तमोरको बाढीले पुल बगायो, आवागमन ठप्प

ताप्लेजुङ। तमोर नदीमा आएको बाढीले ओलाङचुङगोलामा दुई पुल बगाएको छ। फक्ताङलुङ गाउँपालिका–७ स्थित चीनसँगको सीमावर्ती ओलाङचुङगोलामा बुधबार राति पुल बगाए पछि आवतजावत ठप्प भएको वडाध्यक्ष छेतेन भोटेले बताए।

बाढीले दाङ्जेन जाने पक्की पुल र मिक्वाखोला गाउँपालिकाको पापुङ जाने काठेपुल बगाएको हो । पुल बगाएपछि घाँसदाउरा गर्नसमेत समस्या भएको छ। यस्तै बाढीका कारण तिब्बतको रिउ जोड्ने सडक अवरुद्ध छ। बाढीले चिनियाँ ठेकेदारको गाडीसमेत बगाएको छ। सडक अवरुद्ध भएपछि लामो समयदेखि उक्त गाडी ओलाङचुङगोलामै छाडिएको थियो।

तमोरमा बाढी आए पछि नदी किनारका तापेथोक, सिवाँ, थिवा, हान्द्रुङ, दोभानलगायत क्षेत्रका बासिन्दा त्रासमा छन्। स्थानीयवासीका अनुसार तमोरमा एक दशकयताकै ठूलो बाढी आएको हो।

अन्य सम्बन्धित समाचार:  रेल सञ्चालन झनै अनिश्चित