दोश्रो टेस्ट: वेष्ट इण्डिजविरुद्ध इंग्ल्याण्डको बलियो अग्रता

काठमाडौं। इंग्ल्याण्डमा जारी इंग्ल्याण्ड र वेष्ट इण्डिजबीचको दोश्रो टेष्टमा चौथो दिनको खेल सकिउन्जेल इंग्ल्याण्डले २१९ रनको अग्रता बनाएको छ। म्यानचेष्टरको ओल्ड ट्राफर्डमा जारी खेलमा टस जितेर फिल्डिङ रोजेको पाहुना टोली वेष्ट इण्डिजसामु घरेलु टोली इंग्ल्याण्डले ९ विकेटको क्षतिमा ४६९ रन बनाउँदै पारी समाप्तिको घोषणा गर्यो। ४६९ रनको विशाल योगफल तयार गर्ने क्रममा बेन स्टोक्सले १७६ रन, डम सिब्लेले १२० रन तथा जस बटलरले ४० रनको योगदान गरे।

बलिङतर्फ वेस्ट इण्डिजका रस्टन चेजले सर्वाधिक छ तथा कीमार रोचले २ विकेट लिए। जवाफमा वेस्ट इण्डिजले पहिलो पारीमा क्रेग ब्रेथवेटको ७५, शमर्ह ब्रूक्सको ६८ तथा रास्टन चेजको ५१ रनको मदतले ९९ ओभरमा जम्मा २८७ रनमात्रै बनाउन सक्यो।

अन्य सम्बन्धित समाचार:  ममाथि हमला हुन सक्छ, ज्यान तलमाथि भएपनि अनौठो नमान्नु होलाः प्रधानमन्त्री ओली

बलिङतर्फ इंग्ल्याण्डका स्टुआर्ट ब्रोड र क्रिश वोक्सले समान ३,३ तथा साम कर्रनले २ विकेट लिए। चौथो दिनको अन्त्यतिर दोश्रो पारीको खेल शुरु गरेको इंग्ल्याण्डले ८ ओभर खेलेर ३७ रन जोडेपछि चौथो दिनको खेल समाप्त भयो। दोश्रो पारीमा इंग्ल्याण्डले जस बटलरलाई व्यक्तिगत ० तथा ज्याक क्राउलेलाई ११ रनमा गुमाइ सकेको छ। यी दुवैको विकेट कीमार रोचले लिएका हुन्।

पाँचौ दिनको खेल नेपाली समय अनुसार पौने ४ बजे शुरु भएको छ। यसअघि ८ देखि १२ जुलाईसम्म साउद् ह्याम्पटनमा भएको पहिलो टेस्ट वेस्ट इण्डिजले ४ विकेटले जितेको थियो। यो वेस्ट इण्डिजको इंग्ल्याण्ड विरुद्धको सन् २००० यताको पहिलो जित थियो।