ट्रयाक खनिएको ६५ वर्षपछि कालोपत्रे सुर भएपछि स्थानिय खुसी

टीका खतिवडा, इलाम।

फिक्कल नयाँबजार सडक ट्रयाक खनिएको ६५ वर्षपछि कालोपत्रे सुर भएको छ। प्रदेश १ सरकारको लगानीमा इलामको फिक्कल नयाँबजार जौबारी सडक कालोपत्रे गर्ने काम शुरु भएको हो। ३६ महिनामा कालोपत्रे सक्ने गरि सडक निर्माण शुरु भएको हो। प्रदेश सभा इलाम क्षेत्र नं १ को क की सांसद खिनु लङ्वा लिम्बुको सिफारिसमा फिक्कल– नयाँ बजार कालोपत्रे गर्ने प्रदेश सरकारले निर्णय गरेको थियो। सडक कालोपत्रेका लागि प्रदेश सरकारले त्रिपन्न करोड लगानी गरेको छ।

ट्रयाक खनिएको ६५ वर्षपछि इलामको फिक्कल नयाँबजार सडक कालोपत्रे गर्ने कामको थालनी भएपछि इलामको उत्तरपूर्वी क्षेत्रका बासिन्दामा खुशियाली छाएको छ। उत्तरपूर्वी इलामलाई भारतको सीमा क्षेत्रसम्म जोड्ने सडक प्रदेश सरकारको लगानीमा कालोपत्रे गर्ने काम थालिएको प्रदेश सासंद खिनु लङ्वा लिम्बुले बताइन्। विक्रम सम्वत् २०१० सालमा तत्कालीन बडा हाकीम सन्तवीर लामाको नेतृत्वमा खनिएको सडक चालु आर्थिक वर्षबाट निर्माणको काम थालिएको छ।

२०७६ मङ्सिरमा निर्माणको सम्झौता भएको सडक झापामा रहेको प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय मार्फत कार्यान्वयन हुँदै आएको माई जोगमाई गाउँपालिकाका अध्यक्ष जितबहादुर राईले बताए। सूर्योदय नगरपालिका, माइजोगमाई र सन्दकपुर गाउँपालिकाबासीलाई सेवा पुग्ने सडकको २० किलोमिटर २ सय मिटर कालोपत्रे हुनेछ। सडक निर्माणका लागि ५३ करोड ८९ लाख ३८ हजार एक सय ४९ रुपैयाँ खर्च हुने पूर्वाधार विकास कार्यालय झापाका प्रमुख रमेश कुमार श्रेष्ठले बताए। उनले सडक निर्माणको काम लक डाउनका बिचपनि जिल्ला प्रशासनको पास लिएर निर्माण सामग्री ढुवानी हुँदै आएको बताए।

सडकमा अहिले कल्भर्ट, नाली, ग्याबिन पर्खाल र फिलिङ गर्ने काम भइरहेको एपेक्स खनाल जोशी जेभीका डिल्ली खनालले बताए। पर्यटकको आवतजावत हुने र देशकै सबैभन्दा ठूलो आलु विकास केन्द्र जौबारी हुँदै भारत जोड्ने सडक कालोपत्रे भएपछि स्थानीय उत्पादन सहज रुपमा बजार पुग्नेछ। ट्रयाक खनिएको ६५ वर्षपछि स्तरोन्नति शुरु भएको इलामको फिक्कल नयाँबजार सडक कालोपत्रे भएपछि स्थानीय खुशियाली छाएको नयाँबजारका संजिव थामीले बताए। यो सडक दुई वर्ष अगाडि मात्रै उन्नति परियोजना अन्र्तगत १४ करोड ४६ लाख ३४ हजार रुपियाँ खर्च स्तरोन्नति गरिएको थियो।

स्तरोन्नति गरिएको सडक कालोपत्रेको प्रक्रियामा लगिएको प्रदेश सासंद खिनु लङ्वा लिम्बुले बताइन्। सडक कालोपत्रे भएपछि भारतसँग सीमा जोडिने भएकाले सीमा क्षेत्रका नेपाली नागरिकको पनि नेपाली बजारसम्म पहुँच पुग्नेछ। विक्रम सम्वत् २०१० सातामा तत्कालीन बडाहाकिम सन्तबीर लामाको नेतृत्वमा खनिएको सडक माइजोगमाई गाउँपालिकाले गत आर्थिक वर्षदेखि नै कालोपत्रे गर्न प्रदेश सरकारसँग अनुरोध गर्दै आएको थियो।

सडक निर्माण भएपछि उत्तरी इलामका लेकाली बस्तीमा उत्पादन हुने कृषि उपज सहजै बजार पुग्नेछ। पहिलो चरणमा सूर्योदय नगरपालिका ९ को फिक्कल बजारको बरबोटेदेखि माइजोगमाई गाउँपालिकाको केन्द्र रहेको नयाँ बजारसम्म कालोपत्रे हुनेछ। यस सडक पक्की भएपछि स्थानीय जनतालाई सहज भएको छ। दैनिक उपभोग्य वस्तुमा महंगो ढुवानी रकम ब्यहोर्दै आएका जनताले सस्तो मुल्यमा सामान पाउने भएका छन् । गाउँमा उत्पादन भएका वस्तुको समेत राम्रो मुल्य पाइने भन्दै स्थानियमा खुसीयाली छाएको छ।