।

त्यसैले ऋषि श्रृङ्ग आश्रम र लामाटारमा रहेको राममन्दिरको धार्मिक तथा ऐतिहासिक पक्षको अनुसन्धान हुनु आवश्यक छ। राम मन्दिर भएको रामटारबाट “लामाटार” बनेको किंवदन्ती चल्दै आएको छ। भारतको गोरखपुरमा छापिएका पुस्तकहरू अध्ययन गरेर विद्वान भएकाहरूले रामको वास्तविक तथ्य दिन सक्दैनन् भन्ने कुरा अहिलेसम्मको घटनाक्रमले प्रमाणित गरिसकेको छ।

रामका भक्तहरू फैलिएको एसियाको टुप्पो जहाँ हामी नेपाली छौं त्यहाँदेखि भारत, पाकिस्तान, बङ्गालादेश, श्रीलङ्का हुँदै इन्डोनेसियाको बालीसम्म रामको जन्म, विवाह र कर्मको बारेमा बिभिन्न किंवदन्ती चलेका छन् र त्यही अनुसारका आस्थाका धरोहरहरू खडा भएका छन्। यी सबै देशहरूलाई जोड्ने गरेर रामायण सर्किट बन्नु पर्दछ र त्यसलाई ललितपुरको लामाटार सम्म ल्याउनु पर्दछ भनेर मैले निरन्तर लेख्दै आएको छु र स्वर्गीय रविन्द्र अधिकारी संस्कृति मन्त्री भएको बेलामा मन्त्रालयलाई एक प्रतिवेदन पनि बुझाएको थिए।  

२ वर्ष अघिको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा सबै भन्दा बढि चर्चा रामायण सर्किट अर्थात रामायण मार्गको भएको थियो। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्रीले जनकपुरबाट रामायण सर्किटको संयुक्त उद्घाटन गर्नु भएकाले धार्मिक तथा सांस्कृतिकरुपमा जोड्ने रामायण सर्किट बन्ने पक्कापक्की भयो भनेर धेरै खुसी पनि भएका थिए। रामको जन्मभूमि अयोध्या, जानकी जन्मभूमि जनकपुर, हनुमान पुगेको स्थान इन्डोनेसियाको बाली र रावण रहेको तथा अशोक बाटिका जोडिएको श्रीलङ्का गरी कूल चारवटा देशका रामायणसँग जोडिएका स्थानहरुलाई जोड्नका लागि रामायण सर्किटको अवधारण आएको हो।

युगौं युगदेखीको नेपाल-भारतको धार्मिक तथा सांस्कृतीक सम्बन्धलाई रामायण सर्किटले भौतिकरुपमा जोड्ने दुवै देशका प्रधानमन्त्रीले विश्वास व्यक्त गरेका थिए। तर प्रस्तुतीमा ढंग नपुगेकोले प्रधानमन्त्री ओली अहिले आलोचित हुन पुगे। भारत सरकारले अयोध्या देखि मिथिला सम्म रामायण सर्किटको निर्माण गर्ने भन्दै गृह कार्य र तयारी धेरै गरेको छ र भारतीय भुभागमा यस मार्गलाई धेरै लामो मार्गको रुपमा बिकास गरिदै छ।

दुई सरकारको प्रस्ताव अनुसार रामायण सर्किट जनकपुरमै आएर टुङ्गीनेछ। रामायण सर्किट जनकपुरसम्म मात्रै आउदा त्यसले नेपाललाई बढि फाईदा हुदैन र अन्य रामायणसँग जोडिएका स्थानहरु ओझेलमा पर्दछन् भनेर त्यसलाई रामायणको उदयकर्ता श्रीङ्गऋषिको आश्रमसम्म ल्याउनु पर्दछ। यति भयो भने भारतको रामायण मार्ग जस्तै हाम्रो पनि केहि लामो हुन्छ। ललितपुर जिल्ला महालक्ष्मी नगरपालिकाको लामाटारमा रहेको श्रीङ्गऋषि आश्रम सम्म यो मार्ग धार्मिक तथा पौराणीक रुपमा पहिले नै जोडिएको छ र अब भौतिकरुपमा पनि जोड्नु पर्दछ।

अन्य सम्बन्धित समाचार:  पर्सामा कोरोनाबाट १८ वर्षीया युवतीको मृत्यु

त्यसैले श्रीङ्गऋषि आश्रम सम्म रामायण सर्किटलाई जोड्नु पर्दछ भनेर महालक्ष्मी नगरपालिकाका जनप्रतिनिधिहरुले बहस गर्नु आवश्यक छ, यी क्षेत्रको अनुसन्धान र संरक्षणको लागि जुट्नु आवश्यक छ। लामाटारको सिस्नेरी गाउँको माथि आश्रम बनाई श्रीङ्ग भन्ने एक ऋषि बस्दथे भन्ने कुरा बिभिन्न किम्वदन्तिहरुले प्रष्ट्याउछ र नेपाल महात्म्यमा पनि प्रष्ट उल्लेख गरिएको छ।

श्रीङ्ग ऋषि आश्रम र श्रीङ्ग ऋषि गुफा मात्रै होइन यो क्षेत्रबाट बग्ने नदि श्रीङ्गमति नदि नामले पुराणहरुमा प्रशिद्ध छ। श्रीङ्गमति नदि बग्दै अलि तल पुगेपछि गोमति नदि मिसिने दोभानमा गोश्रृङ्गी तीर्थ छ र त्यस भन्दा तल गोदावरी नदिमा मिसिने ठाउसम्म बिभिन्न तिर्थ स्थलसम्म नै श्रीङ्ग ऋषि र रामायणका प्रसंगहरु जोडिन आउछन्। 

श्रीङ्ग ऋषि गुफामा बसेर तपस्या गरेको बलले नै राम, लक्ष्मण, भरत र शत्रुघ्न जस्ता पुत्र दशरथलाई प्राप्त गराउने जस यिनै ऋषिलाई जान्छ। राजा दशरथले पुत्रेष्टि यज्ञ गर्दा वशिष्ट ऋषिले श्रीङ्ग ऋषिलाई अयोध्या पुराएको र पछि सिताको विवाहमा विश्वामित्र ऋषिले साथ लिएर गएको कुरा वाल्मीकि रामायणमा उल्लेख गरेको पाइन्छ। उक्त कार्यमा श्रीङ्ग ऋषिसँग परिचय माग्दा निजले परिचय दिएको श्लोक यस प्रकार छ।

विभहण्डक सूतश्चाहं तस्याई सुत औरस।
ऋष्यश्रङ्ग इति ख्यात नाम कर्मच मे भूवि।।

वाल्मीकि रामायणमा यसरी प्रष्ट उल्लेख गरेको हुनाले रामायणको कथाको मुख्य सुरुवात भएको क्षेत्रसम्म रामायण मार्गलाई ल्याउनु आवश्यक छ। यदि रामायण सर्किट यो क्षेत्रसम्म आयो भने यसले पुरै नेपालको धार्मिक पर्यटक वृद्धिमा सहयोग पुराउँछ भने अप्रत्यक्ष रुपमा विकास निर्माणमा पनि यसले प्रभाव पार्न सक्दछ। त्यसैले भारतीय दुतावासको संस्कृति विभागसँग पनि समन्वय गरि यसको थप अध्ययन अनुसन्धान गरि कार्यलाई अघि बढाउनु आवश्यक छ।

श्रीङ्ग ऋषि आश्रम र श्रीङ्ग ऋषि गुफाको सरसफाइपुनर्ननिर्माण गरि रामायण सर्किटसँग जोड्न महालक्ष्मी नगरपालिका स्थानीय जनप्रतिनिधि र स्थानीयवासीको पनि ठूलो पहल हुन आवश्यक छ। श्रृङ्गी ऋषिको ललितपुरका धेरै तीर्थ स्थल तथा देवस्थलसँग सम्बन्ध रहेको पाइन्छ। श्रृङ्गी ऋषिले स्थापना गराएको लुभुको गोभराटेश्वर महादेव मन्दिर क्षेत्रमा रहेको शिला लेखहरुबाट पनि श्रृङ्गी ऋषि र गोभराटेश्वर महादेवको सम्बन्ध प्रष्ट हुन आउँछ। श्रृङ्गी ऋषिले त्रेतायुगमा आश्रम बनाई बसेको यो क्षेत्रको सम्बन्ध उनले र उनी पछिका ऋषिमुनीहरूले पनि गोदावरी, पनौती जस्ता प्रसिद्ध तीर्थस्थलहरू; कामधेनु गाई मार्फत जोडेको पाइन्छ।

श्रृङ्गी ऋषिको आश्रमसँगै रहेको गुफाबाट गोदावरी पुग्न सकिन्छ भन्ने जनश्रुति चल्दै आएको छ। श्रृङ्गी ऋषि यसै गुफाबाट भित्र-भित्रै कहिले गोदावरी कुण्डमा त कहिले पनौतीको १२ वर्षे मेला लाग्ने नदिमा स्नान गर्न पुग्दथे र अरु मानिसहरूलाई पनि ती तीर्थ स्थलमा स्नान गर्नुको महत्वको बारेमा प्रवचन गर्दथे भन्ने कथाहरू आफूले सुनेको बताउनु हुन्छ महालक्ष्मी नगरपालिका ९ मा जन्म भई अहिले महालक्ष्मी नगरपालिका शंखादेवी बस्ने ८४ बर्षिया धनकुमारी आचार्य। उहाँ अहिले पनि यस्ता कथाहरूलाई कवितात्मक शैलीमा वाचन गरेर सुनाउनु हुन्छ। 

उनै श्रृङ्ग ऋषिको आश्रम रहेको यो स्थानलाई श्रृङ्ग्याश्रम भन्ने गरिएको थियो। पछि समय बित्दै जादा श्रृङ्यारि, सिस्न्यारी हुदै अपभ्रंश भई सिस्नेरी नाम रहन गएको स्थानीय बताउँछन्‌।

स्कन्दपुराणको हिमवत्खण्ड नेपाल महात्म्यमा विरुपाक्ष तीर्थयात्राको १ सय ३३ अध्यायमा गोश्रृंगतीर्थ गोभराटेश्वर महात्म्यमा नै जोडेर वर्णन गरिएकोले यस क्षेत्रको धार्मिक महत्वको बारेमा थप अध्ययन अनुसन्धान र प्रचार प्रसारको आवस्यकता छ, अनि मात्रै रामायण सर्किटमा यसलाई जोड्न सकिने छ। स्कन्दपुराणको हिमवत्खण्ड नेपाल महात्म्यमा विरुपाक्ष तीर्थयात्राको १ सय ३३ औं अध्यायमा गोश्रृंगतीर्थमा विरुपाक्ष व्राह्मणले चैत्र शुक्ल द्वादशीं तिथिमा श्रृङ्गतीर्थमा स्नान गरेर गोभराटेश्वर महादेवलाई पूजा गरेको कुरालाई यसरी उल्लेख गरिएको छ। 

श्रृङ्गतीर्थे ततोःगस्त्य गोभराटेशमर्चिच्तः।।
पूव्र्वोक्ता कामधेनुर्या चन्द्रवदद्रिगह्वरे।
समास्ते हि सदाकालं सेवन्ती पशुपतेश्वरम्।।
तस्याः श्रृंगात्समुद्भुता नदी पुण्यतमाभावत्। 

तिनै कामधेनु गाई सधै पशुपतिनाथमा दुध चढाउन जाने गरेको र उनकै गोबरबाट गौराटेश्वर महादेवको उत्पती भएको कुराले यो क्षेत्रलाई पशुपतिसँग जोड्छ। रामायण सर्किटलाई जनकपुरबाट मुक्तिनाथ, पशुपतिनाथ लगायतका हिन्दूहरुको तिर्थस्थलसम्म जोड्ने प्रतिवद्धता पर्यटन तथा संस्कृति मन्त्री स्व.रविन्द्र अधिकारीले पनि बताउनु भएको थियो। 

यसलाई पशुपतिसँग जोड्ने धार्मिक तथा ऐतिहासिक आधार तव मात्र पाईने छ जब श्रृङ्गी ऋषि आश्रमलाई जोड्न सकिन्छ। यस क्षेत्रका धार्मिक महत्व बोकेका तीर्थ स्थलको संरक्षण, विकास र प्रचार प्रसार गर्नु आवश्यक छ। नदीहरुमा श्रेष्ठ भएकी चक्रनेमि पर्वतबाट निस्किएकी चक्रावती नाम गरिएको नदी थिइन्। ती गोश्रंगी र चक्रावती नदीको संगममा गोश्रृंग नाम गरिएको तीर्थ प्रसिद्ध भयो। त्यही तीर्थ स्थलमा श्रृङ्गी ऋषि विधिपूर्वक स्नान गर्दथे, यस्ता क्षेत्र अहिले अतिक्रमणको चपेटामा पर्दैछन्।

श्रृङ्गऋषिको गुफा, आश्रम र उनीसँग जोडिएका तिर्थ स्थलहरुको एकिकृत विकास गर्ने र यस क्षेत्रको प्रचार प्रसार गर्ने काम निरन्तर हुनु आवश्यक छ। फलाम तातेको बेलामा ठोक्न सक्यो भने मात्रै आफूले चाहेको हतियार बनाउन सकिन्छ भने झै यो बेलामा सवै अनुसन्धानमा जुट्न सक्नु पर्छ। अहिले दुवै देशका प्रधानमन्त्रीले रामायण सर्किटको संयुक्त उद्घाटन गरेर निर्माणको थालनी भएकै बेलामा त्यसलाई लामाटारको श्रृङ्गऋषिको गुफा र आश्रमसँग जोड्नु पर्दछ भनेर नेपाली पक्षबाट जोडदार पहल गर्नु आवश्यक छ।

सुरुमा रामायणसँग जोडिएका यस क्षेत्रका प्रसंग र श्रृङ्गऋषिसँग जोडिएका बिषयबस्तुको थप अध्ययन अनुसन्धान ती क्षेत्रको पहिचान र प्रसारप्रसार गर्नु आवश्यक छ। त्यस पछि स्थानीय तह, प्रदेश सभा र नेपाल सरकार मार्फत भारत सरकारसँग औपचारिक प्रस्ताव राख्नु पर्दछ। यसको लागि सञ्चार माध्ययमले पनि बढि भन्दा बढि प्रचार प्रसार गरेर सघाउनु पर्दछ। अनि मात्रै रामायण सर्किटको नेपालले फाईदा लिन सक्दछ, मिथिलामै टुङ्गिने हो भने यसले भारतको पर्यटन प्रवर्धनमा मात्रै सहयोग पुराउने छ।

                                                                    (आचार्य, सामुदायिक रेडियोहरुको नेटवर्क सीआईएनका प्रमुख हुनुहुन्छ)