पन्ध्र वर्षपछि घर पुग्दा…

Latest Nepali News, Politics, Videos, Entertainment & Sports

रामबहादुर थापा बागलुङ। सँधैझैँ बिहानको घरधन्दा सम्हाल्दै थिईन्, रुपा पन्त । सोचे न सम्झेको छोरा नगेन्द्र टुप्लुक्क आँगनछेउ देखिए। रुपाका गह आँशुले भरिए। वाक्य फुटेन। हराएको छोरा १५ वर्षपछि घर फिर्दा उनलाई शुरुमा सपनाजस्तै लाग्यो। एउटी आमाका लागि आश मारिसकेको छोरासँगको पुनःमिलन जत्तिको प्रिय क्षण अरु कुन हुन सक्थ्यो र?

नगेन्द्रसँगै पन्त परिवारमा खुशी प्रवेश ग¥यो। प्रियजनको आगमनले घर उज्यालो भयो। विसं २०६२ मा रोजगारीका लागि मलेशिया गएका नगेन्द्र त्यहाँ पुगेको एक वर्षपछि सम्पर्कविहीन भए। वर्षौँ बिते उनी घर फर्किएनन्, न त कुनै खबर आयो। परिवारजनले खोजी नीति गरिरहे। कतै आइपुग्नु पो हुन्छ कि भनेर बाटो पर्खिरहे। करिब १५ वर्षसम्म बेखबर भएपछि परिवार, आफन्तले पनि आश मार्न थालेका थिए।

सबैलाई आश्चर्यमा पार्दै गत आइतबार नगेन्द्र घर फर्किए। नगेन्द्र सकुशल घर आएको खबर छिनमै गाउँभरि फैलियो। उनी घर पुग्दा छिमेकीसमेत दौडेर भेट्न आइपुगे। गाउँ छिमेकमा खुशी छायो। नगेन्द्रलाई परिवारसँग भेटाइदिन सेतुको काम भने मानव सेवा आश्रमले गरेको हो।

अघिल्लो वर्ष मलेशियाबाट फर्केपछि काठमाडौँमा अलपत्र परेका नगेन्द्रलाई आश्रमले सहारा दिएको थियो। बालाजुमा रहेको आश्रमले गत वर्ष साउन ७ गते उनलाई सडकबाट उद्धार ग¥यो। आश्रममा रहँदा घर बागलुङ भएको बताएपछि गत माघ १० मा उनलाई आश्रमको बागलुङस्थित शाखामा ल्याइयो।

यहाँ पाँच महिना बसेपछि बल्ल उनले घर बागलुङ नगरपालिका–३ मूलपानी भएको आश्रमका व्यवस्थापकलाई जनाए। घर जान मन लागेको, आमाको अत्यार लागेको बताएपछि नगेन्द्रलाई आश्रमका संयोजक सुमीरा लामालगायतका अभियन्ताले गएको असार २८ गते घर पु¥याए। “बिहानै सात बजेतिरै ट्याक्सी लिएर हामी उनको घर पुग्यौँ, नगेन्द्र दाइले मेरो घर यही हो भन्नुभयो, घरको कौशीमा आमा हुनुहुन्थ्यो, हामीलाई देख्नासाथ गहभरि आँशु पार्नुभयो, छिमेकी पनि दौडेर हामी भएतिर आउनुभयो”, आश्रमकी संयोजक लामाले भनिन्।

अन्य सम्बन्धित समाचार:  नेकपा कसको?: नामको विवादमा फैसला मिति सर्‍यो

संयोजक लामाले काठमाडौँको सडकमा भौँतारिएर हिँडिरहेका बेला नगेन्द्रलाई उद्धार गरी बालाजुको आश्रममा ल्याइएको बताए। खुट्टा सुन्निएको, कमजोर शारीरिक अवस्थासहित भेटिएका उनलाई आश्रमले उपचारसमेत गराएको उनको भनाइ छ। “काठमाडौँमा पनि धेरै दिनसम्म उहाँ सडकमै अलपत्र पर्नुभएको रहेछ, मलेशियाबाट कहिले आउनुभयो भन्ने पनि उहाँले भन्न चाहनु भएन”, संयोजक लामाले भन्नुभयो, “आश्रममा ल्याइसकेपछि घर बागलुङ भएको बताएपछि उहाँलाई यहाँको आश्रममा ल्याएर राखेका थियौँ।”

आश्रमको बागलुङ शाखामा पाँच महिना बिताएपछि बल्ल परिवारसँग उनको पुनःमिलन भएको हो। “एकदम इमान्दर, सोझो हुनुहुन्छ, तलब दिएरै आश्रमको सेवामा राख्ने सल्लाह हुँदै थियो, एक्कासी उहाँले घर यहीँ मूलपानी भएको बताउनुभयो”, संयोजक लामाले भने, “त्यसपछि हामीले घरमै लगेर परिवारसँग पुनःमिलन गरायौँ।”

नगेन्द्र विदेश गएको अर्को वर्ष दिदी मधु पन्तको बिहे भयो। त्यसको एक वर्षपछि बुबा ताराकराजको निधन भयो। नगेन्द्र घर फर्केपछि अहिले बुबाको किरियामा हुनुहुन्छ। उनी किन लामो समयसम्म बेखबर भए भन्ने बारेमा परिवारजनले पनि सोधीखोजी गर्न पाएका छैनन्। “यति दुःख पाएर बल्लतल्ल घर आउनुभएको छ, सबै कुरा सोध्न पनि पाइएको छैन, घर आउनेबित्तिकै बुबाको किरियामा बस्नुभएको छ”, नगेन्द्रका फुपुका छोरा विकास पन्तले भने, “हामीसँग पनि केही बताउन चाहनुभएको छैन, उहाँ सकुशल घर आउनुभयो त्यसमै हामी खुसी छौँ।”

अन्य सम्बन्धित समाचार:  सरकार र विप्लव पक्षबीचको पहिलो चरणको वार्ता सकियो

उनका अनुसार नगेन्द्रमा बढी सोझोपना छ। मलेशियामा काम खोसिएपछि कठिन स्थितिमा नेपाल फर्कनुपरेको हुनसक्ने पन्तको भनाइ छ। “कामबाट निकालिएपछि दाइ घर आउनुपर्ने भयो, न साथमा पैसा, न कसैको सम्पर्क, काठमाडौँ आएपछि उहाँ सडकमै भौँतारिनुपर्ने अवस्था आयो”, उनले भने।
छोरा घर फर्केपछिको अनुभूतिबारे जिज्ञासा राख्दा आमा रुपाले प्रतिक्रिया दिन चाहिनन्। नगेन्द्रका भाइ योगराज पनि कोरियाबाट केही समयअघि घर फर्किएक छन्। उद्धारपछि नगेन्द्रसँगै बागलुङको आश्रममा ल्याइएका तमानखोला गाउँपालिकाका ५५ वर्षीया भीमबहादुर बोहोराको पनि पारिवारिक पुनःमिलन भएको छ। “परिवारसँग सम्पर्क भएपछि उहाँलाई पनि गाडी चढाएर पठायौँ, घर पुगिसेको खबर आएको छ”, आश्रमकी अभियन्ता विपना तामाङले भने।

आश्रमले गत माघमा बागलुङ बजारमा अलपत्र अवस्थामा भेटिएका भारत, हरियाणाका सुखबहादुरलाई पनि उद्धार गरी परिवारसँग पुनःमिलन गराएको थियो। आश्रमको पहिलो प्राथमिकता पारिवारिक पुनःमिलन नै हुने गरेको अभियन्ता तामाङले बताए। बागलुङको आश्रममा अहिले ४० जना असहायले आश्रय पाइरहेका छन्। कोही मानसिक सन्तुलन गुमाएका छन्, कोही परिवार र आफन्त गुमाएका।

मनोरोग, अपाङ्गता, गरिबीजस्ता कारणले सहाराविहीन बनेका व्यक्ति पनि आश्रममा छन्। परिवार र समाजबाट अपहेलित भएर सडकमा पुगेका नागरिकको संरक्षण गर्ने उद्देश्यले पाँच वर्षअघि बागलुङमा आश्रम खोलिएको थियो। आश्रमले बागलुङलाई ‘सडक मानवरहित जिल्ला’ बनाउने अभियान थालेको छ।