चार महिनापछि मापसे जाँच, ट्राफिक नियम मिच्‍नेलाई जरिवाना

काठमाडौं। लकडाउन सकिएसँगै बुधबारदेखि सार्वजनिक यातायात सञ्‍चालनमा आएको छ। सार्वजनिक यातायातका साधन सञ्चालनमा आएपछि ट्राफिक प्रहरीले आजदेखि चालकले मादक पदार्थ सेवन (मापसे) गरे नगरेको बारे जाँच सुरु गर्ने भएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका सबै युनिटलाई आजैदेखि मापसे जाँच गर्न निर्देशन दिएको छ। कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै ट्राफिक प्रहरीले गत चैत ७ गतेदेखि मापसे जाँच बन्द गरेको थियो। कारोना भाइरसको जोखिम बढ्न सक्ने भन्दै ट्राफिक प्रहरीले उक्त निर्णय गरेको हो ।

‘आजदेखि लकडाउन अघिका सबै ट्राफिक गतिविधि सुरु गर्ने निर्णय गरेका छौँ’ ट्राफिक महाशाखाका एसएसपी भीमप्रसाद ढकालले भने। अब ट्राफिक नियम विपरित सवारीसाधन चलाउनेलाई जरिवाना गरिने छ। सार्वजनिक यातायातका साधन अनुगमनका लागि महिला ट्राफिक प्रहरीको छड्के टोली परिचालन गरिएको छ।

अन्य सम्बन्धित समाचार:  नेपाल विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिश

सार्वजनिक सवारीसाधनमा ५० प्रतिशतभन्दा बढी यात्रु राखेको पाइए तत्काल कारबाही गरिने ढकालले बताए। उनले यात्रुलाई आफ्नो स्वास्थ्यप्रति सचेत रहन आग्रह गरेका छन्। छलेर यात्रु कोचेको देखे, सामाजिक दूरी कायम नगरेको पाइए तत्काल ट्राफिक प्रहरी वा नजिकको प्रहरी युनिटलाई खबर गर्न पनि महाशाखाले आग्रह गरेको छ।

काठमाडौं उपत्यकाका १५२ ठाउँमा ट्राफिक प्रहरीले ड्युटी गर्दै आएको छ भने ४६ स्थानमा जाँच गर्छ। उपत्यकामा एक हजार पाँच जनाभन्दा बढी ट्राफिक प्रहरी कार्यरत छन्।