नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध

चितवन। नारायणगढ–मुग्लिन सडकखण्डमा मंगलबार राति पहिरो गएपछि यातायात सेवा पुनः अवरुद्ध भएको छ। भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलो नजिक बतासेडाँडामा पहिरो खसेका कारण यातायात ठप्प भएको हो।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीले मंगलबार साँझ चारकिलोको पहिरो पन्छाएर सडक एकतर्फी रुपमा सञचालन गरेको थियो । राति पुनः पहिरो खस्दा फेरी सडक अवरुद्ध भएको छ। ठूलो चट्टानसहित पहिरो खसेका कारण यातायात सेवा सञ्चालनमा आउन समय लाग्ने अधिकारीले बताए। ‘छत्तिस घण्टा लगाएर पहिरो पन्छाएका थियौँ, फेरी पहिरो जाँदा बाटो बन्द भयो’ अधिकारीले भने।

मंगलबार साँझ सडकको अनुगमनमा निस्केका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहितको टोली पहिरोका कारण बाटोमै अड्किएको थियो। सवारीसाधन सडकमै छाडेर टोली वैकल्पिक मार्गको प्रयोग गरी सदरमुकाम फर्केको छ। पहिरो पन्छाउन के–कति समय लाग्छ भन्न नसकिने अधिकारीले बताए। पहिरो हटाउने काम केही बेरमा थालिने उनले बताए।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप, दोश्रो चरणको अभियान शुरु