कोरोनाविरुद्धको खोप बनाउने वैज्ञानिकलाई डब्ल्यूएचओको बधाइ

एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसविरुद्धको खोप बनाउने वैज्ञानिकलाई बधाइ दिएको छ। डब्ल्यूएचओले कोरोना भाइरसविरुद्धको खोपबाट सकारात्मक परिणाम प्राप्त भएको भन्दै स्वागत गरेको छ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले निर्माण गरेको उक्त खोपको सुरुवाती परीक्षणमा सकारात्मक नतिजा आएको छ। एस्ट्राजेनेकाको सहकार्यमा निर्माण गरिएको उक्त खोपको परीक्षणले मानिसमा खोपको प्रयोग सुरक्षित रहेको देखाएको छ। प्रतिरक्षा शक्ति राम्रो हुने संकेत मिले पनि कारोना भाइरसको फैलिँदो संक्रमणसित लड्नका लागि अझै धेरै काम गर्न बाँकी रहेको डब्ल्यूएचओले जनाएको छ।

डब्ल्यूएचओका आपतकालीन कार्यक्रमका निर्देशक डा माइक रेयानले अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकलाई बधाइ दिँदै भनेका छन्, ‘यो सकारात्मक परिणाम हो, तर अझै लामो यात्रा तय गर्न बाँकी छ । ठूलो संख्यामा परीक्षण गर्नुपर्ने अवस्था छ।’ अक्सफोर्डका वैज्ञानिकले निर्माण गरेको खोपतर्फ सारा विश्वको ध्यान गएको छ।

अन्य सम्बन्धित समाचार:  मोटोपनले गर्दा चिन्तामा हुनुहुन्छ? मोटोपनको एउटै मात्र उपचार

गत अप्रिलमा पहिलो पटक कोरोना भाइरसविरुद्धको खोपको परीक्षण झण्डै एक हजार जनामा गरिएको थियो। सुरुवाती परीक्षणको क्रममा १८ देखि ५५ वर्षका व्यक्तिमा खोपको परीक्षण गरिँदा दोहोरो प्रतिरक्षा प्रतिक्रिया (एन्टिबडी र टी–सेल) विकास भएको पाइएको छ।

हाल यसको ठूलो समूहमा परीक्षण चलिरहेको छ। बेलायतले १० करोड खोपको माग गरिसकेको बताइएको छ। कोरोना भाइरसविरुद्ध विश्वभर खोप बनाउने क्रम जारी छ।