तनहुँ। जिल्लाका विभिन्न क्षेत्रमा चितुवाको आक्रमणबाट परी आर्थिक वर्ष २०७६÷७७ मा ६ बालबालिकाको मृत्यु भएको छ। भानु नगरपालिकामा तीन तथा आँबुखैरेनी, बन्दिपुर र शुक्लागण्डकी नगरपालिकामा एक÷एक बालबालिकाले ज्यान गुमाएका हुन्।
चितुवाको आक्रमणमा परी सोही अवधिमा एक पुरुष र एक महिला घाइते भएको जिल्ला वन कार्यालयले जनाएको छ। चितुवाको आक्रमणबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई सरकारले प्रतिपरिवार रु १० लाख उपलब्ध गराएको छ।
घाइतेलाई जनही रु दुई लाख राहत वितरण गरिएको जिल्ला वन अधिकृत केदार बरालले बताए। चितुवाले मानिसको ज्यान लिन थालेपछि जिल्ला वन र सामुदायिक वन उपभोक्ता समितिले विभिन्न ठाउँमा १६ परम्परागत खोर निर्माण गरी पासो थापेका छन्।
चितुवाका लागि वनमा आवश्यक आहार नहुँदा मानव बस्तीमा पस्न थालेको बरालले बताए। वन कार्यालयले भानु नगरपालिकाको ४२ हेक्टर क्षेत्रमा ३६ ठाउँमा सिसी क्यामेरा जडान गरी चितुवा गणना गर्ने योजना बनाएको छ ।
जिल्ला वन कार्यालयका अनुसार गत आवमा चितुवाको आक्रमणबाट ३६ भेडाबाख्रा, आठ गाई, ६ सुगुँर र दुई भैँसी मरेका छन् । सरकारले उक्त क्षति बेहोरेका परिवारलाई रु दुई लाख १८ हजार राहत उपलब्ध गराएको छ।
एक वर्षमा ६ चितुवाको मृत्यु
जिल्लामा एक वर्षमा ६ चितुवाको मृत्यु भएको छ। आर्थिक वर्ष २०७६÷७७ मा भानु नगरपालिकामा पाँच र ब्यास नगरपालिकामा एक चितुवा मृत फेला परेको थियो। जिल्ला वन कार्यालयका अनुसार सोही अवधिमा आठ चितुवाको जीवितै उद्धार गरिएको थियो।
भानु नगरपालिकाबाट पाँच, बन्दिपुर नगरपालिकाबाट दुई तथा ब्यास नगरपालिकाबाट एक चितुवाको उद्धार गरिएको हो। उद्धार गरिएका सबै चितुवा मणिमुकुन्द सेन उद्यान, चितवन राष्ट्रिय निकुञ्ज र पचभैया प्राणी उद्यानमा छाडिएको सहायक वन अधिकृत बाबुराम उप्रेतीले बताए।
यस्तै वन कार्यालयले गत आवमा चार मृग र एक अजिङ्गरको पनि जीवितै उद्धार गरेको थियो। भिमाद नगरपालिकामा दुई तथा देवघाट र ब्यास नगरपालिकामा एक÷एक मृग र बन्दिपुरमा एउटा अजिङ्गर फेला परेको थियो।