कविता: चेतनाको शल्यक्रिया



ऊ चेतमै छ या अचेत
ऊसलाई नै थाहा छैन
किनकि खासमा
ऊसले आफैलाई ठम्याउन सक्दैन
ऊसको चेतना अरु कसैले पुनर्गिलन गर्छ
चेतना पराग झोँस्न खोज्छ
तर पिलन्धरे पराग निस्काम बनेको छ
त्यसैले अचेल ऊसका ऊ पनि ऊ जस्ता छैनन्
सिलखुट्टे चेतनाका फूलबुट्टे शृंगारमा
सहचारीहरु सल्याङबल्याङ गराउँदै
अचेल ऊ नै कार्यकारी छ
तर ऊसको चेतनाको शल्यक्रिया जारी छ

~~~~~~~~~~~~~~~~~~~~

उधुम्मै बहुलाएका छन् ऊसका चेतनाहरु
उपद्रो मच्चिरहेकै छ कथित चेतना सदनमा
भूईँ मान्छेहरु भूईँ कोट्याईरहँदा
आकाश मान्छेहरु चेतनाको मोलमोलाईमा लिप्त छन्
उनीहरुका लागि बजार पनि उनी आफै हुन्
भूलभुलैया गरिदिनेहरु नै ऊसका भूषण हुन्
ऊ जे बोल्छ, त्यो ईतिहाँस बन्छ
ऊ जे ठान्छ त्यो धर्मग्रन्थ बन्छ
त्यसैले होला
अचेल कथित चेतना सदनमा
अकथित मारामारी छ
चेतनालाई नै चेतना नै भारी छ
तर ऊसको चेतनाको शल्यक्रिया जारी छ।

अन्य सम्बन्धित समाचार:  उपत्यकामा लकडाउनको बिकल्प देखिएन: विज्ञहरुसँग छलफलमा प्रधानमन्त्री

~~~~~~~~~~~~~~~

बहुलाएपछि चेतना प्यार प्यार बोल्छ
बर्बराउँछ, लर्खराउँछ, लर्वराउँछ
किनकि चेतना आफै बिरामी छ
तर त्यही चेतना
भूईँ मान्छेहरुको सेन्सर बनेको छ
चेतना आफै चेतावनी दिन्छ
आफैले आफैलाई सञ्जीवनी मान्छ
हरामहरुको भजन मण्डलीमा
ज्ञरामको जन्मको सोझेरी गाउँछ
तर बिडम्वना
त्यही चेतना लकडाउनमा छ
बिचरो बिरामी चेतनाको झुप्प दाह्री छ
तर ऊसको चेतनाको शल्यक्रिया जारी छ।