कोरोनाबाट पर्सामा एकको मृत्यु, मृतकको संख्या ४३ पुग्यो

संक्रमित

काठमाडौँ। कोरोना भाइरसबाट नेपालमा थप एक जनाले ज्यान गुमाएका छन्। पर्साको वीरगन्जमा कोरोना संक्रमितको मृत्यु भएको हो। पर्साको माइस्थानका ६० वर्षीय पुरुषको गण्डक अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको हो।

श्वास फेर्न गाह्रो भएपछि उनलाई सोमबार स्थानीय एडभान्स अस्पतालमा भर्ना गरिएको थियो। अवस्था जटिल भएको भन्दै मंगलबार उनलाई गण्डकस्थित कोभिड अस्पताल भर्ना गरिएको थियो। मंगलबार साँझ नै उनको मृत्यु भएको अस्पतालले जनाएको छ। मृत्यु भइसकेपछि मात्र उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो।

योसँगै नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ४३ पुगेको छ। बुधबार एक चिनियाँ महिलासहित दुई जनाले कोरोनाबाट ज्यान गुमाएका थिए।

अन्य सम्बन्धित समाचार:  विप्लव पक्षसँग वार्ता भएको छिट्टै टिभीमा देख्नुहुनेछः प्रधानमन्त्री ओली