बेरोजगार युवा लिची खेती गर्दै

खोटाङ। हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका बेरोजगार युवाले सामूहिकरूपमा व्यावसायिक लिची खेती सुरु गरेका छन्। लिचीको पकेट क्षेत्रका रूपमा विकास गर्न उनीहरुले बयाखु खोला नजिकको २०० रोपनी जग्गा भाडामा लिएर लिची खेती थालेका हुन्।

बरबोटे बिजवृद्धि कृषक समूहमा आबद्ध युवाले बन्दाबन्दीको समय सदुपयोग गर्दै दुई हजार लिचीको बिरुवा रोपेका छन्। गाउँमै आय आर्जनको उपाय अपनाउने उद्देश्यले किसान लिची उत्पादनमा लागि परेका छन्। पन्ध्र वर्षदेखि बाँझिएको जग्गा फँडानी गरी लिचीको बिरुवा रोपेको स्थानीयवासी राजेश राईले बताए।

‘शहरबाट आएका युवाहरु बेरोजगार बसेका छन्’ उनले भने, ‘बन्दाबन्दीको समयमा लिची खेती थालिएको हो ।’ लिची खेती गर्न उनीहरुले दिनेश राईको अध्यक्षतामा नौ सदस्यीय समितिसमेत बनाएका छन्।

अन्य सम्बन्धित समाचार:  पक्राउ गरिएका नेताकार्यकर्ता रिहा गर्न गृहको निर्देशन

‘अब गाउँलाई लिची खेतीका माध्यमले चिनाउने योजना छ’ राईले भने। कृषक समूहमा २५ परिवार आवद्ध छन्। लिची उत्पादन हुन थालेपछि तीन भाग लगाइनेछ। एक भाग जग्गाधनीलाई दिने सर्तमा जग्गा भाडामा लिइएको हो।

बाँकी एक भाग लगानीकर्तालाई तथा एक भाग हेरालुलाई दिने सहमती भएको राईले बताए। लिची खेती गर्न कृषि ज्ञान केन्द्र खोटाङले रु आठ लाख अनुदान उपलब्ध गराएको छ। किसान आफैले रु आठ लाख थप गरी लिची खेती थालेका हुन्। अहिले बेरोजगार युवाले गाउँको बाँझो जग्गा फँडानी गरी आँप, केरा, कागती, ड्रागन खेती गर्न थालेका छन्। उनीहरुले धमाधम बिरुवा रोप्ने काम गरिरहेका छन्।