टीका खतिवडा, इलाम।
नेवार समुदायले मनाउने गठे मङ्गल पर्व इलाममा औपचारिकतामा सीमित भयो। गत वर्ष तामझाम र रौनकताका साथ निकालिने यो पर्व विधि पुर्याउन मात्र निकालियो। नेवार समुदायका अगुवाहरूले गठे मङ्गल लक डाउनको चेपोमा पर्दा नराम्रो लागेको बताए। परम्परा जोगाउन र संस्कृति मासिन नदिन मात्र गठे मङ्गल मनाइयौ। नेपा भाषा तथा संस्कृति समाज इलामका अध्यक्ष प्रविण श्रेष्ठले बताए।
गठे मङ्गल राक्षसी स्वरूपको घन्टाकर्ण दहनको प्रतीकको रुपमा मनाउने चलन छ। श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठे मङ्गललाई घन्टाकर्ण चतुर्दशी पनि भनिन्छ। दुष्टात्मा र भूतप्रेत पन्छाउन घरमा सफा सुग्घर गरेर घन्टाकर्ण दहन गर्ने चलन रहेको अध्यक्ष श्रेष्ठले बताए।
आजको दिन दिनभर ठड्याइएको नर्कटबाट निर्मित गठे मङ्गललाई घाम अस्ताएपछि ढालेर नदीमा लगेर विसर्जन गरिन्छ। त्यसअघि नेवार समुदायमा टोलवासीलाई छ्वालीको चिराग समात्न लगाई तीन पटक परिक्रमा गराउने चलन रहँदै आएको छ। विशेष गरि काठमाण्डौमा मनाइने गठे मङ्गल इलाम सहित पूर्वी पहाडी जिल्लाहरूमा समेत मनाइन्छ। इलामको इलाम बजार, मङ्गलबारे लगायतका स्थानमा गठे पर्व मनाउने गरिन्छ।
परापूर्वकालमा नास्तिक व्यक्तिले भगवान्को नाम सुन्न नपरोस्भ नी कानमा घन्टा झुन्ड्याएको र उसको आतङ्कले धेरैलाई अप्ठ्यारो परेकाले आवाज दहन स्वरुप पर्व मनाउने गरिएको कथन रहेको छ।
गठे मङ्गल पछि चाडपर्वहरू सुरु भएको सङ्केत हुन्छ। यस दिन मान्छेहरूले विभिन्न धातुको औँठी लगाउने र घर घरबाट भुत भगाउने चलन पनि कायम छ।