प्रसिद्ध धार्मिक स्थल पाँचपोखरीमा यस वर्ष मेला नलाग्ने

देवराज सुवेदी, सिन्धुपाल्चोक।

सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिक स्थल पाँचपोखरीमा यस वर्ष मेला नलाग्ने भएको छ। जनैपूर्णिमाको अवसरमा बर्सेनि एक हप्ता सम्म मेला लाग्ने गरेपनि कोरोना भाइरसको कारण यस वर्ष मेला नहुने भएको हो। पाँचपोखरी थाङपाल गाउँपालिकाले जनैपूर्णिमाको अवसरमा मेला नगर्ने निर्णय भएको विज्ञप्ति मार्फत जनाएको छ।

गाउँपालिकाको बैठकले यो वर्ष जनैपूर्णिमाको दिन लाग्ने मेला र त्यससंग सम्वन्धीत अन्य जात्रा समेत नगर्ने भएको प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले जानकारी दिए। यो वर्षको जनैपुर्णिमा साउन १९ गते परेको छ। पालिकाले मानिसको भीडभाड हुदाँ कोरोना संक्रमण अझ फैलन सक्ने भन्दै मेला नगर्न र सहभागि नहुन सबैलाई आग्रह गरेको हो। सिन्धुपाल्चोक आसपासाका धेरै जिल्लाका साथै रसुवा, नुवाकोट देखि भक्तजनहरु पाँचपोखरीको दर्शन गर्न जाने गरेका थिए।
समुन्द्री सहतबाट करिब ४ हजार ६० मिटर उचाइमा रहेको यो क्षेत्रमा साना ठूलो गरी ५ वटा आर्कषक पोखरीहरु रहेका छन्।

अन्य सम्बन्धित समाचार:  नयाँ सत्ता समीकरण: ओलीलाई बिदा गरि पार्टीबाटै प्रधानमन्त्री चुन्न प्रस्ताव 

पाँचपोखरीमा जनैपुर्णिमाको मेला भर्न वृद्धवृद्धाको साथै युवायुवतीको बाक्लो आगमन हुने गरेको छ। खासगरी तामाङ समुदायको झाँक्रीहरुको नृत्यको साथै युवायुवतीको बाक्लो उपस्थीतिले मेलाको आर्कषण बढ्ने गरेको छ।

मेला अवधिभर नै विभिन्न किसिमका पसल चलाएर धेरैले हजार देखि लाखसम्म पैसा कमाउँदै आउने गरेका थिए। त्यसैगरि भारी बोक्ने भरियाहरुको लागि समेत पाँचपोखरी कमाई गर्ने समय हो। विषेशगरि मेलामा आफूले मन पराएको केटाकेटीलाई विवाह गर्ने छुट रहेको कारण पनि सिन्धुपाल्चोक र आसपासका युवायुवतीहरु यस दिन यहाँ पुग्ने गरेका छन्।