समस्या सम्बोधन गर्न सरकार समक्ष व्यवसायीको माग

 

इलाम।

इलाम देउमाई नगरपालिका २ का कमल खतिवडाले गाडी ग्यारेजमा थन्क्याएको करिब चार महिना बित्यो। गाडीमा खिया आउन थाले पनि गाडी कुदाउने अवस्था नभएकाले ग्यारेजमा नै गाडी राख्नु परेको उनको भनाई छ। गाडी कुदाउँदा पनि पुरा मान्छे बोक्न नपाएपछि गाडी कुदाउनु र ग्यारेजमा नै राख्नु उस्तै भएकाले पनि ग्यारेजबाट गाडी ननिकालेको उनको भनाई छ।

सरकारले कोरोनाको त्रासले पुरा मान्छे नबोक्न आग्रह गरेको छ। कोरोना भाइरसको त्रासका कारण गत चैत्र ११ गतेबाट देशमा लक डाउन छ। लक डाउनका कारण गाडी सञ्चालन हुन पाएका छैनन्। सवारी व्यवसायी सविन मगरले पनि रिजर्व पर्दा मात्र गाडी कुदाउने गरेको बताए।

रिजर्व भन्दा बाहिर मान्छे नै नहुने भएकाले पनि अन्य समयमा गाडी नकुदाएको उनले बताए। रिर्जव पर्दा पनि पास लिएर मात्र गाडी कुदाउनु परेको उनको भनाई छ। लक डाउन नै भए पनि सरकारले जोखिमलाई न्यूनिकरण गर्दै जोगिएर असार २६ गतेबाट सवारी कुदाउन भनेको छ। तर सामाजिक दूरी कायम गर्दै सवारी चलाउन अनुमति दिएको छ। जसका लागि ५० प्रतिशत भाडा बढाउन समेत व्यवसायीले पाउने छन्।

गाडी सञ्चालन गर्न पाउने भएपनि सडकमा पर्याप्त गाडी पाउँदैनन्। कतै पर्याप्त यात्रु नहुने त कतै जोखिमकै कारण पनि गाडी नकुदाएको सवारी व्यवसायीहरूको भनाई छ। तेलकै खर्च पनि नउठ्ने भएपछि गाडी कुदाउनु र ग्यारेजमा नै राख्नु उस्तै भएको व्यवसायीहरूको भनाई छ। यता पूर्वेली जित तथा ट्याक्सी व्यवसायी सङ्घ इलामका अध्यक्ष गृष्म सुब्बाले सरकारले यातायात व्यवसायीको माग प्रति ठोस कदम चाल्न नसकेको बताए।

अन्य सम्बन्धित समाचार:  विद्युतीय बस साझा यातायातमार्फत नै खरिद गरिने

उनले लक डाउन भएयताको करमा केही छुट दिएपनि रुट ईजाजत र बैङ्कमा छुट नभएको बताए। लक डाउनका कारण सबैभन्दा बढि यातायात व्यवसायीहरू  समस्यामा परेका भएपनि राज्य तहबाट यातायात क्षेत्रमा कुनै सम्बोधन गर्न नसकेको बताए।

यातायात व्यवसायीका गुनासा र मागहरू प्रदेश सरकार समक्ष पटक पटक राखिरहेको बताउँदै ब्यवसायी संघका अध्यक्ष सुब्बाले मौखिक आश्वासन पाउने गरेपनि लिखित रुपमा कुनै जानकारी नआएको बताए। सुब्बाले भने, ‘करिव चार महिना यातायात नचल्दा कसरी किस्ता बुझाउनु? उनले थपे, ‘कहाँबाट पैसा ल्याएर किस्ता तिर्नु, सरकारले यो बेला नगरे कहिले गर्छ हाम्रा लागि’ यातायात क्षेत्रका समस्या समाधानका लागि सरकारसँग यातायात व्यवसायी महासङ्घ समेत लागि रहेकाले पनि केही आश रहेको उनले बताए।

महासङ्घले प्रधानमन्त्री देखी पार्टीका प्रमुखहरूसँग समेत पहल गरिरहेको उनको भनाई छ। आफूहरूले प्रदेश सरकारसँग समस्या, गुनासा सहित समाधानका विषयमा समेत पहल गरिरहेको सुब्बाको भनाई छ। कोरोना संक्रमण र लकडाउनका कारण परिवारलाई कसरी खुवाउने भन्ने अन्योल छाइरहेका बेला ब्यवसायीहरुलाई किस्ताको कुरा परको भएको उहाँहरुको भनाई छ।

अन्य सम्बन्धित समाचार:  ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु

बैंक तथा सहकारीबाट लिएको पैसा जसरी भएपनि तिर्ने तर समय मात्र मिलाउन सरकारको भुमिका महत्वपूण रहेको ब्यवसायीहरुको भनाई छ। ब्यवसायीहरुले किस्तामा कर र ब्याज मात्र नभएर लकडाउन अवधिभरको किस्ता सवारी सञ्चालन भएपछि मात्र तिर्नेगरिको वातावरण मिलाउन माग गर्दै आएका छन्।

सुरुमा लक डाउन हुँदा नचलेका गाडी हाल हिलाम्ये सडक भएका कारण पुन सञ्चालन हुन नसकेको भन्दै यातायात ब्यवसायीहरुले यसवर्ष ठुलो मार खेप्नु परेको जिल्लाका यातायात व्यवसायीहरूको भनाई छ। खाद्यान्न ढुवानी गर्ने पिकअप भने नियमित सञ्चालन भइरहेका छन्। ति सवारीहरुलाई समेत गाउँ पुग्न समस्या भएको छ। जिल्लाका ग्रामिण क्षेत्रबाट सञ्चान हुने ढुवानीका साधनहरु समेत चल्न छोडिसकेका छन्।

खाद्यान्न र एम्बुलेन्स गाउँ नजाने भएकाले पनि अझ समस्या थपएको छ। दोहोरो मारमा परेका बेला सरकारले वास्ता नगरेको व्यवसायीहरूको भनाई छ। समस्या समाधानमा लाग्न सरकारले ठोस कदम चाल्न नसके आफुहरु उठ्न नसक्ने गरि रिणमा पर्ने भएकाले पनि सहयोग गर्न व्यवसायीहरूको माग छ।