डडेल्धुरामा ६ हजार मेट्रिक टन आलु उत्पादन 

 

भावना पौडेल, डडेल्धुरा।

डडेल्धुरामा यस वर्ष बर्खामा मात्रै झण्डै ६ हजार मेट्रिक टन आलु उत्पादन भएको छ। जिल्लाको २ सय हेक्टर क्षेत्रफलमा लगाइएको बर्खे आलुमा ५ हजार ९ सय मेट्रिक टन आलु उत्पादन भएको प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना डडेल्धुराका प्रमुख खेमराज जोशीले बताए। बर्खे सिजनमा मात्रै यो मात्रामा आलु उत्पादन भएको उनको भनाई छ।

अहिले डडेल्धुरामा बर्खे आलु खेती गर्ने किसानको सङ्ख्यामा वृद्धि हुँदै गएको छ। पछिल्लो समय यहाँका किसानले बर्खे आलुको मूल्य राम्रो पाउनुका साथै माग पनि बढी हुने गरेको उनले बताए। यहाँ उत्पादन भएको आलु तराईका जिल्लामा निर्यात हुने गरेको छ। लक डाउनको समयमा समेत यहाँको आलु काठमाण्डौसम्म पुगेको छ।

अन्य सम्बन्धित समाचार:  ज्येष्ठ नागरिकलाई खोप लगाउन ४८ खोप केन्द्र तोकिए

लक डाउनले अन्तराष्ट्रिय सिमानाका बन्द भए सँगै भारतबाट आयात हुने तरकारी रोकिएपछि अहिले स्थानीय उत्पादनले राम्रो बजार पाएको छ। अन्य तरकारी उत्पादन भन्दा पनि यस वर्ष आलुले भने उचित मूल्य पाएको छ। किसानले यस वर्ष बारीमै प्रति कुन्तल ३ हजार बढी आलुको मूल्य पाएका छन्। यसले आलु खेती गर्ने किसानमा थप उर्जा थपेको छ।

जिल्ला सदरमुकामको अमरगढी नगरपालिका, गन्यापधुरा गाउँपालिका, भागेश्वर गाउँपालिका र आलिताल गाउँपालिकामामा बर्खे आलु लगाइएको थियो। डडेल्धुरामा आलु सुपर जोन लागू भएसँगै र आलुले राम्रो मूल्य पाएपछि किसान अझ निकै उत्साहित भएका हुन्।

यहाँ प्रत्येक वर्ष आलु खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ। अहिले बाँझो रहेका जमिन भाडामा लिएर भए पनि यहाँका किसानले व्यवसायिक रुपमा आलु खेती गर्ने गरेका छन्। लक डाउनका कारण रोजगारी गुमाएर भारत लगायत अन्य मुलुकबाट स्थानीय घर फर्केकाले हिउँदे मौसममा पनि आलुखेती गर्ने किसानको सङ्ख्या बढ्ने अनुमान गरिएको छ।

अन्य सम्बन्धित समाचार:  वाग्मती र प्रदेश-१ का विभिन्न ठाउँमा बत्ती जाने

आलुको उत्पादन र आलु खेती गर्ने किसानको सङ्ख्या बढे संगै सुदूरपश्चिम प्रदेश आलुमा आत्म निर्भर हुने देखिएको छ।