पहिरोको त्रासले बस्ति नै स्थानान्तरण गर्नुपर्ने जोखिम

 

देवराज सुवेदी, सिन्धुपाल्चोक।

मेलम्ची नगरपालिका -४ थकनीमा गए रातिको अविरल वर्षाका कारण पहिरो जाँदा अमलेका माधव राज खनालको घर पुरिएको छ। त्यस क्षेत्रका खनालबस्ती, डाँडा कठेरी लगायतका बस्तीहरू उच्च जोखिममा परेको स्थानीय जनप्रतिनिधि कृष्ण बहादुर तामाङ ‘समीर’ ले बताएका छन्।

अमले बस्तीका मात्रै केदारनाथ खनाल, चिरञ्जीवी खनाल, दिपेश खनाल लगायतका १२ घरमा पहिरोले पूर्ण रूपमा क्षति पु¥याएको र उक्त बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहेको स्थानीय पहिरो पीडित दिपेश खनालले जानकारी दिए। खनालका अनुसार मानवीय क्षति नभए पनि घरमा भएका सबै सर सामान, लत्ताकपडा सबै नोक्सान भएको छ।

पहिरो पीडितको स्थानीय जनप्रतिनिधिको सक्रियतामा सिन्धु सुरुङमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले उद्धार गरेको र उनीहरूको वैकल्पिक बासस्थानको लागि छलफल भैरहेको नेपाली काँग्रेस मेलम्ची नगर सभापति मधुसूदन सिग्देलले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  पेट्रोलियममा मूल्य वृद्धि विरुद्ध विद्यार्थीको प्रदर्शन

अमले, डाँडा कठेरी लगायत मेनपा- ४ का विभिन्न स्थानमा पहिरोका कारण ५०-६० घर जोखिममा परेको र तिनलाई स्थानान्तरण गर्नुपर्ने अवस्था आएको जनप्रतिनिधि समीर तामाङले बताए। उनका अनुसार डाँडा कठेरीका बिस्थापितहरुलाई तत्कालका लागि विद्यालयमा बसोबासको प्रबन्ध मिलाइएको छ। स्थायी स्थानान्तरणका लागि सम्बन्धित निकायमा पहल गरिएको पनि तामाङले जानकारी दिए।