प्रशिक्षकलाई सम्मान गर्न आग्रह

काठमाडौँ। राष्ट्रिय खेलकूद परिषद् कर्मचारी संघले खेलाडीलाई जस्तै प्रशिक्षकलाई पनि सम्मान गर्न प्रदेश सरकारलाई आग्रह गरेको छ। खेलकूदको विकास, विस्तार र संरक्षणमा विशेष ध्यान दिन संघले संघीय, प्रदेश र स्थानीय तहसँग माग गरेको छ।

राज्यका लागि खेलकूदको आवश्यकता र महत्व क्रमिकरुपमा बढ्दै गएकाले तीनवटै सरकारले यसलाई प्राथमिकतामा राख्नुपर्नेमा संघले जोड दिएको छ। गत वर्ष नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)मा नेपालले कूल २०६ पदकसहित उल्लेख्य उपलब्धि हासिल गरेको तथा खेलाडी र प्रशिक्षकलाई संघीय, प्रदेश र स्थानीय तहले नगद पुरस्कारसहित सम्मान गरेकामा तीनवटै सरकारप्रति कर्मचारी संघले आभार प्रकट गरेको छ ।

कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले एक विज्ञप्ति जारी गर्दै प्रदेश नं १ ले खेलाडीलाई सम्मान गरे पनि प्रशिक्षकलाई नगरेकोप्रति गुनासो गरेको छ। प्रशिक्षकको भूमिकालाई प्रदेश नं १ ले बेवास्ता गरेको पाइएकाले उनीहरुलाई पनि सम्मान गरिदिन उनले प्रदेश सरकारसित आग्रह गरेका छन्।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री कप महिला भलिबलमा आर्मी र एपीएफ तथा पुलिस र लुम्बिनी खेल्दै

खेलाडीलाई सक्षम र प्रतिभावान बनाउने प्रशिक्षकलाई संघीय सरकारले यसअघि नै नगदसहित पुरस्कृत गरिसकेका अवस्थामा प्रदेश सरकारले पनि प्रशिक्षकको मनोबल उच्च पार्न उनीहरुलाई सम्मान गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ। खेलाडी तथा प्रशिक्षकलाई सम्मान गर्न स्थानीय तहको भूमिका पनि उत्तिकै महत्वपूर्ण भएको संघको ठहर छ।