सुर्खेत। व्रत बसेकी एक महिलाको मन्दिरमा पूजा गर्दागर्दै मृत्यु भएको छ। सोमबार दिउँसो जिल्लाको बराहताल गाउँपालिका–८ भट्टेघाडीस्थित शिव धाम मन्दिरमा पूजा गर्दागर्दै उनको मृत्यु भएको हो।
उनी साउने सोमबारे व्रत बसेकी थिइन्। मृतक ५० वर्षीया महिला लक्ष्मी शाही वडा नम्बर ४ सिम्लेघारी निवासी हुन्। दिउँसो करिब १२ बजेतिर मन्दिरमा पूजाआजा गरी नित्यकर्म गर्ने क्रममा मृत्यु भएको वडाध्यक्ष मणिराज कार्कीले बताए।
उनका अनुसार मृतक लक्ष्मीसँगै उनकी बुहारी पनि मन्दिर आएकी थिइन्। तर मृतक लक्ष्मी भने दीर्घ रोगीको बिरामी रहेको र हिजोदेखि व्रत बसेर खाना नखाएको उनले बताए। स्थानीय भैरव प्राविमा कार्यरत शिक्षिका मनिषा शाहीका अनुसार मन्दिरमा जल चढाउँदै पूजा गर्नेक्रममा लक्ष्मी बेहोस भएकी थिइन्। पछि होस् नखुलेरै उनको मृत्यु भएको हो।
उक्त मन्दिरमा हप्तामा दुई दिन सोमबार र शुक्रबार पूजा लाग्ने गर्दछ। मृतक लक्ष्मीको शव अहिले मन्दिर नजिकै उनका आफन्तको घरमा राखेर परिवारलाई बोलाइएको वडाध्यक्ष कार्कीले बताए। घटनाबारे स्थानीयले प्रहरीलाई समेत जानकारी गराएका छन्।
यसैबीच लकडाउन खुकुलो भएसँगै सुर्खेतको देउतीबज्यै मन्दिरमा पनि दिनप्रतिदिन दर्शनार्थीको भीड बढ्दै गएको छ। तर उनीहरुले कोरोना महामारीलाई केन्द्रित गरी सामाजिक दूरीको पालना भने गरेका छैनन्।
मन्दिर दर्शन गर्नेहरूको घुइँचो लाग्न थालेपछी लाइनमा बसेर दर्शनार्थीले पालो क्रमअनुसार पूजा गर्ने गरेका छन्। लकडाउन खुकुलो भएपनि मन्दिरजस्ता निकै भीडभाड हुने ठाउँमा सुरक्षा उपाय अपनाउनु पर्ने भएपनि यस विषयमा कसैले ध्यान दिएका छैनन्।