द्वैध चरित्र बोकेको नेपाली समाज

  • प्रेम गैरे

एकाबिहानै समृद्धि दिदीको फेसबुक पोष्टप्रति आकर्षित भएँ – “अन्तरजातीय विवाह सबैलाई मनपर्छ, तर आफ्नो घरमा होईन अरुको घरमा।”
उहाँले उधृत गरेको यो वाक्यांश नेपाली समाजको ऐना हो। नेपाली समाजको द्वैध चरित्रलाई दिदीले उदाङ्गो मात्र पारिदिनु भएको हो।

मेरो विश्लेषणमा जसरी गत २०-३० वर्षमा हाम्रो रहनसहनमा परिवर्तन आयो र सँगसँगै, मध्यम बर्गीय परिवारमा एक प्रकारको समृद्धि ल्यायो, त्यसको फलस्वरुप नेपाली समाजको एक पुस्तामा रुढीवादी परम्परा झन् बलियोसंग स्थापित भए। त्यो भन्दा पहिला खान लाउनकै समस्या हुँदा, यी परम्परा भन्दा अरु प्रकृतिका समस्या प्रधान थिए कि भन्ने मेरो अड्कल हो।

आजभन्दा करीब ३० बर्ष अगाडि बाग्लुङ्ग जिल्लाको नरेठाँटी गाविसको एउटा गाउँमा म जन्मिँदा, त्यतिबेलाको जीवन पद्धति छुट्टै थियो। टिभी, मोबाईल, कम्प्युटर, ईन्टरनेट, फेसबुक जस्ता कुरा अहिले हाम्रो जीवनका जसरी अभिन्न अङ्ग बनेका छन्, ती त्यतिबेला पाश्चात्य समाजमा केही आविष्कार भएका एवम् केही विकास नै भएका थिएनन्। त्यतिबेलाको दिनचर्या खेतीपाती र घरायसी कामकाजमा बित्थ्यो भने बाल्यकाल विभिन्न वालसुलभ क्रियाकलापमा बित्दथे। वस्ती एकदमै पातलो थियो, आगन्तुक संस्कृतिले प्रवेश पाउने माध्यम नै नगण्य थिए जस्ले गर्दा परम्परा जे जति थिए त्यत्तिमै सिमित थिए।

समयक्रम बदलिँदै जाँदा, समाजमा आर्थिक समृद्धि आँउदै गर्दा, मैले अनौठो परिवर्तनको महशुस गरेको छु। समृद्धिको कुरा गर्दै गर्दा देश गरीब रहेको कुरा भने छुट्टै विषय हो। गत ३० बर्षमा पहिला गाँस, बास र कपास जुटाउनै धौ धौ पर्ने समयबाट हामी सौखका लागि देश विदेश घुम्न जानसक्ने हैसियतमा उक्लिएका छौँ। यो चानचुने कुरा होईन र यसमा विभिन्न क्षेत्रको देन छ, तर मुख्यतया प्रविधिको तीव्र विकासले हामीलाई त्यो हैसियत दिलाएको हो, मानिसलाई आफूलाई मन लागेको कुरा गर्नलाई सक्षम बनाएको हो।

यही परिवर्तनको सिलसिलामा हाम्रो समाजमा पुस्तान्तर (जेनेरेसन ग्याप) पनि अत्याधिक रह्यो। शिक्षाबाट वन्चित पुस्ताका छोराछोरीले अङ्ग्रेजी माध्ययम विद्यालयमा पढ्न पाए। निरक्षरहरु पनि प्रविधिको विकाससँगै फेसबुकमा रम्ने प्रविधि साक्षर भए।

तर यो तीव्र विकासक्रमले समाजमा थुप्रै खालका दुविधाहरु पनि जन्माएको छ। एकातिर परम्पराको नाउँमा जरा गाडेर बसेका अन्धविश्वास र सामाजिक विभेदहरु छन् भने अर्कातिर समयक्रमले डोर्‍याएर ल्याएको परिवर्तन र त्यसले माग्ने स्वच्छन्दता र खुला सोचाई। यो दुईको चपेटाबाट हाम्रो अहिलेको समाज गुज्रिरहेकोछ।

रुकुमको विभेदकारी विभत्स घटना, तराईमा दाईजोको नाममा हुने महिला हिँसा, पश्चिमतिरको छाउपडी प्रथा र अझै पनि देशका सबैजसो भागमा महिनावारी बार्ने चलन, जातीय विभेद र खासगरी तराईको समुदायमाथि हुने नश्लीय विभेद, यी सबै यही हाम्रो समाजका तिता यथार्थ हुन्।

तर कुरा यत्तिमा सिमित छैन्। झारफुक र तन्त्रमन्त्र गर्ने धामी झाँक्रीको चितवन जस्तो ठाउँमा छुट्टै रवाफ छ, छुट्टै शान छ भन्दा कतिलाई विश्वास नलाग्न पनि सक्छ। खोज्दै जाने हो भने, कतै देवी उत्रेका, कतै देवता उत्रेका, कतै पितृ उत्रेका, कुनै मसाने धाँमी, कुनै झाँक्री गरी थरी थरीका अवतारमा भेटिन्छन् र सबैले बोक्सी, मसान, देवी देउता रिसाएको, पितृ रिसाएको आदि कुराहरु तन्त्रमन्त्रबाट च्वाट्टै पार्ने दावी गर्छन्।

धर्म नमान्ने कम्युनिष्ट प्रधानमन्त्रीले भैँसी पूजा गर्नु, पूर्व प्रधानमन्त्री लगायतले बिभिन्न कथित माताहरुकोमा गएर आफ्नो भाग्यबारे सोधनी गर्नु आदि सबै द्वैध चरित्र नै हुन्।

त्यस्तै गरेर ज्योतिष शास्त्र विशेष गरी फलित ज्योतिषीहरुको चुरीफुरी पनि बेजोडकै छ। चुरीफुरी पनि किन नहोस् कर्मचारीदेखि नेता, नेताद्खि मेडिकल डाक्टर हुँदै पिएचडी डाक्टरले उनीहरुको विश्वास गर्ने भएपछि ! निर्धक्कसँग भन्छन्, “हाम्लाई पिएचडी गरेकाले मान्छन्, तिम्ले कति पढेका छौँ र प्रश्न गर्नलाई ?” एकातिर पिएचडी धारी अनि अर्कोतिर ज्योतिषकोमा सवारी, किन भईरहेको छ? आफ्नो कर्ममा भन्दा भाग्यमा बढी विश्वास किन हुन गयो ? हामीले गरेको पिएचडीमा कुन भिटामिनको कमी भएको हो ? यी सबै प्रश्नहरु तिता छन् तर मलाई लाग्छ यी प्रश्न सोध्नैपर्छ !

अब नयाँ पुस्ताको नैतिक धरातलको कुरा गरौँ: नयाँ पुस्तामा शिक्षा त छ तर सामर्थ्य छ कि छैन त समाजमा भईरहेका गलत कुराहरु बिरुद्ध आवाज उठाउन? यो पनि सोचनीय विषय हो। हामीलाई अरुले गरेको मन पर्दैन, तर आफूले गरेको कर्मको हामी कहिल्यै आत्म समीक्षा गर्दैनौँ।

छोरा छोरीमा भेद् गर्दिन भन्नेहरु गर्भमा छोरी भएको थाहा पाएपछि पटक पटक गर्भपात गर्ने हाम्रै समाजमा, घरमा बुहारीलाई हेपेर महिला अधिकारकर्मी बन्ने पनि हामी,सासु ससुरालाई सधै बाङ्गो आँखा हेर्ने बुहारी समाजसेवी हुने हामी मध्येकै, आमा बाबुलाई सधै बोझ देख्ने छोराहरु पनि हामी तर कथित समाजसेवी पनि हामी ! उफ् …

“आफूले गरे सदाचार अरुले गरे भ्रष्टाचार” मूलमन्त्र बनाउने कुन पुस्ता हो-शिक्षित कि अशिक्षित ? थप प्रतिक्रिया गर्नु पर्दैन । भ्रष्टाचार गर्नलाई घुसै खानैपर्छ भन्ने छैन्, आफ्नो मान्छेले गलत गर्दा ढाकछोप गर्नुलाई के भन्नु हुन्छ ? पिडितले प्रहरीमा केही उजुरी गर्दा मिलापत्र गराउने, बेईज्जत नहोस् भनेर अपराधमा पैसाको सौदाबाजी गर्ने ईज्जतदार को हुन् ? के गलत गर्दा मैले गल्ती गरेकै हो, म सजाँयको भागीदार हुन्छु भन्ने आँट छ ?

सामर्थ्य बोकेको पुरानो पुस्ता जस्ले आफ्नो पालामा नसोचेको परिवर्तन देखेको छ, ऊ पनि बहुत पीडामा छ। एकातिर छोराछोरीलाई पढेनन् भनेर गुनासो गर्ने त्यो पुस्ताले जब समाजिक कुरीति विरुद्ध छोराछोरीले मुख खोल्न थाल्छन् तब गाईखानी पढाई’ ले बिगारेको हो भन्न पछि पर्दैन। ‘दुईटा अक्षर’ पढेको छु भन्दैमा परम्परा नै मास्न खोस्छस् भनेर धम्काँउछ। नयाँ पुस्ताले आफ्नो परिवारको घेराभन्दा बाहिर निस्केर सोँच्न सक्ने हैसियत बनाएन, वा बनाउन दिईएन।

यस्तो द्वैध चरित्र बोकेको समाजले न पढ्ने र विवेक प्रयोग गर्नेलाई सुख दिन्छ, न त नपढ्नेलाई सुख दिन्छ। न सही छुट्याउन सक्छ न गलत। हो यही कारण हो, आफ्नो पार्टीले गरेको सबै ठीक अरु पार्टीले गरेको सबै बेठीक। विरोधाभासको गहिरो जालोमा रुमल्लिरहेको यो समाजले एकातिर आधुनिकताले धकेलेका नयाँ चलनलाई पनि स्वीकार गर्छ भने अर्कातिर रुढीबादी सोँचलाई पनि त्याग्न सक्दैन। बरु आर्थिक सामर्थ्य बढेसँगै मैले रुढीबादीबाट एक सिढी उक्लिएका कट्टरबादी बढी फेला पार्ने गरेको छु।

परम्परा मान्ने र भगवान खुशी बनाउने नाममा दानवीय स्वभाव ग्रहण गरेकाहरु देखेको छु। मरेपछि वैकुण्ठबास भई भगवानको बगलमा बस्ने लालचमा ईशाईका मिसनरीलाई मात ख्वाउने धार्मिक ठेकेदार भेटेको छु। राजनीतिक कट्टरवादीको कुरै नगरम – कट्टर काँग्रेस, कट्टर कम्युनिष्ट। यी सबै एकाईशौँ शताब्दीमै चोकचोक र गल्ली गल्लीमा भेटिन्छन्। नभेटिने त त एक “विशुद्ध” मानव मात्रै हो।

अनि द्वैध चरित्रका अवैध चिन्तनलाई बदलेर आउछु भन्नेहरुको यस्तै यथास्थानको ढिपी रहिरहने हो भने अझै समृद्धिको यात्रा पूरा गर्न दशकौँ लाग्ने पक्का छ।
-भरतपुर, चितवन