डडेल्धुरा। प्रतिकिलो २५० रुपैयाँमा चामल किनेर खानुपर्ने अवस्था रहेको व्यासको छांगरु र तिंकर गाउँका स्थानीयहरु सरकारले हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गरि प्रतिकिलो ५१ रुपैयाँमै चामल पाएपछि हर्षित भएका छन्।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी सुर्खेतले व्यासको छांगरु र तिंकर गाउँको लागि खाद्यान्न पु¥याएपछि स्थानीयहरुले सस्तो मूल्यमा चामल पाएका हुन्। नेपाल खाद्य संस्थानले पहिलो पटक हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गरेको हो।
बाटो नै नभएको ठाउँमा सरकारले पहिलो पटक स्थानीयको लागि भन्दै हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गरेको थियो। राज्यको पहुँच नपुगेको व्यास क्षेत्रमा पछिल्लो समय स्थानीयलाई राज्य भएको दायित्व बोध गराउन खाद्यान्न ढुवानी गरेको हो।
गत चैत ११ गतदेखि बन्दाबन्दी भएपछि सीमा क्षेत्र बन्द छ। सीमा क्षेत्रमा बसोबास गर्ने स्थानीय गाउँमा गत जेठ महिनामा कुञ्चा सरेपछि गाउँमा खाद्यान्न अभाव भएको थियो।
विगतमा भारतको सीतापूल र चीनको ताक्लाकोट नाका भएर यहाँका स्थानीय खाद्यान्न ल्याउने गरेको भएपनि अहिले दुवैतर्फ नाकाबन्द भएपछि स्थानीयलाई खाद्यान्न अभाव भएको छांगरुका स्थानीय लब्जाङ लामाले बताए।
अहिले भने सरकारले खाद्यान्न ढुवानी गरेपछि आफूहरुलाई सहज भएको उनको भनाइ छ। बल्ल व्यासीले सरकारको अनुभुति गरेको उनको भनाइ छ।
गत असार २ गतेबाट छांगरु तिंकरको लागि सरकारले हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गरेको हो। छांगरुमा प्रतिपरिवार ९० किलोको दरले पहिलो चरणमा खाद्यान्न वितरण गरिएको व्यास गाउँपालिका–१ का वडाअध्यक्ष अशोकसिंह बोहराले बताए।