काठमाडौँ। सप्तकोसी नदीमा पानीको सतह बढ्दै गएको छ। पानीको सतह बढ्दै गएपछि कोसी ब्यारेजका ५६ मध्ये ४७ वटा ढोका खोलिएका छन्।
सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलका अनुसार केहीबेर अघिसम्म सप्तकोसीमा पानीको बहाव तीन लाख ३४ हजार क्युसेक प्रतिसेकेण्ड पुगेको छ। सोमबार राति पानीको बहाव एक लाख ७० हजार क्युसेक प्रतिसेकेण्ड मात्र थियो। प्रजिअ पोखरेलले बिहानै सप्तकोसी ब्यारेजको निरीक्षण गरेको बताए। ‘पानीको सतह ह्वात्तै बढेको छ, वर्षा जारी रहेका कारण सतह अझै बढ्ने देखिन्छ’ पोखरेलले भने।
सोमबार राति सप्तकोसीको ३९ ढोका खोलिएका थिए। बहाव बढ्दै गएपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना जारी गरेको पोखरेलले बताए। उनीहरुलाई नदी किनार क्षेत्रमा नजान तथा नबस्न भनिएको छ।
देशभरी बाढी पहिरोको खतरा
लगातार वर्षा भइरहेका कारण देशभर बाढी, पहिरो र डुबानको खतरा बढेको छ। तराइका धेरैजसो ठाउँ डुबानमा परेका छन्। बाढी पूर्वानुमान महाशाखाले हरेक दिन, हरेक पल कुन कुन नदी, खोलामा बाढी आउँछ र कहाँ कहाँका बासिन्दाले सतर्क रहनुपर्छ भन्ने जानकारी दिइरहेको छ।
महाशाखाले मंगलबार बिहान २४ घण्टाको बाढी पूर्वानुमान सूचना जारी गरेको छ। महाशाखाले नारायणी र सहायक नदीमा बहावको खतरा बढ्दै गएको र नवलपरासीको सुस्ता डुबानमा पर्ने जनाएको छ। यस्तै कोसी नदीको सतह खतरा नजिक पुग्ने, कन्काई, कमला, बागमती, तिनाउ, पूर्वी राप्तीको जलस्तर बढ्दै गएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।