त्रेतायुगका रामसँग सम्बन्धित तथ्य ठोरीमा भएको स्थानीयको दाबी

  • श्याम गुप्ता, वीरगन्ज 
पर्सा जिल्ला स्थित ठोरीको विषय यति बेला निकै नै चर्चामा छ। प्रधानमन्त्री ओलीबाट राम नेपालको ठोरी मै जन्मिएको भन्ने अभिव्यक्ति पछि अहिले ठोरी  चर्चामा आएको हो। नेपाल–भारत सीमा विवादले सम्बन्ध चिसिँदै गएको बेला ठोरीको प्रसङ्गले थप चिसिएको छ। सांस्कृतिक विषयसँग जोडिएको ठोरी नेपाली राष्ट्रियताको प्रसङ्गले मुलुक तातिरहेको बेला ठोरीको चर्चाले सबैको ध्यान तानेको छ। 
सुमेरु पर्वत , ‘सीता गुफा , वाल्मीकि आश्रम , अयोध्यापुरी पर्सा अनि ठोरीबासीका लागि नयाँ होइनन्। तर , यति बेला ठोरी विषयले नेपाल भारतका शीर्षस्थ नेतृत्वमा बहसको विषय बनेको छ।
बहसको विषय मात्रै होईन, त्रेता युगका पुरुषोत्तम रामको जन्मस्थल कहाँ हो? त्यो अर्को पाटो हो। तर , ठोरी सांस्कृतिक तथा धार्मिक महत्व भएको स्थान पक्कै हो।
सुक्खा बन्दरगाह वीरगन्ज देखि झण्डै ६५ किलोमिटर पश्चिममा ठोरी पर्दछ। यस ठाँउमा त्रेता युगमा सीताले वनवास जाँदा बसेको एक स्थान छ। जसलाई ‘सीता गुफा’ नामले चिनिन्छ। ठोरी सांस्कृतिक धार्मिक हिसाबले पुरानो भएको स्थानीय सरकारको दाबी छ। ‘सीता गुफा यहाँ वस्ती बस्नु भन्दा अगाडि देखि नैं थियो र वर्षौं देखि गुफामा पूजापाठ हुँदै आएको छ’, ठोरी गाउँपालिका अध्यक्ष पीएल श्रेष्ठले भने, ‘त्यसले गर्दा सीता गुफा पत्ता लाग्यो होइन कि, पहिले देखि यहाँ थियो, भनेर बुझ्नुहोस्।’
विक्रम सम्वत् २०३२ मा यता माडी ठोरी अलग भए पछि चितवनमा अयोध्यापुरी गाविस थियो। हाल त्यो माडी नगरपालिकाको वडा नम्बर ७ र ८ मा पर्छ। माडीबाट नेपाल–भारत सीमा छेउ सम्म फैलिएको सुमेरु पर्वतको उत्तर तर्फ नेपालको काखमा सीता गुफा छ। यसको सामुन्नेमा चिता र ठुटे खोला मिलेको छ। ‘ठोरीमा पहिले घनघोर जङ्गल थियो, बस्ती थिएन र यहाँ आसपासमा मठ मन्दिरहरू छन्’, ठोरीका स्थानीय रामचरण लामिछानेले भने, ‘प्रधानमन्त्रीज्यूले कुनै इतिहास नपढी भगवान रामको जन्म ठोरीमा भएको भन्नु भएको होइन जस्तो लाग्छ। उहाँले वास्तविक बोल्नुभयो।’ उनले भने।
त्रेता युगका राजा जनककी पुत्री जानकी (सीता) वनवास जाँदा बसेको सीता गुफा भनी अग्रजहरू सीता र रामको महिमा सुनाउँछन्। वाल्मीकि आश्रम पनि नजिकै छ। अनि, अयोध्यापुरी त छिमेकमा गाविस नै थियो।
यो सबै कुरा एक–आपसमा मेल खाने भएकोले यसमा सत्यता रहेको ठोरीबासीको भनाई छ। रामले अस्वमोध महायज्ञ गरेको र यज्ञको घोडा छोडेको र यसको नजिकैमा बाल्मिकी नगर रहेको स्थानीय बताउँछन्। ‘त्रेता युगमा राम ठोरीमा जन्मेका हुन्, भन्ने प्रशस्त्र आधार ठोरीवासीसँग छ’, अर्का स्थानीय चिरञ्जीवी सापकोटाले भने, ‘रामले अस्वमोध महायज्ञ गरेको र यज्ञको घोडा छोडेको र यसको नजिकैमा बाल्मिकी नगर छ।’ उनले बताए।
रामायणमा उल्लेख भएका कतिपय ठाउँसँग प्रायः मेल खाने धेरै कुरा ठोरी गाउँपालिकामा रहेका सांस्कृतिक र धार्मिक तथ्यहरूले पुष्टि गरेका छन्। यद्यपि , ठोरीमा रामको जन्म भएको हो वा होइन, भन्ने यसको ऐतिहासिक पुष्टि हुन बाँकी छ।

तैपनि, प्रधानमन्त्रीको अभिव्यक्ति पछि ठोरीको महत्व राष्ट्रिय र अन्तर्राष्ट्रियकरण भएको पक्कै हो। थप पुष्टिका लागि अध्ययन र अनुसन्धान गर्ने काम राज्यको हो। त्यस पछिको अध्ययनले यसको वास्तविकता अवश्य बाहिर ल्याउने नै छ। 

अन्य सम्बन्धित समाचार:  अर्थमन्त्री पौडेल बोल्दाबोल्दै मञ्चमा आक्रमण, बीचमै छोडेर हिँडे