नेकपा स्थायी समिति बैठकअघि दाहाल-नेपाल भेटघाट

काठमाडौं। 
नेकपा अध्यक्ष पुष्पकमल दाहाल सहित केही सचिवालय सदस्यको आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा बैठक बस्यो। बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए। नेपाल निकट केही स्थायी समिति सदस्यहरू पनि खुमलटार पुगेका थिए।

आजै ३ बजे बोलाइएको नेकपा स्थायी समिति बैठक अघि दाहाल नेपाल पक्ष बैठक बसेका हुन्। शनिबार बसेको सचिवालय बैठकमा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच भित्री साँठगाँठ भएको भन्दै वरिष्ठ नेता माधव नेपाल असन्तुष्ट भएका थिए। 

मङ्सिरमा महाधिवेशन गर्ने विषयमा दुई अध्यक्षको धारणा एकै भएपनि भित्री कुनै चोचोमोचो नरहेको भन्दै प्रचण्डको सचिवालयले सोही विषयलाई लिएर खण्डन समेत गरेको थियो। 

प्रचण्डकी स्वकीय सचिव गङ्गा दाहालले दुई अध्यक्षबीच कुनै सहमति नभएको र सम्पूर्ण विषय छलफलकै क्रममा रहेको सामाजिक सञ्जालमार्फत उल्लेख गरेकी छिन्।

अन्य सम्बन्धित समाचार:  ओली र विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्दै