काठमाडौं। सरकारले कोरोना भाइरसका कारण स्थगित विद्यार्थी भर्ना र परीक्षा आगामी भदौ १ गतेदेखि सञ्चालन गर्न पाइने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ, सूचना तथा सञ्चार प्रविधि मन्त्री डा युवराज खतिवडाले बताए।
विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्दा जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्ने छ। विद्यालय, क्याम्पस, ट्युसन सेन्टर, तालिम केन्द्रलगायतका शैक्षिक संस्था भने खोल्न पाइने छैन। शिक्षा मन्त्रालयले वैकल्पिक प्रणालीबाट पठनपाठन सुरु गर्ने यसअघि नै निर्देशन दिए पनि निजी तथा संस्थागत विद्यालयको संस्था प्याब्सन र एनप्याब्सनले भने साउन १ गतेदेखि अनलाइन कक्षा सञ्चालन नगर्ने निर्णय गरेका छन्।
क्याम्पस आजैदेखि सुचारु
यसैबीच सरकारले लकडाउन बुधबारदेखि खोल्ने घोषणा गरेसँगै त्रिभुवन विश्वविद्यालयले आफ्नो मातहतका देशभरका सम्पूर्ण क्याम्पस आजैदेखि सुचारु गर्ने निर्णय गरेको छ। त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालयका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारले बन्देज गरेको नियमित पठनपाठन र पुस्तकालय सञ्चालन बाहेक क्याम्पसका अन्य कार्य बुधबारदेखि नै सुचारु गर्ने निर्णय गरिएको बताए। विश्वविद्यायका सबै शिक्षकहरुको बिदा पनि साउन ६ गतेदेखि नै सकिएको अधिकारीले बताए। विश्वविद्यालयको प्रशासन भने गत असार १ गतेदेखि नै खुलेको थियो। सरकारको लकडाउन घोषणाका कारण विश्वविद्यालयअन्तर्गतका सबै क्याम्पस चैत १० गतेदेखि नै बन्द गरिएका थिए।