घण्टाकर्ण पर्व मनाइँदै

 

काठमाडौँ। प्रत्येक वर्ष श्रावण कृष्ण चतुदर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज मनाइँदैछ। सबैभन्दा जेठो चाडपर्व मानिएको गठामङ्गल विशेषगरी सांस्कृतिक परम्परानुसार राजधानीको नेवार समुदायले मनाउने गर्छन्।

परापूर्वकालदेखि यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने चलन छ। संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग छ्वाली बनाएर दोबाटो र चौबाटोमा दिनभर राखिने गठामङ्गल बेलुकी खेतको बीचमा लगेर बालेपछि धानमा किरा नलाग्ने विश्वास रहेको बताउँछन्।

बिहानै स्नान, पूजापाठ गरी घरआँगन सफा गरिन्छ। केटाकेटीले बाटामा डोरी टाँगेर पैसा (जगात) माग्ने र राति राँको बाली उक्त राक्षसको प्रतीक घिसार्दै जलाउने चलन छ। गोपाल वंशावलीअनुसार गठामङ्गललाई सत्य, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइ नवविवाहित नर नारीले दर्शन गर्नुपर्ने चलन छ। यो परम्परा अहिले पनि कायमै छ।

अन्य सम्बन्धित समाचार:  रोकिएन प्रतिबन्धित लागुऔषध तस्करी

यसो गर्नाले नवविवाहित जोडीको जीवनमा बाह्य बाधा, आन्तरिक बाधा र शत्रुबाट रक्षा प्राप्त हुन्छ। आर्थिक एवं भौतिक उन्नतिका लागि पनि घण्टाकर्णको पूजा आराधना गरिन्छ।