जहाँ वर्षाको भेलले बोकेर ल्याउँछ हिउँदको न्यानो

  • इन्दु धामी, कञ्चनपुर

कञ्चनपुरका तारा दत्त विष्टको दैनिकी महाकालीको भेलसँगै फेरिने गर्छ। असार, साउनको उर्लंदो भेलमा हेलिएर उनी एकतमास दाउरा खोज्ने गर्छन्। वर्षामा खोजेको दाउराले तारा र उनी जस्ता धेरै नदि किनारामा बस्नेको हिउँद न्यानो बन्ने गर्छ।

’कहाँ हजुर! यही दाउरा खोजेर त भात पकाउन सजिलो हुन्छ, आगो ताप्न पाइन्छ। गरिखाने आधार यही हो। नत्र त धेरै घाटा पो हुन्छ’, जम्मा पारेको दाउरा बगरमा मिल्काउँदै ताराले सुनाए। महाकालीको बगरमा हेलिएर दाउरा खोज्न थालेको यति नै वर्ष भयो भनेर तारा ठ्याक्कै भन्न त सक्दैनन्।

तरपनि उनको जीवनका धेरै वर्ष महाकालीको भेलसँगै पौँठेजोरी खेलेर बित्दै आएको छ। बिहान सबेरै उठ्नु, हात मुख धुनु र महाकालीको बगरमा जानु तारा र उनीजस्ता धेरैको दैनिकी झैँ बनेको छ यतिखेर।

त्यसैले त महाकालीको उर्लंदो भेलसँगै दाउरा खोजेर जीविको पार्जन गर्नेहरूको कथा बेहिसाब लामो छ। दाउरा खोज्दा खोज्दै कतिलाई महाकालीले निल्यो। कति टुहुरा भए। बाबुआमा विनाको एक्लो जीवन बाँचिरहेकाहरूको चित्कार न महाकालीले सुन्छ न तिनका आँसु नै देख्ने कोही छन्।

तर पनि परम्परा जस्तै बनेको त्यही नियति रोक्न स्थानीय प्रशासनले सकेको छैन। दाउरा खोज्ने काममा पूर्णविराम लाग्न नसक्दा अझै कति बालबच्चा टुहुरा हुने हुन केही भन्न सकिन्न। जसले हिजोदेखि आजसम्म उही र उसै गरि एकनास दाउरा खोजेर जिन्दगीलाई केही सहजता दिइरहेका छन्।

अनि आर्थिक रुपमा दुईचार पैसा जोहो गरिरहेका छन्। त्यसैले त दाउरा खोज्न जानेहरूको एउटै चाहना हुने गर्छ, ‘यस वर्ष अलि धेरै दाउरा बगाएर ल्याओस्।’ भीमदत्त नगरपालिका ऐरीघाटकी अन्जना देवी लुहारलाई दाउराको लोभले राती निद्रा समेत पर्दैन।

‘ठुलो झरी परेको दिन त निद्रा लाग्दैन’, उनले भनिन्, ‘गाँउभरीका मान्छे सबै महाकालीमै हुन्छन्, के को डर?’ दिनमा भन्दा राती नदि किनारमा धेरै दाउरा खोज्न सकिने अन्जनाले सुनाइन्। विगत १० वर्ष यताको तथ्याङ्क केलाउने हो भने महाकाली नदीमा दाउरा खोज्ने क्रममा १६ जना भन्दा बढीले ज्यान गुमाए।

दाउरा खोज्दा बालुवामा गाडिने र ढुङ्गामा चिप्लीने जोखिम उतिकै हुने भएपनि स्थानीयको तछाँडमछाँड उस्तै छ आजपनि। दाउरा खोज्ने क्रममा वर्षेनी दुइ तीन जनाले ज्यान गुमाउन थाले पछि जिल्ला प्रहरी कार्यालयले नजान उर्दी जारी गरेपनि स्थानीयले टेरेका छैनन्।

दाउरा खोज्न आमाबाबुसंगै स–साना केटाकेटी पनि पुग्ने गरेका छन्। नदि किनारमा खटिएका प्रहरीहरुको आग्रहलाई वेवास्त गर्दै दाउरा खोज्ने क्रम आज पनि उस्तै छ।

अन्य सम्बन्धित समाचार:  ग्रेडरको ठक्करबाट कैलालीमा १ जनाको मृत्यु