भोजराज जोशी, दार्चुला। नौगाड गाउँपालिका–६ मा पहिरोमा पुरिएर वेपत्ता भएका आमा–छोरीको शव शव फेला परेको छ। आइतबार राति पहिरोमा पुरिएकी ३५ वर्षीया मानमती ठगुन्ना र उनकी ६ वर्षीया छोरी आरतीको शव प्रहरी र स्थानीयवासीले पहिरो उत्खनन् गरी निकालेका छन्।
पहिरोमा पुरिएर सख्त घाइते भएकी २० वर्षीया मोहना ठगुन्नालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गोकुलेश्वर लगिएको स्थानीयवासी फागुनसिंह ठगुन्नाले बताए। मोहना मृतक मानमतीकी बुहारी हुन्। अन्य घाइते तीन जनाको गाउँमै उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य छ।
मानमतीका श्रीमान् हरजित भेडाबाख्रा चराउन ब्याश क्षेत्र गएका छन्। मृतक आमा–छोरीको शव परीक्षणपछि दाहसंस्कार गरिने ठगुन्नाले बताए।