आकर्षक गन्तव्य बन्यो ऐतिहासिक कुमारी मन्दिर
केही महिना अगाडिसम्म सुँगुर, हाँस कुखुरा चर्थे। मध्यपुरथिमि नगरपालिका–७ बोँडेस्थित ऐतिहासिक कुमारी मन्दिर संरक्षणका लागि बसेकाले नै चारवटा टहरा बनाएर सुँगुर, हाँस कुखुरा पाल्न थालेपछि मन्दिर परिसरमा निकै दुर्गन्ध फैलिँदा स्थानीय पनि नियमित मन्दिरसम्म जाने आँट गर्दैनथे। हिलाम्मे दलदल र फोहर बनेपछि स्थानीयमाथि डिलमै बसेर मन्दिरलाई नियाल्थे। कतिपयले डिलबाटै फोहर फाल्थे। दैनिक फोहर फाल्दा डम्पिङ साइटको रुपमा परिणत बन्दै गएको थियो कुमारी मन्दिर परिसर। हरेक वर्ष बिस्केट जात्राको अवसरमा वैशाख १ गते राति खट जात्रा गर्ने पर्ने र २ गते जिब्रो छेडेपछि दिउँसो कुमारी मन्दिर घुमाउनै पर्ने परम्पराबाहेक अरु बेलामा प्रायः मन्दिर जाने आउने नै रोकिन्थ्यो।

बर्षौदेखि देखि डम्पिङ साइट बन्दै आएको यही ऐतिहासिक कुमारी मन्दिर परिसर अहिले आकर्षक पर्यटकीय गन्यव्यको रुपमा परिणत भएको छ। मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले पुरातात्विक तथा ऐतिहासिक सम्पदाको संरक्षण अभियानमा कुमारी मन्दिर परिसरको दुर्दशा देखेपछि शुरु भएको संरक्षण अभियानले सार्थकता पाउँदा आकर्षक पर्यटकीय गन्तव्य बनेको हो।
नगरपालिकाको कूल रु एक करोड ६५ लाखको लागतमा कुमारी मन्दिर परिसर सुधार
नगरपालिकाको कूल रु एक करोड ६५ लाखको लागतमा कुमारी मन्दिर परिसर सुधार उपभोक्ता समितिले विभिन्न संरचना निर्माण तथा हराभरा बनेको हो। सुँगुर, हाँस कुखुरा पाल्नेको बस्ती सारिएको छ। मन्दिरबाट अलिक पर सार्वजनिक जग्गामा उनीहरुको बस्ती सारेर नगरपालिकाले मन्दिरको संरक्षण शुरु गरेको थियो।

अहिले मन्दिरलाई रङरोगन गरेर चिटिक्क बनाइएको छ। मन्दिर परिसरमा आकर्षक पोखरी बनाइएको छ। भजन गाउने फल्चाअर्थात् आकर्षक पार्टी निर्माण गरिएको छ। सिँढी निर्माण गरिएको छ। दलदले हिलो भएको ठाउँमा माटो सम्याएर ढुङ्गा बिछ्याएको छ। करिब १० रोपनी क्षेत्रफलमा सीमाङ्कन गरेर वरिपरि डाँची अप्पाको इँटा प्रयोग गरी पर्खाल लगाएको छ। फल्चामा तेल्या इँटा प्रयोग गरेर कलात्मक र परम्परागत बनाएको छ। आकर्षक डबली पनि बनाएको छ। पहिरो जाने पाखामा ढुङ्गाको पर्खाल लगाएर पहिरो रोकिएको छ।
फोहर फाल्ने भिरपाँखोलाई सफा गरी कार्पेट घाँस बिछ्याएर दुबो रोपियो
फोहर फाल्ने भिरपाँखोलाई सफा गरी कार्पेट घाँस बिछ्याएको छ। दुबो रोपिएको छ। एकसाता यता यो दैनिक ५०० बढी आन्तरिक पर्यटकको गन्तव्य बनेको छ। मध्यपुरथिमिलाई जीवित सङ्ग्रहालय बनाउने अठोटका साथ नगरपालिका क्षेत्रभित्रका लोपोन्मुख सांस्कृतिक पर्व, परम्परा, नाच, बाजा, सम्पदा, मठमन्दिरको संरक्षणमा जुट्नु भएका नगर प्रमुख श्रेष्ठ भन्छन् , “म सानो छँदा कहिलेकाहीँ खेल्न जाने ऐतिहासिक कुमारी मन्दिर परिसर जीर्ण बनेको देखेपछि मनले मानेन, त्यसै पनि सम्पदा संरक्षणको अभियान शुरु गरेकाले अर्को साल भन्न मन लागेन स्थानीयसँगको सुझावमा कुमारी मन्दिर क्षेत्रलाई नयाँ जीवन दिएका छौँ।” उनले मध्यपुरथिमि क्षेत्रमा जीर्ण बनेको मठ, मन्दिर, पोखरी, ऐतिहासिक सम्पदाको संरक्षण एवं जीर्णोद्वारलाई तीव्रता दिने बताए। उनले फोहर फाल्ने ठाउँमा परिणत भइसकेको यस क्षेत्रको संरक्षणले नगरवासीलाई सम्पदा संरक्षणमा थप जिम्मेवार बनाउने बताए।

नगरपालिकाले बोडेको कमल पोखरीको समेत संरक्षण शुरु
केहीदिन अघि मात्रै भव्यरुपमा निगुः पुखु उद्घाटन गरेको नगरपालिकाले बोडेको कमल पोखरीको समेत संरक्षण शुरु गरेको छ। बोडेका स्थानीय दिलकृष्ण प्रजापतिले डम्पिङ साइटको रुपमा परिणत भएको कुमारी मन्दिर क्षेत्र हेर्दाहेर्दै सुन्दर, आकर्षक र पर्यटकीय गन्तव्यको रुपमा परिणत भएको बताए। यसले सम्पदामा स्थानीयको माया हुनुपर्छ भन्ने सन्देश दिएको बताउँदै स्थानीयले चासो नदिँदा सम्पदा जीर्ण भन्ने भएकाले स्थानीयको चासो र नगरपालिकालाई जिम्मेवार बनाउन सके विकास टाढा नहुने बताए।